शितगंगा नगरपालिका: कर्मचारीले दशैँमा तलब पाएनन्, वृद्ध भत्ता पनि रोकियो

 असोज २०, २०७६ सोमबार २०:३३:३० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - बेलामा तलब नपाउँदा अर्घाखाँचीको शितगंगा नगरपालिकाका शिक्षक र स्वास्थ्य संस्थाका कर्मचारीकाे यसपालिको दशैँ फिक्का भएको छ ।

शिक्षक र स्वास्थ्यका कर्मचारी बाहेक नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पनि वितरण गरेको छैन । दशैँमा पनि  सामाजिक सुरक्षा वितरण गर्न नसकेपछि लाभग्राहीहरु निरास बनेका छन् ।

‘वृद्ध भत्ताको भरमा दशैँ मनाउने सोचमा थिएँ अहिले त भत्ता नै पाइनँ’, शितगंगा नगरपालिका-६, जलुकेकी ७८ वर्षीया फुलमाया सारुले गुनासाे गर्नुभयाे, ‘भत्ता पाइनँ, सारै गारो भएको छ ।’

नगरपालिकामा रहेका १ सय १० विद्यालयका शिक्षक , स्वास्थ्यका झण्डै ३० जना कर्मचारीले तलब पाएका छैनन् । पालिकाभित्र रहेका वृद्धवृद्धा, अपांग, एकल महिला कसैले पनि सामाजिक सुरक्षा पाउन सकेका छैनन् ।

तलब तथा सामाजिक सुरक्षा भत्ताको रकम असोज ६ गते निकासा भएको थियो । असोज १ गते प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीकाे सरुवा भएकाे र अर्को प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा नआउँदा  तलब र सामाजिक सुरक्षा भत्ता निकासी हुन नसकेको शितगंगा नगरपालिकाका लेखापाल अणबहादुर घर्तीले बताउनु भयो । 

भएका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने  र अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउने समस्याका कारण शिक्षक , स्वास्थ्यका कर्मचारी र सामाजिक सुरक्षा भत्ता दिन नसकेको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताउनुभयाे ।

अघिल्लाे वर्षको अल्या ३ करोडबाट नगरपालिकाका अन्य कर्मचारीहरु र जन प्रतिनिधिको तलब असोज १ गते अघि नै निकासी गरिएको थियो । माथिबाट अरु रकम नआउँदा तलब दिन नसकिएको नगरपालिकाले बताएको छ ।

तर शिक्षक र स्वास्थ्यका कर्मचारीहरुले भने तलब खुवाउन सकिने अन्य विकल्प भए पनि पालिकाले प्रयास नगरेकाे आरोप लगाएका छन् ।  
 

अन्तिम अपडेट: चैत ९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया