पौरखी वडाध्यक्ष भन्छन् : काम गरेर खान के को लाज ?

 मंसिर ९, २०७६ सोमबार १६:३८:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – बिहानको आठ बजेको समय, त्यसमाथि नरपानीको चिसो । सबै जना जाडोमा ‘सिउसिउ’ गरिरहेका थिए । त्यही चिसो मौसममा सन्धिखर्क नगरपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य नरपानीको बजारमा मोटरसाइकलमा दूध बेचिरहनु भएको थियो ।  

गएको ५ वर्षदेखि आचार्यले सन्धिखर्क नगरपालिका ६ नरपानीको जगातमा रहेको आफ्नो घरमा उत्पादन भएको दूध नरपानीमा लगेर बेच्ने गर्नुभएको छ । झरी, बादल, पानी केहीले पनि उहाँलाई रोकेको छैन । वडाध्यक्ष भएर पनि उहाँले दूध बेच्ने कामलाई निरन्तरता दिनुभएको छ । 

‘आफ्नो काम गरेर खान के को लाज ? कृषकको छोरा हूँ, कृषि नै मेरो मुख्य पेसा हो । दूध, तरकारी बेचेरै मेरो घर खर्च चलेको छ । त्यसैले यो कामलाइ निरन्तरता दिएको छु,’ वडाध्यक्ष आचार्यले भन्नुभयो ।  

जनप्रतिनिधिहरु कामभन्दा पनि पैसा कमाउन लागिरहेका छन् भन्ने समाचार आइरहँदा सन्धिखर्क नगरपालिका ६ का वडाध्यक्ष आचार्य भने दैनिक बिहान दूध बेच्न मोटरसाइकलमा नरपानी पुग्नुहुन्छ । 

‘समाज भन्छ– दूध बेचे गोठालो रे, तरकारी बेचे कृषक रे, जनताको सेवा गरे नेता रे, फरक यतिमात्र हो । नेतालाई सबैले नमस्कार गर्छन् । कृषक दूध लिएर बजार र गल्लीको ढोकाढोकामा पुग्दा हेराइ नै फरक पर्छ । म आफू वडाध्यक्ष भएर यी तीन वटै कामलाई निरन्तरता दिएको छु’, उहाँले भन्नुभयाे । 

आफैले नगरेसम्म अरुलाई भनेर मात्र हुँदैन, परिवर्तन आफैबाट गर्नुपर्छ भन्ने मान्यता लिएर सुरु गरेको कृषि पेसाबाट आचार्यले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले कृषिबाट आम्दानी गर्न गर्नुभएको छैन, सबै राजनीतिकर्मी र जनप्रतिनिधिको उदाहरणको पात्र समेत बन्नुभएको छ ।  

उहाँको घरमा अहिले दुई वटा उन्नत जातका मुर्रा भैँसी र एउटा जर्सी गाई दुहुनो छ । दैनिक बिहान सरदर १२ लिटर दूध नरपानी लगेर बेच्ने गरेको उहाँले बताउनुभयो । उहाँ दूध बेच्न घरघर पुग्नुहुन्छ । बेलुकाको दूध घरबाटै बिक्री हुन्छ । उहाँले भन्नुभयो, ‘दूध बेचेरै खर्च कटाएर महिनामा २० हजार बचाएको छु ।’ 

उहाँ घरबाट मोटरसाइकलमा दूध बोकेर आठ किलोमिटर कच्ची बाटो पार गर्दै बजारसम्म पुग्नुहुन्छ । ‘अरुले भाषण मात्र गर्छन्, म काम पनि गर्छु । काम नगरि हुँदैन भन्ने अनि केही पनि नगर्ने प्रवृत्तिका कारण देश बिग्रिएको हो’, आचार्यले गुनासो गर्नुभयो । 

दूधसँगै उहाँले तरकारी बेचेर पनि मनग्य आम्दानी गर्दै आउनु भएको छ । बेमौसमी तरकारी खेती गरेर वर्षमा खर्च कटाएर चार लाख रुपैयाँ आम्दानी हुने उहाँले बताउनुभयो । ‘सबै काम नपाएर विदेशिएका छन् । गर्ने हो भने हाम्रै माटोमा सुन फलाउन सकिन्छ । मात्र जाँगर हुनपर्छ’, उहाँले भन्नुभयो ।  

उहाँ बिहान, बेलुका घरमा भैँसी र गाईको स्याहार गर्नुहुन्छ । दिउँसो वडा कार्यालयमा गएर काम गर्नुहुन्छ । बिदा र फुर्सदको समयमा तरकारी बारीमा काम गर्नुहुन्छ । समय मिलाएर सबै क्षेत्रमा काम गर्दै आइरहनु भएको छ । 

‘वडाध्यक्षहरु काम नगर्ने अनि भाषण गरेर अरुलाई सिकाउने मात्रै गर्छन् ।  अध्यक्ष भएपछि त काम गर्नुहुँदैन भन्ने सोच राखेका हुन्छन् । राजनीति गर्ने मानिसले अरुलाई देखाउन र आकर्षित गर्न केही गर्नुपर्छ । राजनीति गर्न आफू सक्षम हुनुपर्छ, आफै व्यवसाय गरे मात्र अरुलाई सिकाउन सकिन्छ’, उहाँले भन्नुभयो । 

काम गर्न समय छैन भन्नेका लागि आचार्य उदाहरणीय पात्र बन्नुभएको छ । यसबाट अन्य जनप्रतिनिधिले सिक्न सक्छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया