चीन भन्छ : अर्को वर्ष ५ लाख चिनियाँ पर्यटक नेपाल आउनेछन्,  नेपाली पक्ष मख्ख

 असोज २७, २०७६ सोमबार १९:५:१३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज २५ गते सोल्टी होटलमा भएको रात्रिभोजमा सम्बोधनका क्रममा नेपाल भ्रमण वर्षको बारेमा पनि उल्लेख गर्नुभयो । चिनियाँ राष्ट्रपति सीले भन्नुभएको थियो, ‘सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं ।’

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदैमा नै नेपालमा आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा गर्न सकिन्छ । त्यसमाथि राष्ट्रपतिले सम्बोधनकै क्रममा चिनियाँ पर्यटक नेपाल पठाउन उत्प्रेरित गर्ने बताएपछि  यसले थप सकारात्मक प्रभाव पार्ने देखिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यमा यो भ्रमण कोशेढुंगा बन्न सक्नेमा सरकारी र निजी क्षेत्र ढुक्क छ ।

चिनियाँ दूतावास भन्छ : अर्को वर्ष ५ लाख पर्यटक नेपाल आउँछन्

सन् २०१८ मा नेपालमा अहिलेसम्मकै धेरै अर्थात झण्डै १२ लाख पर्यटक नेपाल घुम्न आए । झण्डै १२ लाख पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक नेपाल भित्रने देशको दोस्रो नम्बरमा चीन थियो । सन् २०१८ मा चीनबाट १ लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।  जुन सन् २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशतले धेरै थियो ।

तर सन् २०२० मा भने यो संख्या ५ लाख पुग्ने नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ । चीनको ग्लोबल टाइम्स पत्रिका/अनलाइनलाई नेपालमा रहेको चिनियाँ दूतावासका वाणिज्य तथा आर्थिक कन्सुलर झ्याङ फानले भनेका छन्, ‘नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरिरहँदा चीन र नेपालको पर्यटन बजार झनै नजिकिँदै गएको छ, सन् २०२० मा नेपालमा ५ लाख चिनियाँ पर्यटक नेपाल आउने अनुमान गरेका छौं ।’

ग्लोबल टाइम्सले सन् २०२० पछि नेपालमा चिनियाँलगायत अरु देशका पर्यटक झनै बढ्ने उल्लेख गरेको छ । खासगरी पोखरामा चिनियाँ निर्माण कम्पनीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको प्रसंगलाई जोड दिँदै उसले पर्यटक बढ्ने दाबी गरेको छ ।

पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि यस्ताे देखिनेछ

‘अहिले विमानस्थलको ४७ प्रतिशत काम सकिएको छ, हामीले सन् २०२१ भित्र यो विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं, सकभर तोकिएको समय भन्दा चाँडै काम सक्ने अपेक्षा छ ।’ विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीको १ नम्बर इन्जिनियरिङ शाखाका प्रमुख  याङ झिग्याङले ग्लोबल टाइम्ससँग भनेका छन् ।

चिनियाँ दूतावासले सन् २०१७ को तुलनामा सन् २०१८ मा नेपालमा चिनियाँ पर्यटकको संख्या ४६ दशमलव ८ प्रतिशतले बढेको जनाएको छ । नेपालमा आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्या निकै वृद्धि भैरहेको चिनियाँ दूतावासको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

नेपालको बारेमा जान्न खोज्ने चिनियाँहरु पनि बढेको देखिएको छ । चिनियाँ अनलाइन ट्राभल प्लेटफर्म मानिएको माफेङ्ग्वो डटकमका अनुसार सन् २०१९ को पहिलो ६ महिनामा चिनियाँ वेबसाइटबाट नेपाल सर्च गर्ने चिनियाँको संख्या १३ प्रतिशतले बढेको छ ।

पर्यटन बोर्ड भन्छ : नेपालको पर्यटन प्रवर्द्धनमा सीको भ्रमण अति नै महत्वपूर्ण

सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएपछि पूरा होला कि नहोला भनेर नेपाल पर्यटन बोर्ड अलमलमा छ । तर चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल आउने पर्यटक बढ्नेमा बोर्ड ढुक्क छ ।

‘जहाँ–जहाँ चिनियाँ राष्ट्रपति पुग्नुहुन्छ, त्यहाँ चिनियाँहरु बढ्छन्, उहाँ आउँदा धेरै चिनियाँ मिडियाले नेपालको कभर गरे, यहाँका राम्रा राम्रा भिडियोहरु बनाए, त्यसमाथि उहाँले घोषणा गरेरै नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने बताउनुभएको छ, यस्तो प्रचार त हामीले अरबौँ रुपैयाँ तिरेर पनि गर्न सक्दैनौँ’, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

चिनियाँ राष्ट्रपतिको नेपाल आगमनले चीनका नागरिक मात्रै नभै संसारभरका पर्यटकले नेपालबारे जानेको र संसारभर नै नेपालबारे जान्न खोज्नेहरु बढ्न सक्ने सीईओ जोशीको भनाइ छ ।

यस्तै चिनियाँ पर्यटन बजार अहिले संसारकै ठूलोमध्येको एक रहेको र अहिले चिनियाँ सञ्चारमाध्यमले गरेको रिपोर्टिङको सकारात्मक असर पर्यटन क्षेत्रमा पर्ने पनि उहाँले बताउनुभयो ।

सन् २०२० का लागि मात्र नभै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दिगो प्रभाव पार्ने उहाँको भनाइ छ । ‘नेपालको पूर्वाधारमा चीनले सहयोग गर्ने, हवाई, रेललगायतमा कनेक्टिभिटी बढाउनेलगायतका योजना बन्नु भनेको नै पर्यटक आउने पूर्वाधार बन्नु हो, त्यसैले सीको नेपाल भ्रमणले दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ’, जोशीले भन्नुभयो ।

निजी क्षेत्र पनि उत्साहित

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको निजी क्षेत्र पनि उत्साहित भएको छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु र उहाँले नै नेपाल भ्रमण वर्षको बारेमा बोल्नु नेपालको लागि सुखद कुरा भएको निजी क्षेत्रको भनाइ छ । 

‘उहाँको भ्रमण र उहाँले नेपालको पर्यटन वर्षको बारेमा बोलेको कुरा ऐतिहासिक नै हो,  उहाँले हामीलाई ठूलो हौसला दिनुभएको छ, हामी निकै खुशी छौँ’, होटल एसोसिएशन अफ् नेपाल हानकी अध्यक्ष तथा अन्नपूर्ण होटलकी सीईओ सिर्जना राणाले भन्नुभयो, ‘विश्वकै शक्तिशाली देशको राष्ट्रपति हाम्रो देशमा आउनु भनेको आफैमा प्रचार हो, नेपालमा चिनियाँ पर्यटक बढ्छन भन्नेमा हामी विश्वस्त छौँ ।’ तर चिनियाँ राष्ट्रपतिले मात्रै नभएर नेपालले पनि चिनियाँ पर्यटक तान्न धेरै सुधार गर्नुपर्ने राणाको भनाइ छ । 

‘चीनका राष्ट्रपति आउँदा चिटिक्क बनाउन सकिने सडक अरु बेला पनि त्यस्तै हुनुहपर्‍यो, फोहोर व्यवस्थापन हुनुपर्‍यो, बेहाल अवस्थाका सडक सुधार हुनुपर्‍यो तबमात्रै चिनियाँ राष्ट्रपतिको हौसलालाई हामीले व्यवहारमा उतार्न सक्छौँ’, राणाले उज्यालो अनलाइनसँग भन्नुभयो ।

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले पनि पर्यटकीय सिजन र नेपाल भ्रमण वर्षको ठ्याक्कै अगाडि चिनियाँ राष्ट्रपति नेपाल आउनु उपहार प्राप्त भएजस्तै भएको बताउनुभयो ।

‘पर्यटन क्षेत्रको लागि यो ठूलो उपहार र सौभाग्य हो, उहाँले बोलेपछि चिनियाँ पर्यटक बढ्नेछन्, बरु हामीले उनीहरुलाई फेरि फर्केर आउने र अरुलाई नेपाल घुम्न प्रेरित गर्ने हिसाबले सेवा दिनुपर्छ’, टानका अध्यक्ष सुवेदीले भन्नुभयो । 

चिनियाँ पर्यटकका तस्बिर : माफेङ्ग्वो डट कम

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया