वालिङ नगरपालिकाको सुशासन अरुले पनि अनुशरण गर्न आवश्यक छ : अष्ट्रेलियन राजदूत

 असोज ८, २०७६ बुधबार १८:३२:३१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले वालिङ नगरपालिकाको कार्यशैली अन्य पालिकाले पनि पालना गर्न जरुरी रहेको बताउनु भएको छ ।

सुशासनका क्षेत्रमा वालिङ नगरपालिकाले गरेको क्रियाकलाप अरु नगरपालिकाले पनि अनुशरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

‘अन्तरनगरपालिका स्तरीय उत्तम अभ्यास तथा सिकाइ आदानप्रदान कार्यक्रम’ अन्तर्गत दोस्रो दिन वालिङ नगरपालिका परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत बडले भन्नुभयो, ‘वालिङले नयाँ अवसर र चुनौतीको सही सदुपयोग गर्न सुरु गरेको मैले पाएँ ।’ उहाँले भन्नुभयो, ‘वालिङले नीतिगत तहमा नै गरेको सुशासनका क्रियाकलाप सबैका लागि निक्कै महत्वपूर्ण छ ।’

राजदूत बडले वालिङको सांस्कृतिक विविधताले नै नेपालको समग्र विविधताको प्रतिनिधित्व गर्ने भन्दै राजदूतहरु काठमाण्डौ बाहिर घुम्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाण्डौ बाहिर आउँदा निक्कै आनन्द महसुस भैरहेको छ ।’ राजदूत बडले स्मार्ट बन्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकासँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाण, उपमेयर कल्पना तिवारी, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा सात वटै प्रदेशका एक/एक नगरपालिकाका मेयर/उपमेयरसहितको टोली सहभागी भएको थियो । 

एक दिन पोखरा र एक दिन वालिङमा भएको कार्यक्रममा गण्डकी प्रदेशको वालिङ नगरपालिकासहित प्रदेश नम्बर १ बाट झापाको दमक नगरपालिका, प्रदेश २ बाट बाराको कलैया उपमहानगरपालिका, प्रदेश ३ बाट दोलखाको भिमेश्वर नगरपालिका, प्रदेश ५ बाट पाल्पाको तानसेन नगरपालिका, कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर नगरपालिका र सुदूरपश्चिम प्रदेशबाट कैलालीको टिकापुर नगरपालिका सहभागी भएका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया