पर्यटकलाई नेपाली टोपी लगाएर विश्व पर्यटन दिवस मनाइयो

 असोज १०, २०७६ शुक्रबार १२:१:२३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – पश्चिमी सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गर्दै शुक्रबार कञ्चनपुरमा ४० औं विश्व पर्यटन दिवस मनाइएको छ ।

गड्डाचौकी नाका हुँदै शुक्रबार प्रवेश गर्ने विदेशी पर्यटकलाई नेपाल पर्यटन बोर्ड पर्यटन सूचना केन्द्र गड्डाचौकीले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

दिवसका अवसरमा इरानी नागरिक फजिलाट फजेल सेफर इधैनलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नेपाली ढाका टोपी, टीका तथा खादा पहिर्‍याएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रकाश रावलले पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच वटा कोरीडोर बनाएर अध्ययन सुरु गरेको बताउनुभयो । उहाँले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

यता, पर्यटन दिवसका अवसरमा सम्मान गरिएकी इरानी नागरिक फजिलाट फजेल सेफर इधैनले यसबारे आफूलाई केही जानकारी नभएको बताउँदै सम्मान पाएकोमा भने खुशी व्यक्त गर्नुभयो ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया