नागरिकतासम्बन्धी विधेयकमा कांग्रेसकाे लिखित असहमति

 भदौ २८, २०७६ शनिबार ११:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकतासम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ । 

प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो । 

समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष राख्ने संशोधित प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउँदै सभापति श्रेष्ठलाई असहमति पत्र बुझाउनुभएको थियो ।

कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संवैधानिक एवम् सामाजिक जटिलताहरुसमेत सिर्जना हुनसक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । 

त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगीकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाउनुभएको छ ।

नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्रप्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेशकुमार सिंह, डाक्टर डिला संग्रौला र विनोद कुमार चौधरीको नाम भए पनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर छ । सत्तापक्षका समिति सदस्यहरु नवराज सिलवाल, झपटबहादुर रावल लगायतले प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए ।

बैठक केही बेरका लागि स्थगित गरिएको छ । समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५' लाई शनिबार नै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया