सामाजिक सञ्जालमा तथ्यभन्दा पक्षको खोजी

 भदौ २६, २०७६ बिहिबार ११:२५:४८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

पशुपतिमा आरती सुरु गर्नुअघि राष्ट्रिय गान बजाउने व्यवस्था ठिक लागेन भन्ने आशयको स्टाटस फेसबुकमा राख्नेबित्तिकै एकजना नजिकका साथीको प्रतिक्रिया आयो ‘...तपाईंको पनि विपक्षी दिमाग हावी हुन लागेको देख्दा साह्रै दुःख लाग्यो ।’

म सामाजिक सञ्जालमा लेख्नुअघि तथ्यलाई विचार गर्छु । सामाज हेर्छु । आवश्यकता बोध गर्छु । विषय देखेपछि लेखौं लेखौं पनि लाग्छ । तर झट्ट लेख्दिनँ । तथ्य वा महत्वलाई ख्याल गरेर विचार व्यक्त गर्ने प्रयास गर्छु । रमाइला कुरा फरक पाटा हुन् । रमाइलोका लागि लेखिन्छ, शेयर गरिन्छ । तर समुदाय, समाज तथा देशसँग जोडिएका विषयमा सचेत भईन्छ । जुन आम नागरिकको कर्तव्य हो । 

पशुपतिको आरतीअघि राष्ट्रिय गानको विषयमा पनि मैले सोचेरै लेखेको थिएँ । हुन त संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पनि सोचेरै राष्ट्रिय गान बजाउन निर्देशन दिनुभएको होला । राजनीतिमा कसैको प्रभावमा, लोकप्रियताको आशामा, काम देखाउन, आदि ईत्यादी कारण पनि काम गरिन्छ भनिन्छ । भलै भटराई पछिल्लो पुस्ताले धेरै आशा गरिएका नेता भएकोले उहाँकै स्वविवेकले निर्देशन दिनुभएको विश्वास गरौँ । 

मन्त्री भट्टराईको विवेकसँग सहमत नहुँदा मेरो दिमाग विपक्षी नै भयो । तर सत्तासँग विपक्षी दिमाग घुमाएको हैन । समाज, समुदाय, संस्कार/संस्कृति, राष्ट्रियता, परम्परागत मान्यता, धर्म निरपेक्ष देश यी सबै कुरालाई ख्याल गरेर लेखेको हुँ । त्यो मेरो व्यक्तिगत विचार थियो । मलाई लागेको कुरा थियो । अझै भन्छु आरतीअघि राष्ट्रिय गान सुहाउँदैन । 

मेरो सबैभन्दा बढी जोड धर्मलाई राजनीति र राष्ट्रियतासँग जोड्नु हुँदैन भन्ने हो । आरतीको आफ्नै परम्परा छ । आरतीअघि स्वस्तिक वाचन गर्ने गर्ने हो । अनि राष्ट्रिय गानको प्रयोग पनि जथाभावी हैन । नजिकै रहेको घाटमा आउने मलामीले राष्ट्रिय गान बज्दा सम्मान प्रकट गर्न उभिने कि अन्तिम संस्कारका कर्म गर्ने ? यो पनि प्रश्न हो । मैले विपक्षी दिमाग मात्रै घुमाएर आरतीअघि राष्ट्रिय गानमा गुनासो गरेको थिइनँ । तर प्रतिक्रिया दिनेको बुझाइ भयो विपक्षी दिमाग । 

विपक्षी दिमाग घुमेको देख्नुमा ती साथीको गल्ती हैन । अहिले चलेकै त्यस्तै छ । एउटा विषय आउनसाथ त्यहाँ तथ्यभन्दा निकटताका आधारमा विचार प्रकट गर्न सुरु हुन्छ । 

यहाँ सामाजिक सञ्जाल अर्थात हाम्रो राजनीति नै यस्तो भएको छ की सरकारले जति नराम्रो काम गरे पनि सरकार पक्षकाले बचाउ गरिरहन्छन्, त्यही ठिक हो भनि ढिपी गरिरहन्छन् । अनि सरकारले जति राम्रो काम गरे पनि विपक्षीले विरोध गरिरहन्छन् । गलत सावित गर्न प्रयास गरिरहन्छन् । 

सामान्य नागरिकका विचार मात्र हैन, अहिले त नेपालमा सत्यतथ्यमा बसेर समीक्षा गर्ने मान्छे पाउन पनि मुश्किल छ । 

एउटा घटना हुन्छ । त्यो घटनाको विश्लेषण गरिन्न । घटना गराउने पात्रहरुको विश्लेषण गरिन्छ । पात्रहरुको राजनीतिक दल, जात, धर्म, लिङ्ग, पेशा, भौगोलिक भेगका आधारमा विश्लेषण हुन्छ । एक पात्रको पक्षमा सामाजिक सञ्जाल र मूलधार मिडियामा लेख, वक्तव्य तथा भनाइहरु आउँछन् । 

कतिपय यस्ता पनि छन् समाचारको हेडलाइन हेरेकै भरमा लाइक, कमेन्ट र शेयर गर्न थाल्छन् । जोसुकैले भनोस्, आफ्ना पक्षकाले शेयर गरेको देखेपछि लाइक थप्ने र शेयर गर्ने क्रम चलिहाल्छ ।

केही समयअघि सामाजिक सञ्जालमा राजावादी पार्टी यस्तो बन्यो भन्दै कसैले केही व्यक्तिको नाम र कार्यविभाजन देखाएर नक्कली आईडीबाट शेयर गरिदिएछ । सत्तापक्षका एक जना राम्रै तर्क गर्ने नेताले शेयर गरेका थिए । यो पनि तथ्यबिना आफ्नो पक्षको विचार प्रवाह गर्ने अहिलेको प्रतिस्पर्धाकै उपज हो ।

अझ रोचक कुरा काँग्रेस नेता डा. रामशरण महतको फोटो राखेर रामहरण महत नामको फेसबुकबाट कसैले प्रधानमन्त्रीको स्वास्थ्यलाई जोडेर स्टाटस लेखेछ । सत्तापक्षको पत्रकार संगठनका एकजना नेताले शेयर गरेर ‘यस्तो पनि’ भन्न भ्याए । यहाँ सक्कली नक्कली केही हेरिन्न । हेरिन्छ त केवल आफ्नो पक्ष कि विपक्ष । 

सामाजिक सञ्जाल, युट्युब, अनलाइनलगायत विभिन्न माध्ययमबाट लेखहरु आउँछन्, स्टाटसहरु आउँछन् । कमेन्ट लेख्नुस् भन्ने ठाउँमा सहमतिमा शब्द वर्षा हुन्छ । स्टाटसमा सहमति नहुनेहरुले कि त हेर्दै हेर्दैनन्, हेरेर असहमति वा समीक्षा जाहेर गरे भने सक्दो झपार्छन् । बरु उसलाई विपक्षको बिल्ला भिराइन सक्छ । उता अर्को पात्रको बारेमा पनि यस्तै प्रकृया चल्छ ।

हाम्रा धर्म तथा नैतिक शिक्षाले भन्छ, झुटो बोल्नु हुँदैन । अहिले यो कुरा आफुले समर्थन गरेको दलको विपक्षमा बोल्नु हुँदैन भन्ने बुझाईमा परिवर्तन भएको छ । बरु सयौं झुटो बोलियोस् तर आफूले समर्थन गर्ने दल वा व्यक्ति झुटो नदेखियोस भन्ने जसरी प्रतिक्रियाहरु आउँछन् । 

केही समय अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले त नेताहरुको बारेमा टिप्पणी गर्नै प्रतिबन्ध लगाएको समाचार समेत बाहिर आयो । मुख्य दलको शिरदेखि सामान्य नागरिकसम्म अहिले तथ्य भन्दा पक्षको कुरामा सचेत छन् । 

एक हुल मानिस एक पात्र र उसका दृष्टिकोण, व्यवहार नै सही हो भन्ने धारणा बनाएर हिँड्छन् । अर्को हुल मानिस अर्को पात्र र उसका दृष्टिकोण, व्यवहार नै सही हो भन्ने धारणा बनाएर हिँड्छन् । समाजका हरेक घटनाले दुई धार जन्माउँछ । समाज यसरी नै उप–समाजमा बाँडिदै जान्छ । सामाजिक मनस्थिति बनाउँदै हिँड्छ् । घटना हुनुका पछि के कारण छ भनेर सोच्ने र समीक्षा गर्ने मानिस नै पाउन मुश्किल पर्न थालेको छ ।  

अहिले त मूल धारका संचारमाध्ययमले तथ्य सहित प्रकाशन/प्रशारण गरेका समाचारहरुमा पनि पक्ष र विपक्षको रोइलो सुरु हुन्छ । आफ्नो पक्षका भए जोगाउने, झुटमाथि झुट थोपर्ने र विपक्षीको भए मुद्दालाई लिएर अस्तित्व नै सक्नेगरी पछि लाग्ने क्रम चलिहाल्छ । देशको प्रचलित कानुन, न्यायको बाटो यहाँ हेर्नै छाडिएको छ ।

एउटा नेपाली उखान छ – ‘कागले कान लग्यो भन्दा कान नछामी कागको पछि दौडनु’ । ठ्याक्कै यही उखानसँग मिलेको छ अहिलेको अवस्था । केही समयअघि एक जना पत्रकारको आत्महत्या प्रकरणको मुद्दामा सामाजिक सञ्जाल त्यही रुपमा देखियो । हुँदाहुँदा त्यहाँ सत्तापक्ष र विपक्षकै बिल्ला भिराउन सुरु भयो । यस्ता थुप्रै उदाहरण छन् जसले तथ्यभन्दा पक्ष खोजेको छ । 

सामान्य नागरिक मात्र हैन समाजमा बौद्धिक भनिएका र हुनुपर्ने मानिस समेत अहिले पक्षलाई बलियो आधार मानेर तथ्यको विपक्षमा मरिमेट्न थालेका छन् । केही व्यक्तिहरु विषयमा साझा धराणा पनि सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका हुन्छन् । तर त्यो संख्या अल्पमतमा छ । यो सभ्य र सुसंस्कृत समाजका लागि घातक हुन सक्छ ।

अन्तिम अपडेट: भदौ २९, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया