साताका दुई चलचित्र: अघि अघि ‘घामड शेरे’ पछि पछि ‘जीवन काँडा कि फूल’

 कात्तिक २४, २०७६ आइतबार १४:५८:३६ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै - गएको शुक्रबारदेखि नेपाली कृतिमा आधारित चलचित्र जीवन काँडा कि फूल प्रदर्शनमा आएको छ ।

चलचित्रमा झमक घिमिरेकाे रुपमा राेजिता बुद्धाचार्य तथा उनका बावु र बहिनीका रुपमा क्रमश: किसान सुनार र सारिका घिमिरेले अभिनय गरेका छन् । सुनार र घिमिरेले सुशिल क्षेत्री समावेश भएको ‘आगो २’ बाट नेपाली रजतपटमा डेब्यु गरेका थिए । त्यसपछि दुवैैले केही चलचित्र खेले पनि खासै चर्चित हुन सकेनन् ।

यसै बीच किसानले ‘कैफियत’ र ‘परिणाम’ खेले । सारिकाले भने रामकुमारी झाँक्रीको जीनकथामा आधारित चलचित्र रामकुमारी खेलेपनि त्यो प्रदर्शन हुन सकेन ।

‘अहिलेसम्म झण्डै आधा दर्जन चलचित्रमा अभिनय गरेँ’ किसान भन्छन्, ‘तीमध्ये ऐतिहासिक र जीवन्त यो चलचित्र हुन्छ जस्तो लागेको छ जुन बन्दैनन्, जुन भूमिका मैले निर्वाह गरेको छु त्याे जो कोहीले अभिनयको अवसर पनि पाउँदैन ।’ 

निकै संघर्षपूर्ण जीवन बाँचेकी घिमिरेको पहिलो र सफल कृति ‘जीवन काँडा की फूल’नामबाटै निर्माण भएको यो चलचित्र बिनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।

किसान यो चलचित्रमा झमक घिमिरेको बुवाको भूमिकामा छन् जो आफ्नी छोरीका लागि भगवानसरह हुन्छन् । तर उनी छोरीको शारीरिक अपाङ्गताका कारण निर्दयी बन्न बाध्य छन् । 

‘खाइलाग्दो ज्यान घटाएर बाबु बन्नु सजिलो थिएन’, किसान आफ्नो भूमिकालाई प्रष्टयाउँदै भन्छन्, ‘त्यसमाथि अप्रिय शब्द बोल्नुपर्ने, रुखो व्यवहारदेखि छोरीको उपचारका लागि गर्नुपर्ने सबै प्रयास गर्नुपर्ने थियो । चलचित्रमा झमकको बुवाको भूमिकालाई धेरै मेहनत गरेर न्याय गर्ने कोसिस गरेको छु ।’

चलचित्रमा झमक सानो छँदाको भूूमिकालाई भारत सिलिगुडीकी अवस्था थापाले निर्वाह गरेकी छन् । चलचित्रको पोष्टरमा समेत अवस्थाकै तस्बिर छ । जसले झमक सानो हुँदाको हुबहु अभिनय गरेको भन्दै धेरैले प्रशंसा पनि गरेका छन् । 

यस्तै झमक ठूलो भएपछिको भूमिकामा काठमाण्डौकी रोजिता बुद्धाचार्य छिन् । झमकले सानोमा क ख रा लेख्न सिकेको र ठूलो भएपछि पुस्तक लेख्दाको अवस्था चलचित्रको सबैभन्दा बलियो पक्ष मानिएको छ ।

चलचित्रमा झमकको बहिनीको भूमिकामा भने सारिका घिमिरे छिन् भने आमाको अभिनय उमा गिरीले गरेकी छन् ।

‘चलचित्रमा कालो चश्मा लगाएर ‘हिरो’ बन्न सजिलो छ । तर एउटा कलाकारका रुपमा  दर्शकको मन जित्न त्यति सजिलो छैन’, किसान भन्छन्, ‘एकपछि अर्को प्रयास गर्दै जाँदा सफल भइन्छ भन्ने विश्वास हो । तर त्यसका लागि ‘हिरो’ होइन कलाकार नै बन्नुपर्छ ।’

झमकको भूमिकामा देखिएकी रोजिता र बहिनीको भूमिकामा रहेकी सारिकाको पनि यही अपेक्षा छ । किसान, सारिका र रोजिताको हकमा ‘जीवन काँडा कि फूल’ करियरको ‘टर्निङ प्वाइन्ट’ पनि हुन सक्छ । तर यसका लागि दर्शकले मन पराइदिनुपर्छ ।

एउटा जिउँदो इतिहासको साक्षी ! 

झमक जन्मेपछि शारीरिक रुपमा अपाङ्ग र व्यवहारिक रुपमा असामान्य थिइन् । २०३७ सालमा जन्मेकी झमकका दुवै हात चल्दैनन् । हात नचले पनि खुट्टाले लेखेको ‘जीवन काँडा कि फूल’ आत्मकथाले २०६७ सालमा मदन पुरस्कार जित्यो ।

मदन पुरस्कार जितेपछि झमक घिमिरेको चर्चा देश विदेशसम्म चुलियो । एउटा सशक्त नारी लेखकको संघर्षपूर्ण जीवन धेरैका लागि प्रेरणाको स्रोत पनि बन्यो ।  
पुस्तकमा झमक घिमिरेलाई पढ्दै जाँदा धेरैका आँखा रसाउँछन् । आफ्नो जीवन संघर्षका भोगाइहरु झमकका लागि जति प्रिय छन्, योभन्दा बढी सकारात्मक र सफलताको सन्देश झमकको लेखनले पाठकलाई दिएको छ ।

यसलाई हुबहु छायाँकन गरेर सबै नेपालीमाझ पुर्‍याउन निर्माता तथा निर्देशक बिनोद बिष्टलाई झमकको जीवन संघर्ष र पुस्तकले प्रेरित गर्‍यो ।

‘झमक घिमिरे फरक र जिउँदो इतिहास हुन्’, घिमिरेको कथा पर्दामा उतारेका निर्देशक बिष्ट भन्छन्, ‘जन्मेदेखिको संघर्ष एउटा सफलतामा बदलिनु र त्यसले विश्वभर प्रेरणा फैलाउनु नेपालीका लागि पनि गौरवको विषय हो । जसलाई जीवन्त राख्न मैले फिल्म निर्माण गरेको हुँ ।’

चलचित्रमा झमक घिमिरेलाई नेपाली ‘हेलेन केलर’का रुपमा पनि चिनाउन खोजिएको छ । विश्वमा अपाङ्गता भएर पनि ख्याति कमाएका स्टेफन हकिन्स र हेलेन केलरजस्तै नेपालमा झमक घिमिरे रहेको निर्माता तथा निर्देशक बिष्टको कथन छ ।

प्राय जिउँदो हुँदा बेवास्ता गर्ने र मरेपछि सम्मान दर्शाउने नेपाली प्रवृत्ति फेर्न जिउँदो साक्षीका रुपमा पनि यो चलचित्रलाई लिन सकिन्छ । जसले झमक घिमिरेजस्ता दुर्लभ श्रष्टालाई सम्मान मिल्छ भने दर्शकलाई उपहार ।

कृतिमाथि बनेका चलचित्रको त्यति सफल हुँदैनन् 

नेपालमा कृतिमाथि बनेका प्राय चलचित्रहरु सफल भएका छैनन् । कट्टेल सरको चोटपटकमा आधारित चलचित्र वासुदेव र सतीप्रथाका बारेमा लेखिएको कथा ‘झोला’ माथि बनेको चलचित्र सफल भए पनि अरु धेरैजसो चलचित्रले खासै सफलताको स्वाद चाख्न पाएका छैनन् ।

पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’माथि बाबुराम ढकालले चलचित्र निर्माण गरेका थिए । ‘झोला’ चलचित्रबाट सफलताको उचाइमा पुगेकी गरिमा पन्तलाई लिएर निर्माण भएको ‘तीन घुम्ती’ चलचित्रले दर्शकको मन जित्न सकेन ।

चलचित्रको विशेष प्रदर्शनीमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला आफैँ पुग्नुभएको थियो । तर धेरैले हेर्ने अपेक्षा गरिएको यो चलचित्र सफल नभएपछि निर्देशक ढकालले भनेका थिए, ‘नेपालमा कृतिमाथि बनेका चलचित्र दर्शकले हेर्दैनन् ।’

दृष्टिविहीन श्रृष्टि केसीको जीवन संघर्षमाथि बनेको चलचित्र ‘ब्लाइन्ड रक्स’ भने आंशिक रुपमा सफल भएको थियो । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रबाट अभिनेत्री बेनिशा हमालले प्रशंसा पाएकी थिइन् ।

हालै सुबिन भट्टराईको उपन्यास ‘समर लभ’माथि पनि चलचित्र बन्यो । युवा पुस्ताले प्रेमिल उपन्यासका रुपमा समर लभलाई रुचाएका थिए । यो पुस्तकबाट लेखक सुबिन भट्टराई रातारात सेलिब्रेटी पनि बने ।

तर उपन्यासमाथि बनेको चलचित्र भने दर्शकको रोजाइमा पर्न सकेन । उल्टै राम्रो चलचित्र बनाउन नसकेको भन्दै चलचित्र निर्माता र निर्देशकको आलोचना भयो ।

शुक्रबारदेखि ‘जीवन काँडा कि फूल’ अर्काे चलचित्र ‘घामड शेरे’ सँगै प्रदर्शनमा आएको हाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया