हेटौँडामा गोली प्रहार गरी तस्करसहित ७८ केजी गाँजा नियन्त्रणमा

 असोज ७, २०७६ मंगलबार १६:२४:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडाको चुरियामाई नयाँ बस्तीमा प्रहरीले गाँजा तस्करलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।

जाँच गर्न गाँजा बोकेको ट्रकमाथि चढेका प्रहरी समेतलाई लिएर भागेपछि मकवानपुर प्रहरीले तस्कर र गाँजा नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरेको बताइएकाे छ ।

गोली प्रहारपछि एकजना गाँजा तस्कर र ट्रकमा रहेकाे ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका-२९ का अफ्रिका चौधरी रहेका छन् ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक्र भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकेर प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनलाई पछ्याएको थियो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली लागेको थियाे ।  

घटनामा दुई जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ट्रकको क्याबिनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको हाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया