हिमालमा बढेको मिङ्मारको उचाइ : नामबाट राजा हटाएर पर्वतारोहणमा राज

 कात्तिक ३०, २०७६ शनिबार १५:३४:४६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

पैसा जति भए पनि अझै धेरै कमाउन मन लाग्छ । व्यवसाय अझै विस्तार गर्ने इच्छा हुन्छ । शक्ति, अझै खोजिन्छ । भनौँ मान्छेले शरीरको शक्ति हुँदासम्म भयो, पुग्यो भन्दैन । त्यसो भए सफलताको अन्तिम बिन्दु कहीँ छैन त ?

पर्वतारोहण गाइड मिङ्मार डेभिड शेर्पा भन्नुहुन्छ, ‘सफलताको अन्तिम बिन्दु पर्वतारोहणमा भेटिन्छ ।’ मानौँ सगरमाथा चढ्नेको अन्तिम लक्ष्य ८,८४८ मिटर उचाइ हो । शिखरमा पुगेपछि त्योभन्दा माथि जाने ठाउँ नै हुँदैन । र मान्छेले पाउँछ पूर्ण सफलता ।

शेर्पा भन्नुहुन्छ, ‘पूर्ण सफलताको अनुभूतिकै लागि मान्छे धन खर्चेर ज्यान धरापमा पार्छ ।’ त्यही पूर्ण सफलताको अनुभूति गर्न खोज्नेलाई डोहाेर्‍याउँदै ३० वर्षे मिङ्मार थुप्रै पटक शिखर पुग्नुभयो । संसारमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् । शेर्पाले १४ वटै अग्ला हिमालमा गरी २३ पटक शिखर चुम्नुभयो ।सगरमाथाको शिखरमा ६ पटक पुग्नुभयो । यसको मतलब उहाँ सगरमाथाभन्दा अग्लो भएको नै ६ पटक भयो । 

तर पनि शेर्पाले पूर्ण सफलताको अनुभूति गर्नुभएकै छैन । कारण पर्वतारोहण उहाँको व्यवसाय हो । आफूले डोहोर्‍याएका मानिस सफलताको चरमोत्कर्षमा पुग्दा शेर्पालाई भने उसको खुशी रोकेर आधार शिविरमा झार्नकै हतारो हुन्छ ।

शेर्पा भन्नुहुन्छ, ‘शिखरमा पुगेपछि मानिसको खुशीको सीमा हुन्न । उसले संसार नै भुल्न सक्छ । खुशीले उसको श्वास रोकिन सक्छ । अग्लो ठाउँमा धेरैबेर बस्न खोज्छ । जोडले चिच्याउन खोज्छ । उफ्रिन खोज्न । नाच्न खोज्छ । तर त्यो सबै ज्यानको लागि खतरा हो । त्यसैले गाइडले आरोहीलाई खुशीको सीमा तोकिदिएर तल झार्नुपर्छ ।’

पर्वतारोहण महँगो त छ नै, त्यो भन्दा बढी जोखिम छ । जोखिमलाई सहजतामा बदलेर आरोहीलाई शिखरमा पुर्‍याउनु आरोहण गाइडको काम हो । त्यही जोखिमलाई व्यवसाय बनाएका मिङ्मार हिमालको हिरो कहलिनुभएको छ । जसका लागि उहाँले १२ वर्ष साधना गर्नुभएको छ ।

अनि सुरु भयो जोखिमसँगको यात्रा

ताप्लेजुङको लेलेपमा ३० वर्षअघि जन्मिएका शेर्पा, गाउँले अभाव र संघर्षमै हुर्कनुभयो । उमेरमै माध्यमिक शिक्षा पूरा गर्न नपाउनु गाउँलेको साझा समस्या हो । कारण धेरै छन् ।

लेलेप जस्ता धेरै गाउँबासीका लागि काठमाण्डौ शहर घुम्न रहर हुन्छ । सन् २००७ मा कक्षा ९ मा पढ्दापढ्दै घुम्ने रहरले काठमाण्डौ आएका मिङ्मारलाई मधेश आन्दोलनले रोकिदियो । तर रोकिएको यही पाइला अर्को सफल बाटोतिर लम्किन थाल्यो । शेर्पाले हाँस्दै भन्नुभयो, ‘रोकेको हैन जीवनको बाटो खोलिदिएको हो ।’

तीन महिनासम्म पनि मधेश आन्दोलन रोकिएन । खर्च सकिएर सहयोग माग्ने ठाउँ पनि सकियो । केही त गर्नु पर्यो । जानेको काम भारी बोक्ने थियो । विदेशीको भारी बोकेर हिमालतिर जाने काम मिल्यो । जुन धेरैजसो शेर्पाको सुरुवाति बिन्दु हो ।

सिजनमा भारी बोकेर लेकतिर उक्लने, बाँकी समय पढेर प्राइभेट एसएलसी दिने सोच आयो । पढ्न थाल्नुभयो । सानो गाँठी भए पनि बलियो शरीर भएका शेर्पा भारी बोकेर हिमालका काखतिर घुम्न थाल्नुभयो ।

सन् २०१० मा मिङ्मारका लागि सगरमाथा चढ्ने अवसर आयो । जुन अपसर पर्वतारोहण क्षेत्रमा मजदुरी गर्नेको मुख्य लक्ष्य हो । सजिलोसँग यस्तो अवसर पाइँदैन । तर एसएलसीको परीक्षा दिने कि सगरमाथामा जाने ? दोधार भयो शेर्पालाई ।

जुक्ति फुर्‍यो, आधा परीक्षा दिएर जाने । चारवटा विषयको परीक्षा दिएर सगरमाथातिर उकालो लाग्नुभएका शेर्पाको पाइलासँगै प्रगति पनि चुलिन थाल्यो । अर्को वर्ष बाँकी एसएलसी पनि पूरा भयो ।

पहिलो प्रयासमै सगरमाथाको शिखरमा पुग्नुभएका शेर्पाले तिब्बतको शिशापाङ हिमाल चढेर संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसक्नुभयो । अहिलेसम्म नेपालका पाँच जनासहित विश्वका झण्डै ४५ जनाले मात्रै १४ वटा अग्ला हिमालको आरोहण पूरा गरेका छन् ।

यस बीचमा मिङ्मार अग्ला हिमालको चुचुरोमा २३ पुटक पुग्नुभयो । उहाँले सगरमाथा ६ पटक, मनास्लु ४ पटक, पाकिस्तानको के टु २ पटक र बाँकी हिमाल एक/एक पटक चढ्नुभएको हो । सबैभन्दा अग्ला १४ वटा हिमाल चढ्ने विश्वकै कान्छो आरोही बन्नुभएका शेर्पाले यो कीर्तिमानी गिनिज बुकमा लेखाउन प्रक्रिया थाल्नुभएको छ ।  यसअघि ६१ दिनको फरकमा सगरमाथा र के २ चढेर छोटो समयमा सगरमाथा–के २ चढेको रेकर्ड गिनिज बुकमा लेखाइसक्नुभएको छ ।

शेर्पा कुशल पर्वतारोहण गाइड र हिमाली उद्धारकर्ताको रुपमा चिनिनुहुन्छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को उद्धार संयोजकसमेत रहनुभएका उहाँ ट्राभल कम्पनी एलिट हिमालयन एकभेन्चरको निर्देशक पनि हुनुहुन्छ ।

नामै फेरियो

शेर्पा तथा तामाङ समुदायमा मंगलबार जन्मिएका बालकको नाम मिङ्मार राखिन्छ । धेरै मिङ्मार हुँदा कुन मिङ्मार चिन्न गाह्रो पर्ने भएकोले उहाँले आफ्नो नामको बीचमा डेभिड जोडिदिनुभयो ।

डेभिड जोडिनुको कारण चाहिँ हिमालमा जाँदा विदेशीसँगको संगत हो । नागरिकतामा मिङ्मार ग्याबु शेर्पा छ । ग्याबुको अर्थ राजा । फालिसकेको राजा पनि के राखिराख्नु भनेर उहाँ अहिले मिङ्मार डेभिड भनेरै चिनाउनुहुन्छ । नामबाट राजा शब्द हटाएका मिङ्मारले पर्वतारोहणको क्षेत्रमा राज गरिरहनुभएको छ ।

अब्बल गाइड

हिमाल जोखिमै जोखिमले भरिएका हुन्छन् । सेकेण्ड सेकेण्डमा मौसम बदलिन्छ । कतिबेला हिउँको पहिरो झर्छ थाहा हुन्न । हावाको वेगको त के कुरा मानिस नै उडाइदिन सक्छ । खर्पस र खाल्डाहरुले बारम्बार झुक्याउँछन् । हिउँ नदी बदलिरहेका छन् । कपडामा थोरै मात्र समस्या आयो भने औँलालाई हिउँले खाइदिन्छ । चस्मा केहीबेर छुटेमा आँखाको नानी खत्तम हुन्छ । अक्सिजनको त के कुरा शून्यमै  झर्न सक्छ ।

सबै जोखिमलाई साहसमा बदलेर आरोहीलाई शिखर पुर्‍याउने जिम्मा आरोहण गाइडको हुन्छ । भर्खरै जन्मेको बच्चालाई झैँ स्याहार गर्दै शिखर चढाउने मात्र हैन आधार शिविर ओराल्न पनि सक्नुपर्छ ।

मिङ्मार भन्नुहुन्छ, ‘कहाँ पाइला टेक्ने कहाँ नटेक्ने, के खाने कति खाने, कति पानी पिउने, कति समय उभिने, कति छिटो वा ढिला हिँड्ने ? कपडा कसरी सम्हाल्ने, कसरी भर्‍याङ चढ्ने, कसरी डोरीबाट माथि उक्लने, कहाँ जोखिम छ, कहाँ विश्राम लिन मिल्छ, कतै फसेमा निकाल्ने, उचाल्ने तान्ने, धकल्ने, आवश्यक परे बोक्ने सबै काम गाइडले गर्नुपर्छ ।’

हिमालको आधार शिविरमा टेन्ट टाँग्नेदेखि माथिल्ला शिबिर बनाउने, बाटो बनाउने सबै काम आरोहण गाइडकै हो । शिविर र खाना लगायतका सामग्री माथि पुर्‍याएपछि मात्र आरोहीलाई आधार शिविरबाट माथि लगिन्छ ।

सगरमाथाकै कुरा गर्ने हो भने ४० देखि ६० दिन आधार शिविरमा बस्नुपर्छ । त्यसबीचमा गाइडहरु ६/७ पटक चौथो शिविरसम्म आवातजावात गर्नुपर्छ । आरोहीको शरीरलाई अनुकूल बनाउन २/३ पटक उनीहरुलाई तेश्रो शिविरसम्म आवातजावात गराईन्छ । यी सबै जिम्मेवारी आरोहण गाइडको हुन्छ । त्यसैले ती काममा पोख्त भएका आरोहण गाइडहरु आरोहीको रोजाइमा हुन्छन् । यिनै कामलाई इमान्दारिताका साथ गरेकै कारण आफूले सफलता पाएको मिङ्मार बताउनुहुन्छ ।

नेपालमा अहिले झण्डै १५ सयको हाराहारीमा आरोहण गाइड छन् । तर कुशल गाइडचाहिँ थोरै छन् । धेरै विदेशिए । यहाँ आम्दानी कम भएकोले कुशल गाइडहरु विदेशिएको प्रति मिङ्मारको चिन्ता छ । अहिले आरोहण गाइडले विदेशीलाई हिमाल आरोहण गराउने कम्पनीसँग बार्गेनिङ गरेर पारिश्रमिक लिनुपर्ने अवस्था छ ।

यसबाट गाइडको आम्दानी र आरोहणको काम दुवैमा प्रभाव पर्ने भएकोले सरकारले कम्तीमा यति मापदण्ड पूरा भएको मात्र गाइड बन्न पाउने र कम्तीमा यति पारिश्रमिक हुनुपर्ने भन्ने यकिन गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

अहिले एक जना गाइडले एक जनालाई सगरमाथाको शिखर पुर्‍याएर फर्किएको तीन हजार डलरदेखि ३० हजार डलरसम्म लिने गरेका छन् । घाइते भएमा उपचारको लागि चार लाखसम्म, हेलिकोप्टरबाट रेस्क्यू गर्नुपरेमा १० लाखसम्म र ज्यान गुमाएमा १५ लाखसम्मको बीमा गर्ने व्यवस्था सरकारले गरेको छ । यो दायित्व सम्बन्धित कम्पनीको हुन्छ ।

हिमालको जोखिम, महँगो तालिम र उपकरण, महँगो व्यवसायिक क्षेत्रलाई हिसाब गर्दा आम्दानी निकै कम भएको शेर्पाको अनुभव छ । झण्डै दुई दशकअघि र अहिलेको आम्दानीमा खासै फरक नभएकोले समयअनुसार आम्दानी बढ्ने व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाइ छ ।

जोखिम धेरै छन् । हिउँमा चिप्लिएर आफ्नै अगाडि मानिसले ज्यान गुमाएको, खाडलमा फसेको, शिखर छेवैमा बिरामी परेर हेर्दाहेर्दै मानिस मरेको दृष्य देखेको मात्र हैन, आफू हिउँमा चिप्लिएर हत्केलाजत्रो चटानमा अड्किएर ज्यान गएको अनुभव पनि मिङ्मारसँग छ । जहाँ सेकेण्डभरमा सही निर्णय गर्नुपर्छ । के गर्ने भनेर तत्काल निर्णय गर्न नसकेमा ज्यान जाने भएकोले आफूसँग गएको आरोही बचाउन र आफू बच्न हर पल सजग रहनुपर्ने शेर्पाको भनाई छ ।

निर्मल पुर्जासँगको भेट

निर्मल पुर्जाले छोटो समयमा १४ वटै अग्ला हिमाल चढेको रेकर्ड बनाउनुभयो । निर्मलको अभियानलाई साकार बनाउने सशक्त व्यक्ति मिङ्मार पनि हो । निर्मलको योजना धेरै ट्राभल एजेन्सीले पत्याएनन् । तर गरे सकिन्छ भन्ने मिङ्मारले साथ दिनुभयो । योजना बनाउनुभयो । बेलायती सेनामा काम गरिसकेका निर्मल र कैयौंलाई हिमालको शिखरमा लगिसकेका मिङ्मार दुवै हिमालको योजना बनाउनमा पोख्त छन् ।

यति राम्रो योजना र टिम बन्यो कि निर्मलको अभियान तोकिएकै मितिमा पूरा भयो । मिङमारले यसअघि नै १४ मध्ये पाँचवटा हिमाल चढ्नुभएको थियो । निर्मलसँगै मिङमारले बाँकी ९ वटा हिमालको शिखर चुमे ।

युनियन अफ एसियन अल्पाइन एसोसिएशनले दिने  अवार्ड ‘शेर्पा अफ् दि इअर २०१९’ मिङ्मारले पाउनुभयो । जसलाई पर्वतारोहणको ओस्कार भनेर चिनिन्छ । सन् २०१७ मा दुवै खुट्टा नभएका हरिबहादुर बुढालाई ६४७६ मिटर अग्लो मेरापिक आरोहण गराउनुभएका मिङमारले ८० जनाभन्दा धेरैलाई हिमालबाट उद्धार पनि गर्नुभएको छ । 

जोखिमपूर्ण काममा एकपछि अर्को सफलताको राज के हो त ? मिङ्मार डेभिड भन्नुहुन्छ, ‘नयाँ केही गरिनँ, मात्र जागिर नसोचेर कामलाई पूजा गरेँ, जिम्मेवारी पूरा नगर्नु भनेको आफैलाई ठग्नु सम्झेँ ।’ 

 मिङ्मार डेभिड शेर्पाबाट प्राप्त तस्बिरहरु उहाँकै अनुमति लिएर प्रकाशित गरिएकाे

अन्तिम अपडेट: मंसिर १२, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया