अर्घाखाँची कार दुर्घटना : ज्यान गुमाउने एकै परिवारका

 कात्तिक २०, २०७६ बुधबार १४:३१:५९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । त्यस्तै दुई जना घाइते भएका छन् । 

गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयो ।  

दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका २ मुर्गियाकी ८० वर्षीय दुर्गादेवी खड्का, उहाँका छोरा ४३ वर्षीय भक्तबहादुर खड्का र अर्का छोरा ३९ वर्षीय तिलबहादुर खड्काको ज्यान गएको हो ।  

त्यस्तै घाइते हुनेमा ४९ वर्षीय गंगाबहादुर खड्का र उहाँको जेठो दाजुका छोरा २५ वर्षीय विनोद खड्का रहेका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । 

कार सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको छ । ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया