सीको भ्रमणले नेपाललाई हेर्ने अन्तर्राष्ट्रिय समुदायको नजर पनि फेरिन्छ

 असोज ३०, २०७६ बिहिबार १२:५३:६ | महेश मास्के
unn.prixa.net

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक र उपलब्धिमूलक भयो । चिनियाँ राष्ट्रपति तहबाट २३ वर्षपछि भ्रमण हुनुअगावै दैनिक पत्रिकामा सीको आलेख आउनु, नेपालबाट भव्य तयारी र स्वागत गर्नु, जवाफमा सम्बोधनमा स्पष्ट र मन छुने कुरा राख्नुले सीको नेपाल भ्रमण उपलब्धिमूलक भएको छ । 

सीले आफ्नो सम्बोधनमा नेपाल र चीनबीच गहिरो मित्रता रहेको बताउनु भएको छ । उहाँले नेपाल भूपरिवेष्टित होइन अब भूजडित हुन्छ भन्नु भएको छ । बीआरआईमा नेपालले हस्ताक्षर गरेपछि अब नेपालको कनेक्टिभिटीले अरु देश जोड्न सकिने कुरामा जोड दिनु भएको छ ।

सीले जुन प्रतिबद्धताको कुरा गर्नु भएको छ, त्यो अत्यन्तै महत्वपूर्ण छ । चीनले विकास गरेको भनेकै योजना बनाएर त्यसको कडाइका साथ लागू गर्ने भएरै हो । नेपालसँग पनि त्यो अपेक्षा छ ।
  
यसले के पनि सन्देश दिएको छ भने अब जुन समझदारी बन्छ, त्यो धमाधम पालना गरेर जानुपर्‍यो । राष्ट्रपतिको सीको भ्रमणका क्रममा नेपालले देखाएको स्वागत, नागरिकको उत्साह र सी स्वयंले धेरै नेपालीको मन जितेर जानु भएको देखिन्छ ।

सीको स्वागतमा बसेका बालबालिकासँग कुरा गर्ने, सबै नेताहरुसँग भेटघाट गरेर जाने, हतारमा आएर दौडिने मात्रै भएन । यो सबै कुराले सीको नेपाल भ्रमण अन्यन्तै सफल भएको छ । नेपालका लागि यो ठूलो अवसर हो । नयाँ अवसरका ढोका पनि खोलेको छ ।

नेपालीको चाहना : सीको बोली र सपना !

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले भनेका कुरा हाम्रै मनमा भएका कुरा थिए । हामीले चाहेका, सोचेका कुरा कसैले बोलिदियो भने त्यसले मन जित्छ । सीले यस्तै बोलेपछि धेरै नेपालीको मन जित्यो जस्तो लाग्छ ।

हामीले धेरै अगाडिदेखि भूजडित हुने प्रयत्न गरेका हौं । हामी भूपरिवेष्टित भएर जुन एउटा नकारात्मक सन्देश दिने गरेको थियो, २०७२ सालमा प्रधानमन्त्री केपी शर्माको चीन भ्रमणका क्रममा ‘ट्रान्जिट’को जुन सहमति बन्यो, पेट्रोलियम पदार्थ चीनलगायत अरु देशबाट पनि ल्याउन सकिने सम्भावनाको खोजी भयो । त्यसले भूपरिवेष्टितबाट भूजडित हुने दिशाबाट अगाडि बढ्यौं भन्ने चर्चा सुरु भएको थियो ।

त्यतिबेलादेखिकै कुरा अहिले चिनियाँ सर्वोच्च नेताले नेपाली भूमिमै आएर भन्दा हामीलाई थप आनन्दित तुल्याएको हो । अर्को कुरा हाम्रै नेताहरुले कुरा गर्ने, सहमति गर्ने तर काम नगर्ने प्रवृत्तिले हामीलाई चिन्ता बढाएको थियो ।

तर सीले आफ्नै शब्दमा ‘हामी योजना बनाएपछि त्यसलाई पूरा गरेर छाडौँ, हामी चीनमा पनि यस्तै गर्छौँ’ भन्ने मन्त्रले नेपाली नेताहरुलाई राम्र्रै प्रेरित गरेको छ । नेपाल र चीनबीच भएको सहमतिलाई टुंगोमा पुर्‍याऔँ भन्ने सीकै शब्दले नेपाली नेताहरुलाई पनि बल मिलेको छ । नेताहरुले मात्रै होइन धेरै नेपालीले सीको भनाइलाई अनुशरण गरेका छन् ।

चीनको दक्षिण एसियाली ‘नजर’, सन्तुलित व्यवहार !

सीको भ्रमणका क्रममा आयोजित रात्रीभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल र चीनबीचको सम्बन्ध सागरभन्दा गहिरो, सगरमाथाभन्दा अग्लो रहेको बताउनुभयो । उहाँले भनेजस्तै चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउनु भएको छ । उहाँको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।

दक्षिण एसियालाई हेर्ने चीनको नजरभन्दा नेपाललाई हेर्ने दृष्टिकोण के थियो ? भन्ने कुरा बुझ्नुपर्छ । यसबीचमा सी भारत पटक–पटक जानु भएको थियो । पाकिस्तान पनि पटक–पटक जानु भएको थियो । 

तर नेपाल आउनु भएको थिएन । चिनियाँ राष्ट्रपति तहबाट २३ वर्षसम्म उच्चस्तरको भ्रमण नै हुन सकेको थिएन । अब संयोग भन्नुपर्छ, पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग बेइजिङमै भेट्नुभयो ।

त्यसको भोलिपल्ट भारत जानुभयो । भारत र चीनबीचको आन्तरिक छलफलको विषयमा उहाँ भारत जानु भएको हो । त्यसअघि ‘वुहान’मा भारत र चीनबीच अनौपचारिक तथा गम्भीर छलफल भएको थियो । ‘वुहान २’ भनेर भारतमा मोदी र सीबीच गहिरो छलफल भयो ।

भारतको चेन्नेईपछि उहाँ सोझै काठमाण्डौ आउनुभयो । त्यसअगाडि नै पाकिस्तानी प्रधानमन्त्री खानसँग भेट्नुभयो । इमरान खानसँग सीको भेटमा मलाई लाग्छ, ‘कश्मीर’का विषयमा छलफल भयो जस्तो लाग्छ ।

‘कश्मीर’का विषयमा यसअगाडि चीनले आफ्नो अडान राखेको थियो । भारतले काश्मिरलाई दिएको स्वतन्त्र राज्यको जुन अधिकार खोसेको छ । यसले दक्षिण एसियामा पुनः द्वन्द्व सिर्जना गरेको चीनको बुझाइ छ ।

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा पनि चीनले यस विषयमा बोल्यो । त्यसभन्दा पहिले पनि चीनले विज्ञप्ति निकालेर कश्मीरमा भारतको एकाधिकारप्रति हस्तक्षेप गरेको थियो । पछि भारतले विरोध खण्डन ग¥यो । कश्मीरका विषयमा चीनले छलफलमार्फत समाधान खोज्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । तर भारतको एकोहोरो हस्तक्षेप स्वीकार्य नहुने उसको अडान छ ।

भारतले भने आन्तरिक मामिला भन्दै चीनको अडान मन पराएको छैन । यसै सिलसिलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान, भारतीय प्रधानमन्त्री मोदीसँग सीको भेटघाट र छलफल भयो । त्यसपछि सी नेपाल आउनुभयो । भ्रमण गर्नुभयो ।

भारत, पाकिस्तान र नेपालसँग सीको छलफल र भेटघाट भएका छन् । मलाई के लाग्छ भने यो ‘मेजर कन्ट्री रिलेसनसिप’ अन्तर्गत चिनियाँ कुटनीतिमा उहाँहरु अडान पनि राख्नुहुन्छ । तर संवाद पनि निरन्तर जारी राख्नुहुन्छ ।

कश्मीरका मामिलामा चीनको अडान आफ्नै छ । तर भारतसँगको संवादको ढोका बन्द गरेको छैन । त्यही रुपमा नेपाल, भारत र चीनबीचको त्रिदेशीय सहकार्य समझदारीमा नेपाल अघि बढ्नुपर्छ भनेर हामीले भनिरहेका छौँ । यो हाम्रै प्रस्ताव हो ।

अरुलाई खेल्न दिने कि आफैँले नेतृत्व गर्ने ? 

यसक्रममा भारत, नेपाल र चीनबीच थुप्रै सम्भावना छन् । यसमा पनि ‘बुद्धिस्ट सक्रिट’को कुरा छ । भोलि जलविद्युत उत्पादनको कुरामा भारत र चीन ठूलो बजार हो । त्रिदेशीय सडक र रेलकै कुरा होला । चीन–नेपाल–भारत ‘आर्थिक करिडोर’को कुरा होला । यी सबै कुराहरुका लागि सीको भ्रमणले ‘भावभूमि’ तयार गर्छ ।

चीनको परराष्ट्र नीति परिपक्व मात्रै छैन । सन्तुलित पनि छ । चीनका यस्ता उदाहरणबाट सिक्ने ठाउँ धेरै छ । भूराजनीतिबाट नेपालले सिक्ने ठाउँ झन् धेरै छ । किनकी नेपालको भूराजनीति चीन, भारत, युरोप र अमेरिकाकै लागि उत्कृष्ट छ । सबैको चासो, जनचासो र शक्तिशाली देशहरुका लागि नेपाल विशिष्ट छ ।

विगतमा धेरै अस्थिरता थियो । लामो समय द्वन्द्वमा पनि फस्यो । तर अहिले स्थीर सरकार छ । स्थीर सरकारमा दुई तिहाइको बहुमत छ । यस्तो बेला नेपाल कसरी अगाडि बढ्छ ? भनेर विश्वले हेरिरहेको छ । दुई छिमेकी शक्तिशाली देश भारत र चीनले मात्रै होइन ।

तीव्र आर्थिक वृद्धिमा लागिरहेका युरोप र अमेरिकाले पनि समेत निकै सुक्ष्म ढंगले हेरिरहेका छन । सबैले चासोका साथ हेरिरहेकाले नेपाल आफैँले अब परिपक्व र बुद्धिमता ढंगले कुटनीतिक चाल चल्नुपर्ने देखिन्छ । त्यहीअनुसार परराष्ट्रनीतिलाई पनि अगाडि बढाउनुपर्छ ।

नेपालले युद्ध रोक्छ, शान्ति फैलाउन सक्छ

‘सबैसँग हाम्रो मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नारामा हाम्रो परराष्ट्रनीति बनेको छ । जुन हाम्रो राष्ट्रिय स्वार्थको संरक्षण र पारस्परिक हितको प्रवद्र्धन हो । यस आधारमा हाम्रो परराष्ट्र नीति बनेको हुन्छ । त्यसकारण नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ सबै देशसँग संवाद गर्न सक्छ ।

दक्षिण एसियामा सार्कको अध्यक्ष राष्ट्र नै हो । बिमस्टेकमा छ । भारत, पाकिस्तान र चीन रहेको सांघाई कोअपरेशन अर्गनाइजेसनमा पनि नेपाल सदस्य छ । यसरी हेर्दा नेपाल यस्तो ठाउँमा छ, जहाँ यसको कुटनीतिक क्षमता प्रदर्शन गर्ने हो भने क्षेत्रीय सहयोगमा पनि ठूलो भूमिका खेल्न सक्छ । भारत र चीनबीच अहिले देखिएको शीतयुद्ध अथवा भोलिका दिनमा हुन सक्ने युद्ध रोक्न सक्छ भने विश्व शान्तिमा पनि ठूलो भूमिका खेल्न सक्छ । त्यसरी नेपालले तयारी गर्नुपर्छ ।

तर कतिपय परराष्ट्र मामिलाका जानकारहरुले नेपाल आफ्नो कुटनीतिमा अझै कमजोर रहेको भन्छन् । वास्तविकता त्यो होइन । अहिले नेपालको परराष्ट्रनीति धेरै विकास गरेको छ । यदी परराष्ट्रनीति र कुटनीति बलियो नभएको भए चिनियाँ राष्ट्रपति सीको भ्रमण सम्भव थिएन ।

नेपालले सबैसँग मित्रता कायम गर्न र सम्बन्ध सन्तुलित राख्न धेरै कसरत गर्नुपर्छ । यसका लागि संवाद सबैभन्दा महत्वपूर्ण कुरा हो । संवाद कसरी थाल्ने ? अर्थात कसरी अगाडि बढाउने भन्ने कुरा चाहिँ सोच्नुपर्छ । कुटनीतिको परिभाषा भनेकै संवाद र छलफल हो ।

विश्वका ठुल्ठूला द्वन्द्व समाधान भएका संवाद र छलफलले हुन् । त्यसैले द्वन्द्व समाधान गर्न कुटनीतिको मूल मन्त्र भनेकै संवाद हो । छलफल हो । त्यो छलफल र संवादलाई नेपालले निरन्तरता दिनुपर्छ ।

हिजो पनि चीनसँग सम्बन्ध थियो । भारतसँग पनि सम्बन्ध थियो । अब दुबै देशसँग नयाँ किसिमको सम्बन्ध छ । दुवै देशसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने अवस्था छ । दुबै देशसँग सन्तुलित सम्बन्ध कायम राख्न सकियो भने मात्रै नेपालले दूरगामी महत्वका परियोजनामा सफलता हात पार्न सक्छ ।

रेल, सडक र सुरुङ !

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा २० बुँदामा सम्झौता भएका छन् । यसमध्ये सबैभन्दा बढी अपेक्षित र सम्भावित रेलमार्ग निर्माणको कुरा छ । केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन र सुरुङमार्गको निर्माणको कुरा छ । यसका केही प्राविधिक कुरा टुंगिन बाँकी छ ।

यसका लागि दुई देशबीच कार्यदल निर्माण गर्ने कुरा छ । खासगरी व्यापार, लगानी र सीमानाका व्यवस्थापनका लागि जुन कार्यदल बन्ने कुरा छ, यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।

सम्झौताका कुरामा रेलमार्ग निर्माण गर्ने, सुरुङमार्ग निर्माण गर्ने कुरा र सडक स्तरोन्नतिको कुरामा चिनियाँ प्रतिबद्धता महत्वपूर्ण छ । चीनले प्रतिबद्धता गरेको कुरा राष्ट्रपति सीसँग जोडिएको छ । भलै रेल र सुरुङमार्गको सम्भाव्यता अध्ययन र लगानी कसले कति गर्ने भन्ने कुरा खुलेको छैन । तर प्रतिबद्धता आउनु ठूलो कुरा हो । नेपालले यसमा ध्यान दिनुपर्छ ।

‘कनेक्टिभिटी’पछि लगानी र व्यापारमा दुवै देशबीच कार्यदल बनाउने कुरा महत्वपूर्ण सम्झौता हो । कुन परियोजना कसरी बनाउने ? लगानी कति गर्ने ? कसले गर्ने ? यसको नाफा, घाटा, जोखिम सबै कुरा त्यो कार्यदलले टुंग्याउँछ ।

अब यो कार्यदल बनाउँदा अलिकति ध्यान दिनुपर्छ । विज्ञता, योजना र क्षमता भएका व्यक्तिलाई कार्यदलमा समेट्न सकियो भने नेपाललको दिगो विकासमा चीनको सहयोग कोशेढुंगा सावित हुन सक्छ ।
यसका लागि नेपालले प्रतिबद्धता गरेर मात्रै हुँदैन । आग्रह नै गर्नुपर्छ । त्यो कार्यदलबाट गर्न सकिने काम हो ।

समग्रमा सीको भ्रमणका बेला जसरी नेपालले स्वागत गरेको छ, केही महत्वपूर्ण विषयमा सम्झौता गरेको छ । वर्षौंदेखि चासो र जनचासो रहेको रेलको कुरा, सुरुङ बन्ने पक्का जस्तै भएको छ ।

अब सम्झौता भएपछि नेपालले कार्यान्वयनमा खरो उत्रिन सक्नुपर्छ । चीनले बोलेपछि गर्छ भन्ने कुरा प्रमाणित छ । अब नेपालले पनि बोलेर पूरा गर्नुपर्छ । सम्झौता नै गरेपछि त्यसबाट पछि हट्ने कुरै आउँदैन । त्यसमाथि आफ्नै हितमा भएका सम्झौता सही रुपमा कार्यान्वयन भएपछि नै चीनसँगको नयाँ सम्बन्धले थप उचाइ लिन्छ ।

अर्कोतिर भारतको दबाब र प्रभाव उस्तै छ । यसलाई नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ । चीनबाट रेल आयो भने भारतबाट पनि रेल आउँछ । अहिले नै जयनगरदेखि जनकपुरसम्म रेल गुड्न सक्छ । विगतमा गुडाइएको पनि थियो ।

दुवै रेल नेपाल आए भने यसले नेपालले मात्रै होइन, चीन र भारतलाई पनि सहयोग पुग्छ । दुवै रेल नेपाल ल्याएर आफूलाई मात्रै होइन, भारतको सामान चीन पठाउन र चीनको सामान भारत पठाउन सक्ने ‘भिजन’ नेपालले राख्न सक्नुपर्छ । यदि नेपालले सहयोग र मित्रताको भिजन राख्न सकेन भने द्वन्द्व बढ्छ । द्वन्द्वले त कसैलाई पनि फाइदा गर्दैन ।

अन्त्यमा,

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन अबको आवश्यकता हो । सम्बन्ध र सहयोगभन्दा धेरै अघि बढिसकेको अवस्थामा सम्झौताको अक्षरश पालना नै अबको इमान्दारिता हो ।

यसका लागि जुन जुन निकायबीच सम्झौता भएको छ, जसले सम्झौता पालना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्, उनीहरु अग्रसर हुनुप¥यो । मेरो विचारमा यी सबै सम्झौता र सहकार्यको विषयमा अनुगमन, मूल्यांकन र सुक्ष्म ढंगले काम गर्ने छुट्टै टिम बनाए झन् राम्रो ।

त्यसका मातहतमा अरु समिति तथा उपसमिति बनाएर काम गरे प्रभावकारी हुन्छ होला । समिति तथा उपसमितिमा राजनीतिज्ञ, विज्ञ, कर्मचारी, दक्ष जनशक्ति राखेर काम गर्न सकियो भने सम्झौता कार्यान्वयन गर्न त सकिन्छ नै । चीनको विश्वास जितेर विकासे परियोजना छिटो सम्पन्न गर्न पनि उपयोगी हुन्छ ।

होइन भने एउटा दुई वटा मन्त्रालय, मन्त्रीले मात्रै काम गरेर हुँदैन । प्रधानमन्त्री कार्यालयदेखि सबै मन्त्रालय र बाहिर रहेका विज्ञहरुसमेत गरी साझा र संयुक्त कार्यदल बनाएर अघि बढ्न सकियो भने चीनले गरेका प्रतिबद्धता पूरा गराउन सकिन्छ । हामीले पनि हाम्रो तयारी राम्रो गर्न सक्छौँ ।

यसले गर्दा हाम्रो एउटै बोली हुन्छ । साझा बोली हुन्छ । त्यो प्रतिबद्ध र एकमतले गयो भने काम गर्न सजिलो हुन्छ । होइन भने त फेरि हाम्रो कमजोरी देखिन्छ । प्रतिबद्धताहरु पूरा गर्न सक्दैनन् । 

अन्त्यमा, चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण हामी नेपालीका लागि सपना थियो । मैले मेरै कार्यकालमा पनि भ्रमण गराउन धेरै प्रयास गरे । तर सार्थक हुन सकेन । अहिले जुन सीको भ्रमण भएको छ । यो ऐतिहासिक छ । सफल भएको छ । सीको भ्रमणमा पनि सहभागी हुन सके । यो भ्रमणका लागि चीनमा रहेको नेपाली राजदूतावासका सबै अधिकारीको भूमिका महत्वपूर्ण छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालसँगै अरुको काम पनि धेरै महत्वपूर्ण हुन्छ । बाहिरबाट नदेखिए पनि दुतावास कति खट्नुपर्छ भन्ने कुरा मलाई थाहा छ । त्यो म अहिले स्मरण गर्न चाहन्छु ।

सी नेपाल भ्रमण आएर जुन नेपालीको अपेक्षा थियो, त्योभन्दा पनि बढी सन्तुष्टी मलाई मात्रै होइन, सबै नेपालीलाई लागेको छ । सीको भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपाल चीनको एउटा असल र गहिरो मित्र हो भनेर सन्देश दिएको छ । अब त्यही नजरले हेरेर नेपालसँग अनुसारको व्यवहार गर्नुपर्छ भनेर सन्देश पुर्‍याएको छ ।

(चीनका लागि पूर्व राजदूत एवं परराष्ट्रविद् मास्केसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित )

अन्तिम अपडेट: कात्तिक ३०, २०७६

महेश मास्के

मास्के चीनका लागि पूर्व राजदूत एवं परराष्ट्रविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया