जनजागरण अभियानमा नेकपाले आक्रमण गरेको कांग्रेसको आरोप, जिल्ला सभापतिको हात भाँच्चियो

 भदौ २६, २०७६ बिहिबार २०:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपाली कांग्रेस बाँकेले  दोश्रो चरणको राष्ट्रिय जनजागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा बिहीबार भएको कार्यक्रममा अवरोध भएको जनाएको छ ।

नेपाली कांग्रेस बाँकेले बिहीबार साँझ आकस्मिक पत्रकार सम्मेलन गरी प्रहरीको सहयोगमा सत्तारुढ नेकपाका कार्यकर्ताबाट आफूहरुको कार्यक्रममा अवरोध सिर्जना भएको दाबी गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालले  आफूहरुमाथि सत्ताधारी पार्टीका कार्यकर्ताबाटै आक्रमण भएको टिप्पणी गर्नुभयो ।

कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आफूहरुको शान्तिपूर्ण कार्यक्रममा नेकपा कार्यकर्ताले हस्तक्षेप गरी आक्रमण गरेको दाबी गर्नुभयो । नेकपा कार्यकर्ताको आक्रमणबाट आफ्नो हात भाँच्चिएको उहाँले जानकारी दिनुभयो ।

जागरण अभियानअन्तर्गत बुधबार खजुरा गाउँपालिकाको राधापुरमा कांग्रेसले गरेको कार्यक्रममा कांग्रेसकै एक जना कार्यकर्ताले सडक निर्माणमा अनियमितता भएको भन्दै एक जना कांग्रेस कार्यकर्ताले बालेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

आफ्नाे अनुमतिबिना सम्पादन गरी भिडियो सार्वजनिक भएको भन्दै कांग्रेसकै कार्यकर्ता भुवन थापाले कांग्रेसकै कार्यकर्ता असलम भाटविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना भएको हो ।

उजुरीपछि प्रहरीले बोलाउँदा उपस्थित नभएपछि भाटलाई छलफलका लागि बोलाउन गएको प्रहरी टोलीलाई बिहीबार कांग्रेस नेताहरुले कार्यक्रम समापन हुँदासम्म पर्खन आग्रह गरेका थिए । तर त्यही क्रममा नेकपाका केही कार्यकर्ताहरु एक्कासि कांग्रेसको कार्यक्रम हलभित्र प्रवेश गरी भाटलाई प्रहरीसमक्ष बुझाउन दबाब दिए । 

त्यही क्रममा कांग्रेस सभापति कोइरालालाई चोट लागेको प्रत्यक्षदर्शीले बताए । नेकपा बाँकेले भने घटनाबारे अनभिज्ञता प्रकट गरेको छ । पार्टी अध्यक्ष आईपी खरेलले कुनै पनि पार्टीको कार्यक्रममा अवरोध गर्ने आफूहरुको नीति नभएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया