हिमाली दौड : जसले नेपालको प्रचार गर्छ

 मंसिर १६, २०७६ सोमबार १४:२४:१४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

हामी कहीँ न कहीँ दौडिएकै छौँ । शरीर स्वस्थ बनाउन दौडनु र काम भ्याउनकै लागि दौडनुबारे हामी धेरै जानकार छौँ । गाउँघरमा गोठाला जाँदादेखि विद्यालय भ्याउन पनि दौडनुपर्छ ।

यही दौडले नेपालमा विदेशी पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । ३१० किलोमिटर लामो सोलुुखुम्बु ट्रेल रेसको आयोजक संस्था द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पा भन्नुहुन्छ, ‘नेपालमा पर्वतारोहण र टुर प्याकेज जस्तै स्पोर्टस् प्याकेजको पनि सम्भावना छ ।’

स्पोर्टस् प्याकेजमा धेरै सम्भावना छन् । जसमा म्याराथन, स्टेप रेसलगायत विभिन्न प्रकारका दौड पनि धेरै सम्भावना भएका खेल हुन् । दौडँदै स्वच्छ हावा, हिमाली दृश्य, पहाडका जंगल, नदी, झरना, गाउँले जनजीवन, संस्कृतिलगायतको अनुभूति गर्न पाउँदा मानिस दंग पर्छन् । यस्ता पदमार्ग नेपालमा धेरै छन् ।

१७२ किलोमिटर लामो एभरेष्ट ट्रेल रेसको नवौं संस्करण सफल पारिसकेको अन्नपूर्ण एक्सपिडिसनका कार्यकारी निर्देशक कामी शेर्पा भन्नुहुन्छ, ‘हिमाली क्षेत्रमा आयोजना गर्न सकिने धेरै खेल प्रतियोगितामध्ये विभिन्न किसिमका दौडको सम्भावना प्रबल छ ।’

विदेशी पर्यटक सहभागी हुने दौड

सगरमाथा दिवसको अवसरमा हरेक वर्षको मे २९ मा एभरेष्ट म्याराथन प्रतियोगिता आयोजना गरिन्छ । सगरमाथाको आधार शिविरबाट नाम्चेसम्मको ४२ किलोमिटर लामो एभरेष्ट म्यारथनसँगै हिमालय एक्सपिडिसनले ६० किलोमिटर लामो अल्ट्रा रेस पनि आयोजना गर्छ । एभरेष्ट म्यारथनको १७ औं संस्करण गएको मे २९ मा सम्पन्न भयो ।

सोलुखुम्बुको जिरीबाट दौडेर सगरमाथाको आधार शिविर पुगी लुक्ला फर्कने १ सय ८० किलोमिटरभन्दा लामो एभरेष्ट ट्रेल रेसको नवौं संस्करण यो वर्ष सम्पन्न भयो । सडक खन्दा पदमार्ग बिग्रिएकोले यो वर्ष सोलुखुम्बुको पत्तालेबाट सुरु भएको एभरेष्ट ट्रेल रेस १७२ किलोमिटरमा छोटो भयो । यो स्टेप रेसमा हरेक दिन तोकिएको दूरी पार गरिन्छ ।

यस्तै यस वर्ष हरेक दिन तोकिएको दूरी पार गर्दै दौडने ३१० किलोमिटर लामो सोलुखुम्बु ट्रेल रेस सम्पन्न भएको छ । द स्मल वर्ल्डले आयोजना गरेको १५ दिने सोलुखुम्बु ट्रेल रेसमा धावकहरुले दौडसँगै गुम्बाबास, होमस्टेबास, विभिन्न संस्कृति अवलोकन गरेका छन् ।

टेम्केडाँडालाई प्रवर्द्धन गर्न मुन्दुम ट्रेल रेस, सिन्धुपाल्चोकमा हेलम्बु ट्रेल रेस, कास्की ट्रेल रेसलगायतका दौडमा पनि विदेशी धावक सहभागी भएका छन् । 

मध्यम वर्गका पर्यटक आकर्षित हुन्छन्

नेपालमा आफै खानेकुरासहित बन्दोबस्तीका सामान बोक्नेदेखि हजारौँ डलर खर्च गर्ने पर्यटक आउँछन् । महँगो प्याकेजका रुपमा रहेको पर्वतारोहण गर्ने पर्यटक उच्च स्तरका हुन्छन् । पदयात्रा, पुरातात्विक सम्पदा, संस्कृतिको अवलोकन, मनोरञ्जनलगायतका लागि मध्ययम स्तरका पर्यटक आउँछन् । धार्मिक तथा घुमफिरका लागि सामान्य पर्यटकहरु पनि आउँछन् ।

नेपालमा आउने पर्यटकको संख्यामा भारतबाट आफ्नै गाडीमा खानेकुरासहित आएर फर्कने पर्यटक पनि धेरै हुन्छन् । नेपालमा उच्चस्तरका पर्यटकका लागि खर्च गर्ने ठाउँ तथा संरचना कम भएकोले अहिलेका लागि मध्यम स्तरका पर्यटक नै बढी फाइदाजनक हुने व्यवसायीहरु बताउँछन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आयोजना गरिने विभिन्न किसिमका दौड प्रतियोगिताले नेपालमा मध्ययम वर्गका पर्यटक भित्राउन सहयोग पुग्ने द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पा बताउनुहुन्छ । अन्नपूर्ण एक्सपिडिसनका कार्यकारी निर्देशक कामी शेर्पा पनि दौडका लागि मध्यम स्तरका पर्यटकहरु आउने गरेका र उनीहरुमार्फत त्यही वर्ग बढी आकर्षित हुने बताउनुहुन्छ ।

दौडलाई प्याकेजका रुपमा बेच्न सकिन्छ

दौड प्रतियोगितालाई नेपालमा भ्रमण गर्ने प्याकेजकै रुपमा बिक्री गर्न सकिने प्रशस्त संभावना रहेको पर्यटन व्यवसायी कर्मा शेर्पा बताउनुहुन्छ । शेर्पा भन्नुहुन्छ, ‘सन् १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेपछि सुरु भएको पर्वतारोहण प्याकेज अहिले देशकै उच्च स्तरको भ्रमण प्याकेज बनेको छ ।

नेपाल आउने पर्यटकको ठूलो हिस्सा टुर र माउण्टेनेरिङ झण्डै ६० वर्षमै संसारको रोजाइ बनेको छ । यदि हिमाली क्षेत्रमा विभिन्न किसिमका दौड प्याकेज आयोजना गर्ने हो भने दौड पनि विश्व बजारमा बिक्री गर्न सकिने गतिलो प्याकेज बन्नसक्छ ।’

एभरेष्ट ट्रेल रेस आयोजना गर्दै आएको अन्नपूर्ण एक्सपिडिसनका कार्यकारी निर्देशक कामी शेर्पा पनि नेपालमा उच्च पहाडी र हिमाली क्षेत्रमा विभिन्न किसिमका खेलहरु आयोजना गर्न सकिने र दौड धेरै बिक्री गर्न सकिने प्याकेज बन्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हिमाली क्षेत्रमा स्काई ड्राइभिङ, स्केटिङ, बाइकिङ, साइक्लिङलगायतका सम्भावना पनि प्रशस्त छन्, अहिलेकै संरचनामा म्याराथन, स्टेप रेसलगायतका दौडको सम्भावना प्रशस्त छ, हामीले यसको प्रचार गरिरहेका छौँ, अहिले विश्व बजारमा चिनिन थालेको छ ।’

दौडले नेपाललाई चिनाउँछ

देशलाई विश्वमा चिनाउने महत्वपूर्ण माध्ययम खेल हो । यही कारण विश्वका धेरै देशले खेललाई प्राथमिकतामा राखेका छन् । कोही खेल्छन्, कोही खेलाउँछन्, कोही खेलाडीको प्रयोग गर्छन् । त्यस्ता खेल धेरै किसिमका हुन्छन् ।

नेपालको हिमाली क्षेत्रमा दौडका विभिन्न प्रकारको सम्भावना रहेको म्यारथन तथा स्टेप रेस आयोजना गरिरहेकाहरु बताउँछन् । यस्ता दौडमा विश्वमा नामी धावकहरु सहभागी हुने भएकोले उनीहरुको माध्ययमबाट सजिलै नेपालको चिनारी हुने एभरेष्ट ट्रेल रेसको आयोजक संस्थाका कार्यकारी निर्देशक कामी शेर्पा बताउनुहुन्छ । 

शेर्पा भन्नुहुन्छ, ‘हामी एउटा धावक देख्छौँ तर उसको पछाडि १०औं हजार मानिस हुन्छन् । धावक नेपाली भूमिमा दौडँदै गर्दा उसको चर्चा सम्बन्धित देशका सञ्चार माध्यममा हुन्छ । धावक फर्किएपछि उसको देशका सञ्चार माध्ययले अनुभव सोध्छन्, यहाँका रमणीय ठाउँको फोटो÷भिडियो प्रसारण हुन्छ, यसबाट हाम्रो देशको प्रचार भैरहेको हुन्छ ।’

विदेशी पर्यटक नेपाल ल्याउन यहाँ भौतिक निर्माणको काम गर्नुपर्ने र सकेसम्म धेरै प्रचार पर्यटक आउने देशमा गर्नुपर्नेमा शेर्पा जोड दिनुहुन्छ । जसका लागि सामाजिक सञ्जालमा धेरै खोजिने धावकहरुले राखेको सानो सामाग्रिले पनि धेरै महत्व राख्ने शेर्पा बताउनुहुन्छ । नेपालमा दौडिएका धावक वा हिमाली पदमार्गमा हिँडेकाहरुले यहाँको प्राकृतिक सम्पदाको धेरै प्रचार गरेको भन्दै शेर्पा सम्बन्धित देशमा सेलिब्रेटी बनेका धावकहरु आउँदा त्यो देशबाट आउने पर्यटकको संख्या बढ्ने बताउनुहुन्छ ।

द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पा पनि नेपालाई विश्वसामु चिनाउन म्याराथन, स्टेप रेसलगायतका प्रतियोगिता उपयोगी हुने बताउनुहुन्छ । यस्ता खेलमा विदेशी धावक आउँदा उनीहरुले आफ्नो देशमा गएर हाम्रो प्राकृतिक रमणीयताको धेरै चर्चा गर्ने गरेको र यसबाट टुर प्याकेजका पर्यटक निकै बढ्ने शेर्पा बताउनुहुन्छ । 
एभरेष्ट म्याथन, एभरेष्ट ट्रेल रेस लगायतका प्रतियोगिता जितिसकेका सुमन कुलुङ यस्ता दौडमा सहभागी हुने धावकहरुले नेपालको सुन्दरताका बारेमा आफ्नो सामाजिक सञ्जाल तथा आफ्नो देशमा सञ्चार माध्यममार्फत प्रचार गर्ने गरेको बताउनुहुन्छ । 

दौड धेरैतिर जोडिन्छ

केही समयअघि सम्पन्न ३१० किलोमिटर लामो सोलुखुम्बु ट्रेल रेस १५ दिन चल्यो । दौडका क्रममा धावकहरुलाई कहिले गुम्बामा बास राखियो त कहिले घरबासमा । धावकहरुलाई शेर्पाको स्याबु्रलगायतका संस्कृति पनि देखाइयो । आयोजक द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पा भन्नुहुन्छ, ‘दौडसँगै गाउँघरमा व्यापार भएको छ र धावकहरुले हाम्रो संस्कार/संस्कृतिको बारेमा जानकारी पनि पाएका छन् ।’

विभिन्न ठाउँमा बास बस्दै दौडने प्रतियोगिताबाट धेरै क्षेत्रको प्रवर्द्धन हुने शेर्पा बताउनुहुन्छ, ‘हामी ‘गुम्बामा बस्छौँ त्यहाँको बारेमा जानकारी गराउँछौं, घरवास (होमस्टे)मा बास बस्छौँ । त्यहाँ स्थानीय परिकार खुवाउँछौं, स्थानीयबासिन्दाको थोरै भए पनि व्यवसाय चल्छ, विभिन्न ठाउँका संस्कार संस्कृति देखाउँछौं, यी सबैको प्रचार धावकमार्फत हुन्छ, जोड्न सकिने अरु धेरै कुरा हुन्छन्, सरकारले यसतर्फ चासो दिनुपर्छ ।’

धावक दौडेको ठाउँमा फेरि अर्को धावक मात्रै हैन, पदयात्रा गर्ने अरु धेरै विदेशी पर्यटकहरु आउने व्यवसायीहरु बताउँछन् ।

जोगाउनुपर्छ पदमार्ग

आठ वर्षसम्म दोलखाको जिरीबाट सगरमाथा क्षेत्रतर्फ दौडाईने एभरेष्ट ट्रेल रेस यो वर्ष सोलुखुम्बुको पत्तालेबाट दौडाइयो । रेस आयोजक संस्थाका कार्यकारी निर्देशक कामी शेर्पा भन्नुहुन्छ, ‘जथाभावी सडक खनेर पदमार्ग मासिएपछि बाध्य भएर पत्ताले पुग्नुपर्यो । सडक खनेका कारण उहिलेदेखि मानिस हिँड्ने पदमार्गको चिन्हसमेत नरहेकोले पत्ताले हुँदै नयाँ मार्ग खोज्नुपर्यो । विदेशी धावकलाई स्पष्ट पदमार्ग नभएको ठाउँमा दौडाउँदा त्यसको सन्देश नराम्रो हुने शेर्पा बताउनुहुन्छ ।

नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा पदमार्गको संभावना धेरै रहेको भए पनि अहिले जथाभावी सडक खन्ने क्रमले पदमार्ग नै मासिंदै गएको भन्दै शेर्पा भन्नुहुन्छ, ‘हाम्रा नदी, झरना, पदमार्ग, हिमाल तथा जंगललाई यही अबस्थामा जोगाएमा यहाँ पर्यटक आउने धेरै संभावना छ, तर विडम्बना अहिले डोजर आतंकले मासिने क्रम बढेको छ ।’

कर्मा शेर्पा पनि पदमार्ग मासिने क्रम बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहाडी भेगमा पनि सडक सुविधा चाहिन्छ तर पदमार्ग मास्नुहुन्न ।’ कहाँको पदमार्ग कसरी जोगाउने भन्ने स्पष्ट योजना बनाएर मात्रै सडक खन्नुपर्ने उहाँको भनाइ छ । पालिकाहरुले जथाभावी सडक खन्ने क्रम बढ्नु तथा नदी जंगलको दोहन बढ्नुले प्राकृतिक सम्पदामा क्षती पुग्नुको साथै पर्यटन व्यवसायमा पनि समस्या आउन थालेको व्यवसायीहरु बताउँछन् ।

हिमाली दौड महत्वपूर्ण हुन्छ : पर्यटन विभाग

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका हिमाली क्षेत्रमा दौडलगायतका खेलहरुको सम्भावना धेरै रहेको बताउनुभयो ।

आफूहरुले पनि पदमार्ग निर्माणलगायतको काम गरिरहेको भन्दै महानिर्देशक घिमिरेले व्यवसायीलाई एभरेष्ट म्यारथन, एभरेष्ट ट्रेल रेस जस्ता अरु पनि प्रतियोगिताहरु गर्न प्रोत्साहन गर्ने बताउनुभयो । महानिर्देशक घिमिरेले भन्नुभयो, ‘नेपालका बारेमा प्रभारका लागि विदेशी धावक अति उत्तम माध्यम हुन सक्छन्, हामी यस्ता गतिविधिलाई प्रवर्द्धन गर्छौँ ।’

नेपाल हिमाल र पहाड धेरै भएको देश हो । भौगोलिक विकटतामा रुपमा चिनिने ती ठाउँ विदेशीलाई देखाएर पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने धेरै सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।

मध्यम र उच्च वर्गका पर्यटकलाई नेपाल भित्र्याउनका लागि प्रचार गर्न उच्च पहाड तथा हिमाली क्षेत्रमा आयोजना गरिने विभिन्न दौड महत्वपूर्ण हुने भएकोले यसको लागि आवश्यक पूर्वाधार तयारसँगै कार्यक्रमहरु आयोजना गर्न सरकारले वातावरण बनाउनुपर्ने व्यवसायीहरु बताउँछन् ।

फोटो सौजन्य : कर्मा शेर्पा, द स्मल वर्ल्ड  

अन्तिम अपडेट: चैत १४, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया