झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु भएको रिले अनसन २०औँ दिनमा

 असोज १०, २०७६ शुक्रबार २०:२४:४८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी– भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै जिल्ला प्रशासन अगाडि रिले अनसन सुरु भएको २० दिन पुगेको छ । 

शुक्रबार अनसन सुरु भएको २० औँ दिन पुग्दासमेत सरकारले केही पहल भने गरेको छैन । झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै सुरु गरिएको अनशनमा पालिकाका जनप्रतिनिधि, संघसंस्था र नागरिकहरुले स्वतःस्र्फूत रुपमा सहयोग गर्दै आएका छन् । 

तर सरकारले पुल निर्माणका विषयमा अहिलेसम्म कुनै पनि धारणा बाहिर ल्याएको छैन । पक्की पुल निर्माणका लागि दशकदेखि आन्दोलन गरिरहेकाले आफ्ना मागप्रति नजरअन्दाज नगर्न झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो ।

पुल निर्माण सबैको सरोकारको विषय भएकाले यसमा संघीय सरकारले चासो दिनुपर्ने अनसनमा सहभागी दशरथचन्द नगरपालिका–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

झुलाघाट नाकामा पक्की पुल निर्माणको विषयलाई कमजोर नठान्न पनि बैतडीबासीले आग्रह गरेका छन् । आवश्यक परे आफूहरु माईतीघर मण्डलामा रिले अनसन गर्न तयार रहेको संघर्ष समितिले बताएको छ । 

झुलाघाट नाकामा पक्की पुल नहुँदा यो क्षेत्रको आर्थिक विकासमा बाधा पुगेको छ । यहाँका धार्मिक सम्पदाहरुमा आउने भक्तजनहरु सहजै आउन सकिरहेका छैनन् । झुलाघाट नाकामा अहिले डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । 

यसैबीच झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै अनसनमा बसेकाहरुलाई बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी र प्रदेश सभा सांसदद्वय लिलाधर भट्ट र प्रेमप्रकाश भट्टले भेटघाट गर्नुभएको छ । झुलाघाटमा पक्की पुल निर्माणको विषय दुई देश र पञ्चेश्वर परियोजनासँग जोडिएको विषय भएकाले उपयुक्त स्थानमा पुल निर्माणका विषयमा छलफल हुने सांसद भण्डारीले बताउनुभयो । 

यदि झुलाघाटमा पक्की पुल निर्माण भएमा सुदूर पश्चिमको पहाडी जिल्लाका नागरिकहरुलाई सहज हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया