कवि वसन्त चौधरीको 'विश्व काव्ययात्रा' भर्जिनियामा

 भदौ ३१, २०७६ मंगलबार २०:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरणअन्तर्गत आइतबार साँझ अमेरिकाको भर्जिनियामा एकल कविता वाचन गरे । 

प्रवासी नेपालीहरूलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा, साहित्यको प्रचारप्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । 

एकल कविता वाचनमा कवि चौधरीले माया–प्रेम, राजनीतिक विसंगति, समाज र वर्तमान मान्छेबारे झण्डै दुई दर्जन कविता सुनाएका थिए । 

‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’

कुनै पनि समारोहको आरम्भ गर्नुअघि ईश्वरको वन्दना गरिन्छ । कवि चौधरीले पनि यही मान्यतालाई स्वीकार्दै वन्दनास्वरूप आफ्नो कविता वाचनको सुरुवात माथिको आध्यात्मिक गीतबाट गरेका थिए । 

कविता वाचन गर्दागर्दै उनी भावुक भए । एउटा प्रेमको कविता वाचन गर्ने क्रममा कवितात्मक शैलीमै उनको भावुकता यसरी पोखियो– ‘प्रेमलाई त्यति सजिलै व्यक्त गर्न सम्भव छैन । के बिहानीको मिर्मिरेमा उदाउने सूर्यको स्वर्णिम किरणलाई शब्दमा व्यक्त गर्न सकिन्छ ? के न्यानो घामलाई वा कालो सेतो बादललाई सजिलै वर्णन गर्न सम्भव छ ? जसरी वर्षातको थोपाहरुलाई, फूलको सुगन्धलाई, इन्द्रधनुषी रङलाई, चराको चिरबिरलाई, बालकको अबोध मुस्कानलाई शब्दमा व्यक्त गर्न सकिन्न, त्यसैगरी प्रेमलाई सीमित शब्दमा व्याख्या गर्न सकिन्न । यो त एउटा शाश्वत भावना हो, जुन हाम्रो हृदयमा कहिल्यै नमर्ने गरी बसेको हुन्छ ।’

भर्जिनियाको अन्तर्राष्ट्रिय कलाकार–मञ्चद्वारा आयोजित २० औँ शृङ्खलाअन्तर्गत उनले आफ्ना केही नयाँ विधा र लोकप्रिय गजल पनि सुनाएका थिए । कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्दा श्रोता गम्भीर र विह्वल भएका थिए । 

‘आमा’ कविता वाचन गर्नुअघि उनले व्यक्त गरे, ‘आमा’ शब्द उच्चारण गर्नासाथै एक किसिमको स्नेह र ममत्वको भाव नशानशामा सञ्चारित हुन्छन् । प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन् । त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो ।’ यी वाक्य र हरफहरूले सबैलाई गम्भीर र संवेदनशील बनाइदियो ।

समारोहमा चौधरीका नौ भाषामा प्रकाशित काव्य कृति ‘वसन्त’ र हिन्दी भाषामा प्रकाशित कविता संग्रह ‘चाहतों के साये में’ को समाजका ११ जना अग्रज व्यक्तिहरूद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो । कवि वसन्त चौधरीलाई विशिष्ट कविका रूपमा आयोजक अन्तर्राष्ट्रिय कलाकार–मञ्चले अभिनन्दन गरेको थियो । 

यसअघि ८ सेप्टेम्बरमा क्यानडाको टोरन्टो र ११ सेम्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आफ्नो काव्ययात्रा सम्पन्न गरेर कवि चौधरी विश्व काव्ययात्राको २० औँ शृङ्खला प्रस्तुत गर्न भर्जिनिया पुगेका थिए । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया