जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको आँखा छल्दै भागेका बलात्कारका आरोपी पक्राउ

 भदौ ४, २०७६ बुधबार १७:३९:१० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका बालिका बलात्कार घटनाका आरोपी पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध शाखामा बयान दिने क्रममा प्रहरीको आँखा छल्दै फरार भएका सिरहा अर्नामा गाउँपालिका ३ का २० वर्षीय अभियुक्त राममणि यादव पुनः पक्राउ परेका हुन् ।

उनलाई मंगलबार राति साढे ९ बजे सिरहाको नेपाल भारत सीमा माडर नजिकबाट पुनः पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भारतको मधुवनी जिल्लाबाट घर फर्किन लागेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटिएको टोलीले अभियुक्त राममणिलाई पक्राउ गरेको हो ।

हाल धनुषा जनकपुरउप महानगरपालिका ८ बालुवाटोलमा डेरा गरी बसेर सेन्ट्रल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दै आएका राममणिलाई डेरा नजिकै एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गएकाे साउन २४ गते प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी अनुसन्धाको क्रममा हिरासतमा रहेका राममणिलाई प्रहरीले साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषाकै अपराध अनुसन्धान शाखामा दिउँसो बयान लिइरहेको बेला उनी प्रहरीको आँखा छल्दै भागेका थिए ।

अभियुक्त भागेपछि बयान लिने प्रहरी सहायक निरीक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बनसमेत गरिएको थियो भने घटनाको छानबिन गर्न धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्य छानबिन टोली समेत गठन गरिएको थियो । बलात्कारका आरोपी राममणि प्रहरीको विशेष खोजीको सूचीमा थिए ।

राममणिलाई भगाउन सघाएको आरोपमा प्रहरीले उनका ४ जना साथीलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । अभियुक्त राममणिका साथीहरु प्रमेश यादव, सूर्यनारायण मण्डल, राजकुमार यादव र रामप्रकाश यादवलाई पक्राउ गरी प्रहरीले  सार्वजनिक मुद्दा चलाएको हो । उनीहरु राममणिसँगै सेन्ट्रल इन्जिनियरिङ कलेजमा अध्ययनरत्त विद्यार्थी हुन् ।

अभियुक्तराममणि लगायत पक्राउ उनका साथीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया