सडकको हालत यस्तो छ, कसरी आउलान् २० लाख पर्यटक !

 साउन २७, २०७६ सोमबार १०:४७:१५ | अर्जुन पोख्रेल
unn.prixa.net

अघिल्लो हप्ता शुक्रबार नेपाल भ्रमण वर्षको सचिवालयले काठमाण्डौको एक होटलमा नेपाल भ्रमण वर्ष २०२० को बारेमा सुझाव लिन कार्यक्रम गर्‍यो ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई, नेपाल पर्यटन बोर्डका प्रमुख, नेपाल भ्रमण वर्षको मूल आयोजक समितिका प्रमुख, पर्यटन सचिव, पूर्व राज्यमन्त्री, पूर्व सचिवहरु, होटल व्यवसायी, हवाइ यातायात व्यवसायी, ट्रेकिङ, ट्राभल, र्‍याफ्टिङ व्यवसायी, होमस्टे व्यवसायी लगायत पर्यटनसँग सम्बन्धित धेरैको सहभागिता थियो । भ्रमण वर्ष २०२० लाई सफल बनाउन के गर्नुपर्छ भन्ने सुझाव लिइएको थियो । सुझाव दिने सबैजसोको जिज्ञासा थियो – ‘यस्ता बेहाल सडक हेर्न पर्यटक आउलान् र ?’

‘पहिले पहिले नेपाल आएका धेरै पर्यटक र्‍याफ्टिङ गर्न जान्थे, तर अहिले नागढुंगा कलंकीको बाटोकै कारणले ५ प्रतिशत पनि विदेशी पर्यटक र्‍याफ्टिङमा जाँदैनन, नेपाली पर्यटकले यो व्यवसायलाई जीवित राखेका छन्’ र्‍याफ्टिङ व्यवसायी रामशरण कार्कीले भन्नुभयो । 

अर्का पर्यटन व्यवसायी मदन आचार्यले पनि देशका मुख्य पर्यटकीय क्षेत्रमा जाने सडकको सुधार नभएसम्म पर्यटक आकर्षण गर्न गाह्रो भएको बताउनुभयो । ‘पोखरा, चितवन, लुम्बिनी, नगरकोट, मनाङ, मुस्ताङ लगायतका जता जाने सडक पनि गतिला छैनन्, अहिले घुमिरहेका पर्यटकले उनीहरुको देशमा गएर नेपालको बारेमा के भन्लान् ?’ उहाँले भन्नुभयो । 

पर्यटन व्यवसायी मात्रै होइन, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सडकको अवस्था सुधार नगरे पर्यटक बढाउन चुनौती हुने बताउनुहुन्छ । ‘नेपालका मुख्य गन्तव्य जोड्ने बाटोको अवस्था साह्रै खराव छ, हामीले ती बाटोको सुधारको अपेक्षा गरेका छौं, सुधार भएन भने पर्यटकलाई सास्ती धेरै हुनेछ’ उहाँले भन्नुभयो । 

कहाँ जाने सडक कस्ता ?

देशका मुख्य पर्यटकीय गन्तब्यमा जाने सबैजसो सडकको अवस्था बेहाल छन् ।

झन् पछिल्लो समय खुल्दै गएका गन्तब्य र धेरै पर्यटक तान्न सक्ने गन्तव्यसम्म त पुग्नै मुश्किल छ । 

काठमाण्डौका सडक : यी वर्षौं पहिले खनिएका सडक हुन कि भर्खरै खोलिएका ट्रयाक ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्नेबित्तिकै पर्यटक हैरान हुन्छन् । विमानस्थलको भद्रगोल अवस्था र ट्याक्सीको मोलमोलाइबाट दिक्क भएका पर्यटक बाहिर निस्किएपछि खाल्डाखुल्डी र धुलोधुवाँले निसासिन्छन् ।

काठमाण्डौ महानगरपालिकाले ब्रुमर चलाएर धुलो कम गर्ने भन्छ, तर केही मुख्य सडक र सबैजसो सहायक सडक हिलाम्य भएकाले गाडीले हिलो बोकेर मुख्य सडकसम्म ल्याइहाल्छन्, सफा सडक पनि फोहोर बन्छ । 

काठमाण्डौका कुनै पनि सडक मास्क नलगाई पैदल हिँड्न योग्य छैनन् । अझै चाबहिल–बौद्ध–जोरपाटी सडक त भर्खरै ट्रयाक खोलेजस्तो छ । काठमाण्डौमा पर्यटक घुम्ने वातावरण नै छैन । रमाउनुको साटो उनीहरु नाकमुख थुनेर हिँड्न बाध्य हुन्छन् ।

कमल– विनायक नगरकोट सडक

केही वर्ष पहिले काठमाण्डौ आएका धेरैजसो पर्यटक नगरकोट गएकै हुन्थे । काठमाण्डौबाट निकै छोटो दूरीमा रहेको र मुख्य मुख्य हिमाल देखिने भएकाले नगरकोट पर्यटकको रोजाईमा पर्थ्याे । तर अहिले नगरकोटको पर्यटन व्यापार ओरालो लागेको छ । पर्यटकहरु सडककै कारण नगरकोट जान मन पराउन्नन् । 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै बिस्तार सुरु गरिएको कमलविनायक–नगरकोट सडक ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । जम्मा १७ किलोमिटर सडक बनाउन ६ वर्ष पनि अपुग भएजस्तो देख्दा त्यहाँ पुग्ने पर्यटक अचम्मसँगै हैरानीमा पर्ने गरेका छन् । 

लामोसाँघु–चरिकोट सडक : नेपालको ‘स्वीजरल्याण्ड’ जानु कसरी ?

दोलखाका पर्यटकीय क्षेत्र पछिल्लो समय चम्किँदै जान थालेका थिए । नेपालको स्वीजरल्याण्ड मानिने जिरी, रमणीय चुचुरो कालिञ्चोक, शैलुङ अनि खरिढुंगामा पर्यटक जान रुचाउँछन् । तर त्यहाँसम्म पुग्ने सडकको हालत देख्यो भने दिक्क लाग्छ ।

लामोसाँघु–चरिकोट  ७५ किलोमिटर सडक हेर्दा यस्तो लाग्छ, यहाँ भर्खरै सडकको ट्रयाक खोलिएको छ । ४ वर्षअघि यो सडक स्तरोन्नति गर्न सुरु गरिएको हो, तर अहिलेसम्म सडक खनेर छाडिएको छ, बेहाल सडकका कारण काठमाण्डौबाट चरिकोट पुग्न ८/१० घन्टा लाग्ने गरेको छ । 

धेरै पर्यटक घुम्ने सूचीमा रहेका दोलखाका पर्यटकीय स्थान खराब बाटोकै कारण ओझेलमा पर्ने र यसले भ्रमण वर्ष सन् २०२० लाई पनि असर पार्न सक्ने डर छ ।यो सडकको जिरो किलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले र २५ किलोमिटरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएका छन् ।

मुस्ताङ जान समस्यै समस्या

पछिल्लो समयको निकै चलेको गन्तव्य हाे मुस्ताङ । धार्मिक पर्यटकका लागि मुक्तिनाथ अनि देश/विदेश घुमेर प्रकृतिको मज्जा लिनेहरुका लागि जोमसोम, कागबेनी, उपल्लो मुस्ताङ अनि कोरलासम्मका दृष्य । हेर्दा र घुम्दा त मुस्ताङ स्वर्गजस्तै लाग्छ ।

तर त्यहाँसम्म जाने बाटो सम्झियो भने धेरैलाई दिक्क लाग्छ । अहिले बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भैरहेकाले पोखरा काटेपछि पक्की बाटो देख्न मुश्किल नै पर्छ । त्यसमाथि बेनीदेखि लेतेसम्म पुग्न त निकै गाह्रो । 

सम्झौता अनुसार आउँदो मंसिरमा सम्पन्न हुनुपर्ने ७ मिटर पिचसहित ११ मिटर चौडास्तरको सडक निकै खराब हालतमा छ । म्याग्दी क्षेत्रमा कडा चट्टान हुँदा फोड्न गाह्रो हुनु, ठाउँ ठाउँमा बिजुलीका पोल हटाउन नसक्नु, पहिरो झरिरहनु, मुस्ताङपट्टिको क्षेत्रमा बालुवाको पहाडका कारण बाटो बनाउँदै समस्या लगायतका कारण यो आर्थिक वर्षमा सडक निर्माण पूरा हुन असम्भव जस्तै देखिन्छ । 

रारा अझै पर

सडककै कारण रारा अझै पनि पर छ । कर्णाली राजमार्ग यसै त अप्ठ्यारो र डरलाग्दो छ, त्यसमाथि सडक मर्मत नहुँदा रारा जानेहरुले एकपटक सडककै बारेमा सोच्ने गरेका छन् ।  

हुन त २०७५ सालमै तामझामका साथ रारा कर्णाली पर्यटन वर्षको घोषणा गरियो । २०७५ साललाई रारा कर्णाली पर्यटन वर्ष मनाउन भएको उद्घाटन समारोहमै ६३ लाख रुपैयाँ खर्च भएको थियो । तर भौतिक पूर्वाधार सुधारको कुरै भएन । 

सुर्खेतदेखि रारासम्मको ३ सय किलोमिटर लामो कर्णाली राजमार्गको ठाउँ ठाउँमा गएको पहिरो पन्छाइएको छैन भने खाल्डाखुल्डीले पर्यटक नै तर्सने गरेका छन् । 

यतिमात्रै होइन लाङटाङ र गोसाइकुण्डमा जाने पर्यटकले खाल्डैखाल्डा, पहिरो अनि धुलोधुवाँको सामना गर्नुपर्छ । बुद्धको भूमी लुम्बिनीमा पनि अहिले शान्ति र आनन्द छैन । भैरहवा–लुम्बिनी सडकको बेहाल अवस्थाले त्यहाँ पुग्ने सबैले नाक खुम्च्याउँछन् । 

अहिलेको यस्तो खराब सडक देखेर नेपाल घुमेर आफ्नो देश फर्केका पर्यटकले अरुलाई के भन्लान् र नेपालको बारेमा के सन्देश जाला ? सडककै कारण सन् २०२० मा २० लाख पर्यटक कसरी भित्रिएलान् भन्ने चिन्ता थपिँदै गएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया