फ्रान्सले विश्वकप जितेमा प्रशिक्षक डेसच्याम्पले यस्तो रेकर्ड कायम गर्नेछन्

 असार ३०, २०७५ शनिबार ११:८:५१ | उज्यालो सहकर्मी

आइतबार राति रुसको लुज्निकी रंगशालामा जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्यो भन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका अगाडि छ । फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन्, जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन् ।
 
‘सबै सफल खेलाडी सफल प्रशिक्षक हुन सक्दैनन् ।’ यसको उदाहरणको रुपमा डिएगो म्याराडोनालाई लिए हुन्छ । तर, अपवाद पनि त हुन्छन् नि ! हो, त्यही अपवाद बन्ने लक्ष्यमा छन् फ्रेञ्च प्रशिक्षक डेसच्याम्प ।
 
सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए, कप्तानका रुपमा डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले क्रोएसियाविरुद्ध अचुक रणनीति बनाउँदैछन्, किनभने उनलाई जसरी पनि जित्नुछ र इतिहासमा तेस्रो व्यक्ति बन्नुछ । जसले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्न सकेको होस् ।
 
४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए । उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो ।
 
उनी आफ्नो नाम इतिहासमा लेखाउन मात्र ९० मिनेटले पछि छन् ।  विश्वकपको बीसौं संस्करणसम्म केवल दुई व्यक्तिले यो सफलता हात पारे, ब्राजिलका मारियो जागाल्लो  र जर्मनीका फन्स बेकनबउर ।
 
जागाल्लोले १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रुपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए । यस्तै १९७४ मा खेलाडीका रुपमा विश्वकप जितेका बेकनबउरले प्रशिक्षक बनेर १९९० मा जर्मनीलाई उपाधि दिलाए ।
 
सन् १९९८ मा विश्वकप च्याम्पियन बन्नुअघिको डेसच्याम्पको टोलीको पीडा भने अर्कै थियो । सन् १९९० र १९९४ को विश्वकपमा फ्रान्स छनोट हुनै सकेको थिएन । १९९४ को विश्वकप छनोटमा निर्णायक खेलमा बुल्गेरियासँग पराजित हुनुको पीडा सायद उनको पुस्ताले कहिल्यै बिर्सनेछैन ।
 
तर १९९८ मा फ्रान्स घरेलु मैदानमा भएको विश्वकपमार्फत फर्कियो धमाकेदार रुपमा । १९८९ देखि २००० सम्म राष्ट्रिय टिमबाट खेलेका डेसच्याम्पले १०३ क्याप जितेका छन् । 
 
के आइतबार राति फ्रान्सेली टोलीले मस्कोस्थित लुज्निकी रंगशालामा आफ्ना प्रशिक्षकलाई जीवनकै अमूल्य उपहार दिन सक्षम होला ?
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया