सिजन सुरु भएसँगै रसुवामा पर्यटकको आगमन बढ्यो

 असोज २१, २०७६ मंगलबार १६:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको छ ।

पर्यटकीय सिजन सुरु भएसँगै नेपाली तथा विदेशी पर्यटकको आगमन बढेको हो । आएका पर्यटकमध्ये गोसाईकुण्ड र लाङटाङ जानेको सङ्ख्या उच्च छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको भए पनि यो सिजनमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् ।

अहिले दैनिकरूपमा डेढ सयको हाराहारीमा पर्यटक आइरहेका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ । 

जिल्लाको गोसाईकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा अहिले पर्यटक जानका लागि कुनै पनि समस्या नरहेको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया