बैतडीको झुलाघाट नाका आजदेखि तीन दिन बन्द हुने

 असोज १६, २०७६ बिहिबार १०:३३:५८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनावका लागि बैतडीको नेपाल–भारत सीमा झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागि बन्द गरिने भएको छ ।

चुनावको लागि सुरक्षा संवेदनशिलताको कारण झुलाघाट सीमा नाका बन्द हुन लागेको हो । बिहीबार साँझ सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजे सम्म तीन दिन सिमा बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यसका साथै अक्टोकर १६ तारिख (असोज २८ गते) भारतको धार्चुला जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनावलाई मध्यनजर गरी दार्चुलाको सीमा नाका पनि बन्द हुने भएको छ । यो नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाइएको छ ।

आकस्मिक रुपमा चुनावको बेलामा नाका खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ । यसरी चाडपर्वको बेला सीमा नाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया