पर्यटकीय गन्तव्य बन्दै धनकुटाको नाम्जे थुम्की हाेमस्टे

 भदौ १४, २०७६ शनिबार १२:२१:३७ | सन्ताेष रुचाल

धनकुटा - धनकुटाको नाम्जे थुम्की पछिल्लो समयमा आएर पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकल जातीय बसोबास रहेको नाम्जेमा होमस्टे प्रभावकारी बन्दै गएपछि पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको हो ।

साँगुरीगढी गाउँपालिका–६ मा रहेकाे नाम्जे थुम्की भेडेटारबजारबाट ४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ । प्राकृतिक रुपमा निक्कै आकर्षक र मनमोहक नाम्जेलाई अमेरिकाको समाचार एजेन्सी सीएनएनले विश्वको १२ अनौठा गन्तव्यस्थलमध्ये आठौँ  नम्बरमा राखेकाे थियो ।

सीएनएन च्यानलले २०६८ सालमा विश्वको आठौँ गन्तव्यस्थलको रुपमा घोषणा गरेपछि चर्चामा आएकाे नाम्जे पछिल्लो समय होमस्टे प्रभावकारी बन्दै गएपछि पर्यटकहरुको रोजाइमा पर्न सफल भएको हो । अहिले भेडेटार आउने पर्यटकहरु अनिवार्य एक पटक नाम्जे पुगेर मात्र फर्कने गर्दछन् । 

समुन्द्र सतहबाट १५८५ मिटर उचाइमा रहेको नाम्जेमा ९५ प्रतिशत मगर जातिको मात्र एकल बसोबास रहेको छ । मगरहरुको मौलिक संस्कृतिको संरक्षण र संम्वर्द्धन गर्दै यहाँ उत्पादित वस्तुहरुको अधिकतम उपयोग हाेस् भन्ने हेतुले होमस्टे सञ्चालन गरिएको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताउनुभयाे ।

२०७० साल माघदेखि होमस्टे सञ्चालन गर्न सुरु गरिएको नाम्जे थुम्कीमा अहिले २२ घरमा होमस्टे सेवा सञ्चालन छ । तीमध्ये १९ घर पर्यटन कार्यालय काकडभिट्टा झापामा दर्ता भएका छन् भने बाँकी घरहरु दर्ताको प्रक्रियामा रहेको व्यवस्थापन समितिका अध्यक्ष रानाले बताउनुभयाे ।

होमस्टेमा भेडेटार, नमस्ते झरना, नाम्जे थुम्की घुम्न आउने पर्यटकहरुलाई सस्तो र सुलभ मूल्यमा बास बस्ने व्यवस्था गरिएको छ । त्यहाँ घुम्न आउने पर्यटकहरुलाई होमस्टेमा बास बस्दा प्रतिव्यक्ति एक छाक खाना र एक रात सुतेको अधिकतम ४ सय रुपैयाँदेखि न्यूनतम २ सय ७५ रुपैयाँ खर्च लाग्ने गर्दछ ।

होमस्टेमा समूहमा आउने पर्यटकहरुको रोजाइमा स्थानीय मौलिक हुर्रा नाच पनि प्रस्तुत गर्ने गरिन्छ । सांस्कृतिक नाच प्रस्तुत गरेबापत नाम्जे थुम्की होमस्टेको सामुदायिक सांस्कृतिक भवन निर्माण सहयोगार्थ २ हजार रुपैयाँ शुल्क लिने गरिएको होमस्टे व्यवस्थापन समितिका सचिव तुफानकुमार मगरले जानकारी दिनुभयाे । 

भवन निर्माण भएपछि विभिन्न खालका मौलिक संस्कृतिहरु प्रर्दशन, भाेज, विवाह, जन्मदिन, वनभोज लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । सामुदायिक भवन तारा गाउँ विकास समिति काठमाण्डौ, पर्यटन कार्यालय काकडभिट्टा झापा, साँगुरीगढी गाउँपालिका धनकुटा, पञ्चकन्या सामुदायिक संस्था, पर्यटन मन्त्रालय काठमाण्डौ, नाम्जे थुम्की होमस्टे, पर्यटन मन्त्रालय प्रदेश नम्बर १ लगायतको झण्डै ५० लाख रुपैयाँको लागतमा निर्माण हुँन लागेको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रानाले बताउनुुभयाे । 

होमस्टेमा आउने पर्यटकहरुलाई नास्ताको रुपमा उसिनेको आलु, स्कुसको जरा र त्यसको मुन्टाको तरकारी, मकैको भात, लोकल कुखुराको मासु, बंगुरको सेकुवा, खसी बोकाको मासु आवश्यकता अनुसार लोकल कोदोको निगार, तोङवा, रक्सी आदिकाे व्यवस्था गरिएको छ ।

होमस्टेमा बाहिरबाट वाइन लगायतका पेय पदार्थहरु ल्याएर पिउन बन्देज गरिएको छ । दैनिक एक सय जनालाई खान बस्नको व्यवस्था मिलाइएको होमस्टेमा पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीको परिवार बढी मात्रामा आउने गरेको स्थानीय समाजसेवी तथा होमस्टे सञ्चालक गुञ्जमान मगरले बताउनुभयाे । होमस्टेमा झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका देशका विभिन्न ठाउँबाट पर्यटकहरु घुम्न र बस्न आउने गर्दछन् । प्रायः हप्ताको शुक्रबार र शनिबार साथै बिदाको दिन बढी मात्रामा होमस्टेमा पर्यटकहरु बस्न आउने गरेका छन् ।

नाम्जे थुम्की होमस्टेमा आउने पर्यटकहरुले नाम्जेको आत्मा बस्ने घर, सूर्याेदय बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरी रहेका टावर, नाम्जेडाँडाबाट तराईका समथल भु–भागहरुको अवलोकन लगायत अवलाेकन गर्न सक्छन् ।

त्यस्तै नाम्जे थुम्की वरपर रहेका भेडेटारको चार्ल्स प्वाइन्ट, भेडेटारको पाथीभरा मन्दिर, ओख्रेको भ्यू–टावर, नमस्ते झरना, डाँडाबजारको ध्वँजेडाँडा, एशियाको सबैभन्दा ठूलो बरको बोट, चौविसको रानीताल, मोरङको जेफाले टावर लगायतका पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिने होमस्टे व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापा मगरले बताउनुभयाे । 

नाम्जे थुम्कीमा होमेस्टे सञ्चालन गर्दै आएका स्थानीयवासीहरुलाई ठूला होटल व्यवसायीहरुको चर्को दबाब छ । होमस्टेहरुले सस्तो र सुलभ दरमा पर्यटकहरुलाई सेवा प्रवाह गरेका कारण ठूला लगानीका होटल व्यवसायीहरुसँगको प्रतिस्पर्धाको चुनौती सामना गर्नुपर्ने बाध्यता रहेको स्थानीय होमस्टे सञ्चालकहरु बताउँछन् ।

होमस्टे सञ्चालनसँगै पर्यटकहरुको आकर्षण बढेपछि पुरै पर्यटन व्यवसाय नै धराशायी पार्ने खालका चलखेल हुने गरेको छ । होमस्टे सञ्चालन गर्न निकै मेहनत गर्नुपरेको होमस्टे व्यवसायीहरु बताउँछन् । 

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सुरु हुन केही महिना मात्र बाँकी छ । यसलाई मध्यनजर गर्दै नाम्जे थुम्की होमस्टे व्यवसायीहरु तीव्र तयारीमा जुटेका छन् ।

उनीहरुले पर्यटन वर्ष २०२० मा कम्तीमा पनि ५ लाख पर्यटकहरुलाई भेडेटार लगायत नाम्जे आसपासका क्षेत्रमा भ्रमण गराउने योजना बनाएका छन् । पर्यटकहरुलाई नाम्जेसहित डाँडाबजार होमस्टे, आहाले, धनकुटाको आठपहरिया बस्ती, जेफालेको होमस्टेमा व्यवस्थापन गर्ने र स्थानीय होटल व्यवसायीहरुसँग समन्वय गरेर सस्तोमा सेवा दिनेउनीहरुकाे सोच छ ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया