तपाईँले पिउने पानीमा संक्रमण त छैन ? नमुना परीक्षण गराउनुहोस्

 साउन १६, २०७६ बिहिबार ११:४४:२० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – गएको असार अन्तिममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले विभिन्न मुहानको पानीमा कोलिफर्म (दिसाजन्य जीवाणु) परीक्षण गर्‍यो ।

गाउँपालिका स्वास्थ्य शाखाले नमुनाका रुपमा तीन ओटा मुहानको पानी परीक्षण गर्दा सबैमा कोलिफर्म भेटियो । स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य भन्नुुहन्छ, ‘तपाईँले प्रयोग गर्ने पानीमा दिसाको जीवाणु छ भन्दा सुरुमा गाउँलेहरुले पत्याएनन् ।’ 

गाउँलेको भनाइ थियो, ‘गाउँमा सबैको घरमा चर्पी छ, हिजोआज त खुलारुपमा दिसा पनि गरिँदैन, अझ मुहानमा त नागदेवता हुन्छन् भनेर जो पनि दिसा गर्न डराउँछन् ।’  पानी परीक्षण गर्दा रङ बदलिएको देखिएपछि बल्ल गाउँलेले पत्याए । गाउँपालिकाले पानी उमालेर तथा शुद्धीकरण गरेर मात्र पिउन सबैलाई सचेत गराएको छ । 

हामीले प्रयोग गर्ने धेरैजसो स्रोतको पानी प्रदूषित हुन्छन् भन्ने यो एउटा गतिलो उदाहरण हो । बस्तीभन्दा टाढा मुहान छ, तै पनि त्यहाँ दिसाजन्य जीवाणु भेटिन्छ भने बस्ती बढिरहेको ठाउँका पानीका स्रोतहरुमा प्रदूषण हुन्छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । माहाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख आचार्य भन्नुुहुन्छ, ‘मानिस तथा वन्यजन्तु र पशुपंछीको दिसा वर्षाको भेलले बगाएर पनि मुहान प्रदूषित बनाइदिएको हुन सक्छ ।’ तीन ओटा मुहानको अवस्था हेर्दा सबै ठाउँको पानीको मुहान परीक्षण गर्नुपर्ने देखिएको आचार्य बताउनुहुन्छ । 

खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख नारायण खनाल पनि मुहान, कुवा, इनार वा ट्यूबवेल लगायतका स्रोतहरुको पानी कस्तो छ भनेर परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘पिउने पानीको गुणस्तर राम्रो हुनु जरुरी छ, यसको लागि हामीले पानीको गुणस्तर परीक्षण गरेर अवस्थाको बारेमा थाहा पाउनुपर्छ ।’

गुणस्तरहीन पानीका कारण हैजा, टाइफाइड, आउँ, कमलपित्त लगायतका पानीजन्य रोग लाग्छ । यस्ता रोग चाँडै फैलने भएकोले महामारीको रुप पनि लिन सक्छ । त्यसैले पिउने पानी गुणस्तरीय र शुद्ध हुनुपर्ने डाक्टरहरु पनि बताउँछन् । 

गुणस्तरीय पानी कस्तो हुन्छ त ? खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख नारायण खनाल भन्नुुहुन्छ, ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार हामीलाई आवश्यक पर्ने रासायनिक तत्वहरू ठिक मात्रामा भएको तथा कुनै पनि प्रकारका ब्याक्टेरिया, भाइरस र अन्य परजीविरहित भौतिक अवस्थासमेत ठिक रहेको पानी नै गुणस्तरीय पानी हो ।’ हामीले प्रयोग गर्दै आएको पानीको अवस्था कस्तो छ भनेर जान्नका लागि ल्याबमा परीक्षण नै गर्नुपर्ने खनाल बताउनुहुन्छ । 

कहाँ गएर गर्ने त परीक्षण ? 

काठमाण्डौको पानीपोखरीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागको ल्याबबाट पानीको गुणस्तर परीक्षण गराउन सकिन्छ । यस्तै विभागका इटहरी, चितवन, पोखरा, नेपालगञ्ज र धनगढीमा रहेका ल्याबहरुमा पनि पानीको गुणस्तर परीक्षण गर्न सकिने विभागले जनाएको छ । यस्तै विभिन्न संघीय कार्यालय, आयोजना कार्यालय, डिभिजन कार्यालयमा पनि परीक्षणको व्यवस्था रहेको गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख नारायण खनाल बताउनुहुन्छ । 

पानी परीक्षणको खर्च    

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार गाउँघरका स्रोतहरुको पानीमा विभिन्न १६ वटा र शहरी खानेपानीमा २७ ओटा सूचक रहेका छन् । यसको लागि नेपाल सरकारको विभाग अन्तर्गतका ल्याबहरुमा १६ वटा सूचकको परीक्षण गर्दा झण्डै १ हजार ९ सय रुपैयाँ र २७ वटा सूचकको परीक्षण गर्दा झण्डै ३ हजार रुपैयाँ खर्च लाग्ने प्रमुख खनाल बताउनुहुन्छ । निजीस्तरका पानी परीक्षण ल्याबहरुले भने केही फरक मूल्य तोकेको हुन सक्ने उहाँको भनाइ छ । 

वर्षायाममा बढी जोखिम   

खानेपानीको गुणस्तर हिउँदमा भन्दा वर्षायाममा तुलनात्मकरुपमा धेरै कमजोर हुने खनाल बताउनहुुन्छ । पानीमा हुने रासायनिक प्रदूषण सबै महिनामा हुने भए पनि जैविक प्रदूषण वर्षायाममा बढी हुने उहाँको भनाइ छ । त्यसैले पानीको रासायनिक अवस्थाका बारेमा परीक्षण गरी सिधै पिउन योग्य भए नभएको जानकारी लिन सकिने र पिउन उपयुक्त पानी भएको स्रोतमा पनि वर्षायाममा सचेत रहनुपर्ने खनाल बताउनुहुन्छ ।

वर्षायाममा भेलसँगै बगेर आउने प्रदूषणका कारण पानी प्रदूषित हुने भएकोले पानीका स्रोत प्रदूषण हुनबाट बचाउन तथा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न उहाँको सुझाव छ । वर्षायाम सकिएसँगै इनार, कुवा वा ट्यूबवेललाई निर्मलीकरण गर्नुपर्ने खनाल बताउनु हुन्छ ।  

कसरी गर्ने त निर्मलीकरण ?

कुवा, इनार तथा ट्यूबवेलजस्ता पानीका स्रोतहरुलाई वर्षा कम भएसँगै निर्मलीकरण गर्न खनालले सुझाव दिनु भएको छ । चर्पीको व्यवस्थापन, खेतीको मौसम भएकोले खेतीमा प्रयोग हुने मल तथा विषादी, भल बगेर आउँदा बगाएर ल्याएको जैविक संक्रमणका कारण पानीका स्रोतहरुमा संक्रमण भएको हुन्छ ।

यस्तो बेला तत्कालका लागि पानी उमालेपछि फिल्टर गरेर मात्र पिउनुपर्छ भने वर्षा कम भएसँगै निर्मलीकरण गर्नुपर्ने हुन्छ । यसको लागि पानीको स्रोतनजिक शौचालय, खेतीपातीको अवस्था हेरेपछि पानीको स्रोतको आयतन अनुसार पानीको मात्रा निकालेर त्यही मात्रामा ब्लिचिङ (सफा गर्ने) पाउडर राखेर निश्चित समयमा त्यहाँको पानी पूरै फ्याँक्नुपर्छ । त्यसपछि आउने पानीमा क्लोरिनको मात्रा जाँच गरेर पानी पिउन योग्य भएको वा नभएको पत्ता लगाउन सकिने खनाल बताउनुहुन्छ ।

यसको लागि विभागको काठमाण्डौ पानीपोखरीमा रहेको कार्यालय, प्रदेश कार्यालय वा डिभिजन कार्यालयहरुमा सम्पर्क गरेमा पानीका स्रोत निर्मलीकरणको विधि सिकाउने वा प्राविधिक सहयोग गर्न सकिने खनाल बताउनुहुन्छ । 

वर्षायाममा पानीजन्य रोगको जोखिम धेरै हुन्छ । किनभने वर्षायाममा पानीका मुहान कि त दूषित भएका हुन्छन् कि त नष्ट भएका हुन्छन् । पानीका मुहानमा वर्षाको समयमा जनावरका मलमूत्र र ढल मिसिने भएकाले पनि रोग सर्ने जोखिम उच्च हुन्छ । 

दूषित पानीको प्रयोगले विशेषगरी झाडापखाला, भाइरल ज्वरो, आउँ, टाइफाइडको खतरा रहने डाक्टरहरु बताउँछन् । त्यसैले यो समयमा पानीमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । स्रोतलाई सफा राख्ने, पानी उमालेर, फिल्टर गरेर वा तोकिएको औषधि प्रयोग गरेर मात्र पानी पिउन डाक्टरहरुले सुझाव दिने गरेका छन् । 

आफूले प्रयोग गर्ने पानीको स्रोत सफा गर्नुको साथै इनार, कुवा वा ट्यूबवेल भएमा वर्षा सकिएसँगै निर्मलीकरण गरौं । महत्वपूर्ण कुरा आफूले प्रयोग गर्दै आएको पानीको गुणस्तर सरकारले बनाएको मापदण्ड अनुसार छ वा छैन त्यो थाहा पाउन नमुना परीक्षण गराऔं । पानीको स्रोतका अवस्थाका बारेमा ख्याल गर्न सके धेरै स्वास्थ्य समस्याबाट बच्न सकिने डाक्टरहरु बताउँछन् । 

अन्तिम अपडेट: असोज २३, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया