विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २ महिनाभित्र डीपीआर स्वीकृत गरिने

 भदौ ८, २०७६ आइतबार ११:३१:४८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरका पर्यटन व्यवसायीले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार विराटनगरका उद्योगी, व्यापारी, पर्यटन व्यवसायीलगायतका सरोकारवालाहरुको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि पहल गर्न संघर्ष समिति बनाएको छ ।

संघर्ष समितिको तर्फबाट संयोजक पुण्यप्रसाद भट्टराई तथा सह–संयोजक फणिन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि भएको डीपीआर स्वीकृत गरी तत्काल काम थाल्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल सरकार र प्रदेश सरकारको इज्जत र प्रतिष्ठासँग जोडिएको नेपालको पुरानो, अत्यन्त व्यस्तका साथै देशको पूर्वी क्षेत्रको मेरुदण्ड मानिएको र पर्यटन तथा अन्य व्यवसाय विकासको ठूलो सम्भावना बोकेको विमानस्थलको तत्काल काम थाल्ने वातावरण बनाउन ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो एयर ट्राफिकिङलाई व्यवस्थित गर्नको लागि पनि यो विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाएर प्रदेश १ को राजधानीको विकास गर्न अति आवश्यक रहेको भन्दै मन्त्री भट्टराईको ध्यानाकर्षण गराइएको  छ ।

संघर्ष समितिका संयोजक भट्टराईसहितको समितिले मन्त्री योगेश भट्टराईलाई तत्काल बनाइएको डीपीआर स्वीकृत गरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउने काम तत्काल थाल्न आग्रह गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले विमानस्थललाई अन्तर्राष्ट्रिय नबनाइँदा प्रदेश १ को गतिविधिहरु सुस्ताउने गुनासो गर्नुभयो ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने बारेमा संघीय सरकारले स्वीकृति प्रदान गर्ने बित्तिकै काम सुरु हुने बताउनु भयो । उहाँले त्यसको लागि प्रदेश सरकारले पनि काम थाल्न बजेट छुट्याउन तयार रहेको उल्लेख गर्नुभयो ।

प्रदेशको गहनासँग जोडिएको ऐतिहासिक विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने बित्तिकै प्रदेश १ मा आर्थिक गतिविधिहरु बढ्ने मन्त्री कार्कीको भनाइ छ ।

विराटनगर विमानस्थलमा झण्डै २० मिनेट भएको छलफलका क्रममा मन्त्री भट्टराईले विराटनगर विमानस्थलको डीपीआर दुई महिनाभित्र स्वीकृत गर्ने प्रतिबद्धता जनाउनु भएको छ । असोज मसान्तभित्र डीपीआर स्वीकृत गरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि काम थालिने उहाँले बताउनु भयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया