एकपटक घरेलु कामदारमा गएर फर्किएकाले पुनः श्रम स्वीकृति पाउने

 भदौ ४, २०७६ बुधबार १८:५६:१४ | उज्यालो सहकर्मी

काठमाण्डाै – घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन् । बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले घरेलु कामदारमा गएर फर्किएकाहरुलाई केही शर्त पूरा गरेर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो ।

यस्ता कामदारले आफूले गरेको काम, तलब र अन्य सेवा सुविधा राम्रो भएको तथा जान चाहेको बारेमा स्वःघोषणा गरेमा पुनः श्रम स्वीकृति दिने निर्णय भएको हो ।

घरेलु कामदारको रुपमा पुरुषहरु पनि जान्छन् तर पनि महिलाहरुको संख्या अत्यधिक रहेको छ । समितिले एकपटक घरेलु कामदारमा गएर फर्किएकालाई फेरि जाने बाटो खोल्ने निर्णय गरे पनि नयाँ घरेलु कामदारमाथिको रोक भने कायमै रहनेछ । एकपटक  गएर फर्किएकाले फेरि जान चाहेमा चाहिँ पुनः श्रम स्वीकृति मिल्ने भएको छ ।

समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफूले काम गरेको ठाउँमा सबै कुरा राम्रो हुँदाहुँदै पनि जान नपाएकाहरु मर्कामा परेकाले त्यस्ता कामदारको हितको लागि यस्तो निर्णय गरेको बताउनुभयो ।

‘घरेलु श्रमिकको रुपमा काम गरेका, जो राम्रै सेवा सुविधा पाएर पनि फर्किन पाएका छैनन्, उनीहरु मर्कामा परेका छन्’, उहाँले भन्नुभयो, ‘वैधानिक बाटोबाट गएकाहरुले आफ्नो काम गर्ने ठाउँ र अरु सेवासुविधा राम्रो छ भन्ने विवरण पेश गरेमा उनीहरु फर्किन पाउनेछन् ।’

३ वर्षअघि तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी ठोस कानून नबन्दा वा नेपालले ती देशसँग श्रम सम्झौता नगर्दासम्म घरेलु कामदार पठाउन बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । 

अघिल्लो हप्ताको बुधबार बसेको बैठकमा धेरै सांसदहरुले यो विषयमा परराष्ट्र, गृह मन्त्रालय, मानव अधिकार आयोग र महिला आयोग पनि जिम्मेवार हुनुपर्ने विषय उठाएपछि बहुपक्षीय छलफल गरेर निर्णय गर्ने सहमति भएको थियो । त्यसैअनुसार स्वही बुधबार बसेको समितिको बैठकमा सबै सांसदहरुको सहमतिमा एकपटक घरेलु कामदारमा गएर फर्किएकाहरुलाई शर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

समितिको बैठकमा मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकार आयोगले कानुनी रुपमा फर्किन सहमति दिएको र प्राविधिक रुपमा आफूहरुले अध्ययन गर्ने जानकारी दिनुभयो ।

समितिको बैठकमा सांसदहरुले घरेलु कामदार गएका देशको स्थलगत अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । 

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • हेम निरौला

    Aug. 22, 2019, 10:17 p.m.

    सरकारले सहि निर्णय गरेको छ । कुनै निर्णय सत्यतथ्य नबुझी हचुवा को भरमा नगरियोस् । ताकी लाखौं नेपाली त्यसको परिणाम बाट दुखित हुन नपरोस् , धन्यवाद ।

  •  0 Reply
  • Sunita Shrestha

    Aug. 21, 2019, 10:28 p.m.

    धेरै राम्रो कुरा हो , मा पनि नेपाल बाहिर छु , अहिले घरेलु काम नै गर्दैछु/ मलाई एकदम राम्रो छ, घर नआएको ३ वर्ष भयो , अब आउन सक्छु जस्तो लागेको छ /म एकदम खुशी छु यो खबरले, धेरै धन्यवाद यो निर्णय गरेकोमा /

  •  0 Reply

तपाईको प्रतिक्रिया