सगरमाथा हेर्ने बार्दली !

 मंसिर ६, २०७६ शुक्रबार ८:७:५५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

तपाईंलाई आँखै अगाडि सगरमाथा हेर्ने रहर छ ? लामो हिमाली पदयात्रा, महँगी, समय अभाव जस्ता समस्याले सगरमाथा हेर्ने रहर पूरा भएको छैन भने तपाईंको लागि उपयुक्त गन्तव्य हुनुसक्छ, सोलुखुम्बु र ओखलढुङ्गाका सीमानामा रहेको पत्ताले डाँडा । 

पत्ताले डाँडा समुन्द्री सतहबाट झण्डै ३२ सय मिटर उचाइमा रहेको छ । न अत्याधिक चिसोले सताउने न त पदयात्रा गर्नुपर्ने झण्झट । काठमाण्डौबाट झण्डै २ सय ५० किलोमिटर कालोपत्रे सडक पार गरेपछि सजिलै पत्ताले पुगिन्छ । 

काठमाण्डौबाट बनेपा, नेपालथोक, खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै पुगिने पत्ताले जानको लागि पर्याप्त मात्रामा गाडीको सुविधा छ । 

हिमालको दृष्यावलोकन 

पत्तालेबाट सगरमाथा नजिकै देखिन्छ । सगरमाथाको आकर्षण दृष्यमात्र हैन झण्डै एक दर्जन हिमाल पत्तालेबाट देखिन्छ । सगरमाथासँगै नुम्बुर, लोत्से, गौरीशंकर, मेरापिक, कार्यालुङ, मकालु, कञ्चनजंगा, नुम्बुर, चोलाच्छे, ताबोचे, थामसेर्कु, पुमोरी, खुम्बुचे, चोयूलगायत हिमाल देखिन्छ । 

पत्तालेबाट देखिने सुर्योदयको दृष्य साँच्चै लोभलाग्दो हुन्छ । गौरीटापु, चाँगेस्थानलगायत धार्मिक स्थलका रुपमासमेत चिनिएको पत्तालेमा विभिन्न प्रजातिका लालीगुराँस र जडीबुटीसमेत पाइन्छ । पत्तालेमा शेर्पा, मगरलगायत जातिको बसोवास छ । 

खानेबस्ने सुविधा

पत्तालेमा सुविधा सम्पन्न होटल त छैनन् तर खान र बस्नको कुनै समस्या हुँदैन । हिमाली होमस्टे तथा मध्ययमस्तरका होटलहरुमा न्यानो सत्कार, मिठो परिकार र सुकिलो बिछ्यौना पाइन्छ । बुङमा रोपिएको आलुको परिकार, उच्च पहाडी भेगमा रोपिएको गहुँ, कोदो तथा फापरको ढिँडो, लोकल कुखुराको मासु, टिम्मुरको अचारलगायतका स्थानीय खानाको स्वाद पाइन्छ भने इच्छा अनुसार चलनचल्तीका खानेकुरा पनि पाइन्छ ।

तपाईं काठमाण्डौलाई केन्द्र बनाएर पत्ताले जाने सोचमा हुनुुहन्छ भने करिब पाँच हजार रुपैयाँ खर्च पर्याप्त हुन्छ । जसको लागि एक दिनमा पत्ताले पुगेर भोलिपल्ट बिहान दृष्यावलोकन गरी फर्कन सकिन्छ । यदि एक दिन आरामले घुम्न चाहनुहुन्छ भने आउन जानसहित तीन दिन लाग्छ । 

उपयुक्त मौसम

पत्ताले घुम्ने उपयुक्त समय कात्तिकदेखि वैशाखसम्म हो । यो बेला पत्तालेको मौसम खुला हुने हुँदा सगरमाथा लगायतका हिमश्रृंखला छर्लङ्ग देखिन्छ । नुम्बुर हिमाल निकै नजिक छ भने अरु हिमालको दृष्य पनि सजिलै देखिन्छ । दर्जनौँ हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर लिन पत्ताले उपयुक्त ठाउँ हो । 

चैत वैशाखमा लालीगुराँस लगायतका गुराँसले बनै रंगीन हुन्छ । लेकाली चाउरहरुमा रमाउनका लागि आन्तरिक पर्यटकको घुईंचो लाग्ने गरेको छ । पत्तालेमा हिमाली होमस्टे सञ्चालन गर्ने प्रकाश मगर भन्नुहुन्छ ‘अहिले बिहान घुम्न आउने तथा रात बिताउने पर्यटकसमेत बढिरहेका छन्, मुख्य आकर्षण सगरमाथालगायतका हिमालसहित सूर्योदयको दृष्य हो ।’

– तस्बिर : प्रकाश मगर 

अन्तिम अपडेट: चैत ५, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • devendra joshi

    Jan. 7, 2020, 7:03 p.m.

    i want to go patale dada.can i book hotel

  •  0 Reply

तपाईको प्रतिक्रिया