डेंगीबाट सबैभन्दा बढी प्रभावित प्रदेशमा ३ नम्बर, जिल्लामा चितवन

 भदौ २६, २०७६ बिहिबार १९:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ । 

विभागले बिहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै डेंगीबाट सबैभन्दा बढी प्रदेश ३ प्रभावित भएको जनाएको हो । जिल्लागत रुपमा भने चितवन सबैभन्दा बढी प्रभावित भएको छ ।

त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगी संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिनुभयो । रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दे उहाँले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले लामखुट्टे नियन्त्रण नै डेंगी नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धित निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भइरहेको जानकारी दिनुभयो ।

खोप तथा औषधीबाट डेंगी र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क उहाँले गर्नुभयो । घरघरमा रहेका भाँडा, प्लाष्टिकका जग तथा गमलामा वृद्धि हुने लामखुट्टे भएकाले सबैका घरमा गएर सरकारले सरसफाइ गरिदिनु पर्ने भन्ने कुरा तर्कसंगत नहुने भएकाले प्रत्येक व्यक्ति आफैँ सजग हुनुपर्ने बताउनुभयो ।

विभागका अनुसार अहिले मुलुकभर ८ हजार ९० जना डेंगीबाट संक्रमति भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना संक्रमित भेटिएका जनाइएकाे छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया