छोरालाई सम्झाउँदै, बुहारीलाई पढाउँदै

 मंसिर ८, २०७६ आइतबार १३:५१:५९ | उज्यालो सहकर्मी

 

बर्दियाको मधुवनकी उषा लिम्बू २०६९ सालमा कक्षा १० मा पढ्दै हुनुहुन्थ्यो । त्यतिबेला बाँकेका रविन बुढाथोकी मधुवनको कर्णाली विकास बैंकमा काम गर्न पुग्नुभयो । विद्यालय आउनेजाने क्रममा उषालाई देखेपछि रविनले मन पराउनुभयो । यो कुरा उषालाई थाहै थिएन । रविनले योे कुरा उषाको घरमै आएर आमालाई भनिसक्नुभएको थियो ।

आमाले सानै उमेरमा बिहे गर्न हुँदैन भन्दा पनि रविनले मान्नुभएन । उषाको बिहे गर्ने उमेर नपुगेकाले रबिनकी आमा खिमा बुढाथोकीले पनि बिहे नगर्न सुझाव दिनुभयो ।

आफूले सानै उमेरमा बिहे गर्दा निकै समस्या भोग्नुपरेकाले आफ्नै जस्तो दुःख उषाले नभोगुन् भन्दै उषाको माइतीमै पुगेर सम्झाउनुभयो, रविनकी आमा खिमा बुढाथोकीले । खिमाले छोरा र उषा दुवैलाई सम्झाइबुझाइ गरेको तीन दिनपछि २०६९ साल मंसिरमै रविनले उषालाई भगाएर बिहे गर्नुभयो ।

एसएलसीको परीक्षा दिएर बिहे गरेकी उषालाई बिहे गरेपछि सम्बन्ध टिकाउन गाह्रो भयो । रविन भएको जागिर छोडेर घरमै बस्न थाल्नुभयो । बिहेपछि उषाको जिम्मेवारी थपियो । बच्चा जन्मियो । पढाइ दुई वर्ष रोकियो । सासुकै सल्लाह र सहयोगले उषाले पढाइलाई निरन्तरता दिनुभयो ।

सासू खिमाले बुहारी उषालाई पढाउन बाँकेको नेपालगञ्जमै पढ्न  र बस्न बन्दोबस्त मिलाउनुभयो । श्रीमती नेपालगञ्ज र श्रीमान घरमै बस्दा उषा र रविनको दिनहुँ झगडा पर्न थाल्यो ।

छोरा बुहारीको सम्बन्ध टिकाउन खिमाले पुलको काम गर्नुपर्‍यो । एकातिर छोरालाई सम्झाउने, अर्कोतिर बुहारीलाई पढाउने ।

खिमाको आफ्नै पनि सानै उमेरमा बिहे भएकोले त्यो उमेरमा बुहारी बन्दाकोे समस्या कस्तो हुन्छ भन्ने थाहा थियो । आफूले जस्तो दुःख बुहारीले नपाउन भन्दै खिमाले उषालाई सहयोग गरिरहनु भयो । उषासँग अहिले ४ वर्षको छोरा पनि छ । बिहे गरेको ४ वर्षसम्म शिक्षण पेशा गरेकी उषा अहिले महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि अभियानमा सहजकर्ताको रुपमा काम गरिरहनु भएको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडानम्बर ५ मा रहेको लालीगुँरास सामुदायिक छलफल केन्द्र र वडानम्बर ४ मा रहेको सगरमाथा सामुदायिक छलफल केन्द्र गरी दुई वटा सामुदायिक छलफल केन्द्रमा सहजकर्ताको रुपमा बाल विवाह तथा महिला हिँसा अन्त्य गर्ने काममा समुदायका महिला र किशोरीलाई सम्झाइरहनु भएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया