छात्राहरुलाई बाँड्न प्रदेश २ सरकारले किनेको साइकल कबाड बन्दै

 साउन २२, २०७६ बुधबार १०:४८:२२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले कक्षा ८ का छात्राहरुलाई वितरण गर्न खरिद गरेको साइकल कबाडमा परिणत हुन थालेको छ । वितरण गर्न नसकेको ६ सयभन्दा बढी साइकल कार्यालय प्रांगणमा झण्डै २ महिनादेखि घामपानी र शीतले कबाडमा परिणत हुन थालेको हो ।    

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारले गएको आर्थिक वर्ष २०७५।०७६ देखि साइकल वितरण कार्यक्रम गर्दै आएको छ । आ.व. २०७५।०७६ मा प्रदेश २ को ८ जिल्लाका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई १४ हजार साइकल बाँड्ने लक्ष्य लिएको थियो ।

जसमा आर्थिक वर्ष सम्पन्न हुँदासमेत १४ हजार साइकल त बाँड्न सकेन । तर वितरण गर्न पहिलो चरणमै खरिद गरेको ४ हजार साइकल मध्ये ६ सय २४ वटा साइकल मुख्यमन्त्री कार्यालयमै खुल्ला आकाशमुनि घाम, पानी र शीत छलिरहेको छ ।

दिनको चर्को घाम, वर्षाको पानी र रातिको शीतले भिजेर साइकलको फलामे पार्टपूर्जामा खिया लाग्न थालेको छ भने टायर, स्पोक र प्लास्टिकका पाटपूर्जा कमसल हुँदै गएको छ ।  

गएको असारको अन्तिम साता परेको अविरल वर्षामा मुख्यमन्त्री कार्यालय डुबान हुँदा झण्डै एक सातासम्म साइकल पानीमै डुबेको थियो । पहिलो चरणको ४ हजार साइकलमध्ये अहिलेसम्म मात्र १३ सय ७६ वटा साइकल वितरण गर्न सकेको साइकल वितरण समितिका संयोजक जितेन्द्र यादवले बताउनुभयो । 

उहाँका अनुसार पहिलो चराणमा खरिद भएको बाँकी अन्य साइकल सिरहा र सप्तरीमा राखिएको छ । त्यस्तै दोस्रो चरणमा टेन्डर भएर खरिद प्रक्रियामा गएर साइकल बनाउने र आउने क्रम जारी छ । जस मध्ये १० हजार साइकलमा १७ सय साइकलसमेत आइसकेको र वितरणको लागि राखिएको छ । वर्षाको कारण बाटोघाटोको समस्याले वितरण गर्न नसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

साइकल कमसल बन्दै जाँदासमेत सुगम र बाटोघाटो राम्रो भएकै धेरैवटा विद्यालयलाई समेत प्रदेश सरकार साइकल हस्तान्तरण गर्न सकेको छैन धेरै स्थानीय तह र विद्यालयका प्रतिनिधि साइकल नपाएर कार्यालय धाउँदै वाक्क छन् । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले यस गाउँपालिकाबाट शिवशक्ति माविको कक्षा ८ का ९४ जना छात्राका लागि लिस्ट बनाएर पठाएको डेढ महिनाभन्दा बढी वितिसक्दा समेत साइकल नदिएको गुनासो गर्नुभयो । 

पटक–पटक आफूसहित विद्यालयका प्रधानाध्यापकले साइकलको लागि दौडधुप गर्दासमेत मुख्यमन्त्री कार्यालयले कुनै चासो नदेखाएको उहाँको आरोप छ । यता समितिका संयोजक यादवले भन्नुभयो ‘बाटोघाटोको समस्यमा मात्र होइन, साइकल वितरण सत्तापक्ष र प्रतिपक्ष दुवैको स्वामित्वमा वितरण गर्नुपर्ने हाम्रो प्रावधान छ । त्यसले पनि साइकल वितरणमा ढिलाइ भएको हो । तर हामी अब हामी चाँडै वितरण गर्छौँ ।’

उहाँले गएको आर्थिक वर्ष २०७५।०७६ र चालु आर्थिक वर्ष २०७६।०७७ मा गरी प्रदेश २ भित्रको सबै सामुदायिका विद्यालयको कक्षा ८ का २३ हजार छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्ने लक्ष्य लिएकोसमेत बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया