सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु

 भदौ १३, २०७६ शुक्रबार १६:४१:३७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढेसँगै खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको हो ।

साउन मसान्तसम्म सुनसान देखिएको खुम्बुमा अहिले क्रमिक रुपले विदेशी पर्यटकहरुको आगमन बढ्न थालेको खुम्बुका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुने गर्दछ । अहिले पनि दैनिक १५० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ ।

पर्यटक नआउने महिना जेठ अन्तिम सातादेखि असार, साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीहरुसमेत अधिकांश फर्किसकेको होटल व्यवसायी ङातेम्बा शेर्पाले बताउनुभयो । यतिखेर पदमार्गहरुमा बाह्य पर्यटकहरुको आवातजावत निक्कै बढ्न थालेकोे खुम्बु पासङ ल्हमु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख ईमानाथ अधिकारीका अनुसार पर्यटकहरुका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दिन प्रतिदिन बढिरहेको छ । अहिले लुक्ला विमानस्थलमा दैनिक १५ ओटा विमानले उडान गर्ने गरेको उहाँको भनाइ छ । अधिकांश विदेशी पर्यटकहरुले भरिएर आउने विमान लुक्लाबाट फर्कँदा भने खाली जाने गरेको कार्यलयका प्रमुख अधिकारीले बताउनुभयो ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरुलाई पर्यटक दर्ता गर्न भ्याइ-नभ्याइ भएको कार्यलयले जनाएकोे छ । पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुले जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । त्यसै कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया