सीको सन्देश : कुरा होइन काम गर, नागरिकको विश्वास जित

 असोज २६, २०७६ आइतबार १८:०:६ | सम्पादकीय
unn.prixa.net

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट सरकार मात्र होइन, नेपाली नागरिक पनि खुशी छन् ।

शक्तिसम्पन्न देश चीनका राष्ट्रपति नेपाल आउनु मात्रै पनि गर्वको कुरा हो । त्यसमाथि यो भ्रमणसँगै रेल र सुरुङ मार्ग निर्माणलगायतका केही महत्वपूर्ण र दीर्घकालीन योजनाहरु अघि बढ्ने संकेत मिलेको छ । जसले सरकार र नागरिकलाई समेत थप हौसला र ऊर्जा दिएको छ ।

त्यसो त पहिलोपटक नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि नेपालीको माया, सम्मान र स्वागतलाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो । नेपाल र चीनबीच भौगोलिक हिसाबले मात्र होइन, धार्मिक र साँस्कृतिक दृष्टिकोणले पनि आत्मीय सम्बन्ध रहेको स्मरण गर्नुभयो । नेपाल सरकार र नेपाली नागरिकको आकांक्षाअनुसार नै यहाँको विकासमा सकेको सहयोग गर्ने वचन दिनुभयो । उहाँको भ्रमणले नेपालमा रेल चलाउने प्रधानमन्त्रीको सपना र रेल चढ्ने नेपालीको चाहना पूरा हुने संकेत मिलेको छ ।

रेल मात्रै होइन, काठमाण्डौ–केरुङ सुरुङमार्ग बनाउन चीनले सहयोग गर्ने भएको छ । अरु केही आयोजनामा पनि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनको प्रतिबद्धताले सीमामै आउनै लागेको रेल काठमाण्डौ आउने आशा बढेको छ । ठूला पूर्वाधार आयोजना निर्माण हुने अपेक्षा चुलिएको छ । कुनै पनि देशको विकास त्यहाँको औद्योगिक विकासमा निर्भर रहन्छ । ठूला पूर्वाधार आयोजना निर्माणमा चिनियाँ सहयोग प्राप्त भयो भने देशको भविष्य बदलिने पक्का छ । 

विभिन्न आयोजनामा सहयोगको प्रतिबद्धतासँगै चीनले नेपाल आफ्नो प्राथमिकताको देश भएको सन्देश पनि दिएको छ । यसले पनि चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल भएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण गराएर महत्वपूर्ण सम्झौता गर्न सफल नेपाल सरकारको काम प्रशंसनीय छ ।

आर्थिक र पूर्वाधार विकासमा सहयोग गर्ने वचन र प्रतिबद्धता जनाइरहँदा चिनियाँ राष्ट्रपतिले कुरा होइन काम गर्न र नागरिकको मन जित्न सरकार र नेपाली नेतालाई सुझाव दिनुभएको छ । नेपालीको कामभन्दा कुरा गर्ने प्रवृत्ति छ भन्ने कुरा थाहा पाएरै होला उहाँले तोकिएको योजना पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । चीनमा सबै योजना तोकिएको समयमा पूरा हुने दृष्टान्त उल्लेख गर्दै उहाँले घुमाउरो भाषामा नेपालको काम गर्ने शैलीलाई व्यङ्ग्य गर्नुभएको छ ।

उहाँले चीन नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउन सघाउन तयार रहेको तर चीनको यो प्रतिबद्धता पूरा गर्न नेपाल पनि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । चिनियाँ राष्ट्रपतिको यो भनाइले कुराभन्दा काम गर्न, थालेका योजना पूरा गर्न र हात थाप्नेभन्दा व्यापार गर्ने बानी बसाल्न सन्देश दिएको छ । यो सन्देश नेपाल सरकार, नेपाली नेता र नेपाली नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

चिनियाँ राष्ट्रपतिको यो सन्देश मनन गर्ने हो भने सबैभन्दा पहिले उहाँको स्वागत र सम्मानका लागि तयार पारिएका संरचनाको संरक्षण र दिगोपनामा जोड दिनुपर्छ । यसअघि अरु विशिष्ट विदेशी पाहुना आएको बेलामा जस्तै यसपटक पनि काठमाण्डौको झकिझकाउ देखेर सबैलाई लागेको छ, गरेदेखि हुँदो रहेछ । गरेदेखि बन्दो रहेछ । तर पाहुना आएको बेलामा जस्तै गरी अरु बेला किन गर्न सकिँदैन ?

पाहुना आउँदा बाटोघाटो र घर चिटिक्क पार्नु नेपालीको संस्कार र सभ्यता पनि हो । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाण्डौका सडकपेटीमा गरिएको साजसज्जा पनि स्वभाविक र स्वागतयोग्य छ । तर पाहुना फर्किएलगत्तै यी संरचनाको बेवास्ता गर्ने प्रवृत्ति छ । सडकपेटी र चोकमा राखिएका फूल र बोटविरुवा उखेल्ने, चुँड्ने बानी छ । सडक पेटीमा हिँड्दा, चोकमा उभिँदा फूल चुँड्ने र बोटविरुवाको हाँगा निमोठ्ने बानी त्याग्दै त्यसको संरक्षण गर्नु आमनागरिकको पनि दायित्व हो ।

अहिले रोपिएका फूल, बोटबिरुवा र दुबोको संरक्षण गर्दै अरु ठाउँमा पनि यस्तै हरियाली र झकिझकाउ बनाउन ठूलो योजना ल्याउनै पर्दैन । पालिकास्तरबाटै यो काम हुन सक्छ । पाहुनालाई देखाउनको लागि रातारात हरियाली बनाउन सकिन्छ भने एउटा योजना बनाएर शहर र सडकभरि सधैँ हरियाली बनाउन किन सकिँदैन ? यसतर्फ महानगरपालिकाले ध्यान दिनुपर्छ ।

अनि रातारात सडक चिल्लो र सफा पार्न सक्ने सडक विभाग र अरु निकायले पाहुना नआएको बेला पनि सडकलाई यस्तै बनाउन किन सक्दैनन् ? योजनाअनुसार काम गर्ने हो भने अवश्य सकिन्छ । पाहुनालाई देखाउन मात्र होइन, अरु बेला पनि विकास निर्माणका काम गर्न र शहरको सौन्दर्य बढाउन सकिन्छ भनेर सम्बन्धित निकायले काम गरेर देखाउन सक्नुपर्छ । टालटुले र देखाउने काममा मात्र होइन, दीर्घकालीन विकास निर्माणमा जोड दिनुपर्छ ।

अनि चिनियाँ राष्ट्रपतिको बहुप्रतिक्षित भ्रमण गराएर रेल, सुरुङ मार्गलगायतका अरु पूर्वाधारमा सम्झौता गर्न सफल सरकारले त्यसअनुसार काम अघि बढाउन तत्परता देखाउनुपर्छ । रेल त ल्याउने तर रेलबाट के ल्याउने र के पठाउने भन्नेबारे अहिलेदेखि नै सोच्न जरुरी छ ।

कुरा र सम्झौता हुने, तर काम नगर्ने प्रवृत्ति त्याग्नुपर्छ । चिनियाँ राष्ट्रपति सीको सन्देश पनि यही हो । नेकपा नेताहरुसँगको भेटमा चिनियाँ राष्ट्रपतिले चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव साट्दै पार्टीमा स्वच्छता, सुशासन तथा सरकार र पार्टीसँग नागरिकको सम्बन्ध राम्रो हुनुपर्छ भन्ने सन्देश दिनुभएको छ । दुई तिहाईको सरकार चलाएर पनि नागरिकको भावनाअनुसार काम गर्न नसकेको भनेर आरोप खेप्दै आएका नेकपाका जिम्मेवार नेताहरुले यो सन्देश मनन गर्न सक्नुपर्छ ।

चिनियाँ राष्ट्रपतिले भनेजस्तै सरकारले आउँदो दिनमा विधिको शासन र नागरिकको आधारभूत समस्यामा ध्यान दिने हो भने देशको विकास धेरै टाढा छैन ।

नेपालको दुई दिने भ्रमण पूरा गरेर फर्किएका शक्ति सम्पन्न छिमेकी देशका राष्ट्रपतिको भ्रमणले नेपाली नेतालाई कुरामा भन्दा काममा ध्यान दिन मार्गनिर्देश गरेको छ । चिनियाँ राष्ट्रपतिसँग दुई दिन सँगसँगै रहेका र त्योभन्दा पहिले नै सीपथ पढेका नेताहरुले पक्कै यो कुरा बुझेकै हुनुपर्छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया