चुलो चौकोमा सीमित महिला सीप पाएपछि उद्यमी

 मंसिर १७, २०७६ मंगलबार ११:५८:३८ | सुजता सुनुवार

इलाम – तपाईँ के काम गर्नुहुन्छ भनेर सोध्ने हो भने धेरै महिलाको जवाफ हुन्छ, म गृहिणी । तर काम सबैभन्दा बढी उनीहरु नै गर्छन् ।

काम जति गरे पनि घर भित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाई हात लाग्दैन । न काम छ भन्न सकिन्छ, न त काम गरेको कसैले देख्ने या हिसाब हुने ।

तर इलामको माई नगरपालिकाका १२ जना महिलालाई गृहिणी मात्रै भन्नु परेको छैन । घरधन्दा सकाएका छन्, बाहिर निस्किएर काम गरेका छन् । धेरथोर दाम पनि कमाएका छन् ।

उनीहरुलाई कामकाजी बनाउन नगरपालिकाले सहयोग गरेको छ । नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामको सहकार्यमा उनीहरूले तालिम लिए ।

तालिम अनुसारको कामको लागि नगरपालिका अन्तर्गत वडा कार्यालयमा छुट्याएकोे बजेट बिऊ पुँजीको रुपमा पाए । र त्यहीं सिकेको सीप अनुसार दालमोठ बनाएर बेच्न थाले ।

त्यसमा केही आफूले पनि लगानी गरेका छन् । ज्यालाको लागि अरुको काममा दिनहुँ खटिनु परेको छैन । गरे आफ्नै कमाई, नगरे आफैंलाई नोक्सान । काम गर्दा दैनिकी चलाउन साहु गुहार्नु परेको छैन । आफैं उत्पादन गर्छन् । उत्पादन स्थानीय बजारमै बिक्छ ।

पहिले गाउँकै बजारमा बाहिरबाट दालमोठ आउँथ्यो । अहिले उनै महिलाले बनाएको दालमोठले स्थानीय बजार धानिरहेको छ । ‘वडाले ७५ हजार रुपैयाँ छुट्याएको थियो, १२ जनाले तालिम लियौं, त्यही रकमलाई बिऊ पुँजी बनाएर लघु उद्योग सञ्चालन गरेर १२ जना महिला स्वरोजगार बनेका छौं’ तालिम लिएर उद्यमी हुनुभएकी कल्पना फागा भन्नुहुन्छ,‘समूहमा आवद्ध कतिका श्रीमान् विदेशमा छन्, यहाँ हामीले पनि आम्दानी हुने काम गरिरहेका छौं ।’

नगरपालिकाले अघिल्लो वर्षकोे बजेटमा पाँच दिने दालमोठ–भुजिया बनाउने तालिम दिएको कल्पना बताउनुहुन्छ । ‘यही तालिमबाट सिकेको सीपले हामीलाई काम गर्ने ठाउँ भयो’, उहाँ भन्नुहुन्छ, ‘घरेलुबाट पनि सहयोग पाएपछि झन सजिलो भयो ।’ सीप नहुँदा काम पनि थिएन ।

त्यसैले दिनभरी घरधन्दा र फुर्सदको समयमा घरमा बसेरै दिन जान्थ्यो उद्यमी इन्द्रकुमारी राईको । तर अहिले तालिम लिएपछि उहाँलाई यसै बस्नु परेको छैन । उहाँहरुले बनाएको दालमोठ भुजिया सबैले मन पराएका छन् ।

बजारमा मज्जाले नै बिकिरहेको छ । सुरुका दिनमा पाँच किलो मैदाको दालमोठ बनाउने गरेका थिए । माग बढ्दै जाँदा १५ किलो मैदाबाट बनेको दालमोठ बिक्न थाल्यो ।

गुणस्तरीय दालमोठ भुजिया उद्योगको उत्पादनकोे स्वाद मिठो मान्नेको सँख्या बढ्दै जाँदा उनीहरुले दिनकै २५ किलोसम्म मैदाको उत्पादन थन्क्याउनु परेको छैन । दालमोठको बजार बिस्तार हुँदा सातामा दुई दिन मात्रै काम गर्नुपर्ने उनीहरुलाई सातैभरि खट्नु पर्ने बनायो ।

महिलाहरुले सुरु गरेको उद्योगमा फरक – फरक तौलको प्याकेट तयार हुन्छ । एक किलोको प्याकेटलाई दुई सय रुपैँया, दुई सय ग्रामको प्याकेटलाई ३० रुपैयाँ, सय ग्रमको प्याकेटलाई २० रुपैयाँ र ५० ग्रामको प्याकेटलाई १० रुपैयाँ पर्छ ।

विदेश गएका श्रीमान सम्पर्कमै आएनन्, घरेलु उद्योगले धान्यो

जीवन रोजगारीको लागि विदेशीनु सामान्य जस्तै भैसक्यो । त, कमाउन विदेशिएका श्रीमान सम्पर्कमै आएनन् भने असमान्य हुन्छ, गृहिणीका लागि । दालमोठ भुजिया बनाउने उद्योग खोल्न तम्सिने महिलाहरुमा यस्तो पीडा पनि छ । समूहमा आवद्ध सबैको होइन ।

१२ जना महिलामध्ये केहीले यस्तो समस्या पनि व्यहोरेका छन् । ‘श्रीमान २०७१ मा वैदेशिक रोजगारीको लागि जानु भयो, २०७३ सालदेखि सम्पर्कविहीन हुनुहुन्छ’,विगत सम्झँदै कल्पना सुनाउनुहुन्छ, `हाम्रो समूहका अरु पाँच जनाको श्रीमान विदेश गएका छन्, विदेश हिँडेदेखि कतिले परिवारमा सम्पर्क गर्दैनन्, कमाउन विदेश गएका श्रीमानले बिर्सिएपछि आफ्नो खर्च धान्नकै लागि भए पनि हामीलाई उद्यमी बनायो ।’ आफ्नो कमाईले आफ्नै खर्च आफैं गर्न सकिएको छ ।

सबै आवश्यकता पूरा नभए पनि आधारभूत आवश्यकता पूरा भएका छन् । आवश्यकता पूरा हुनुभन्दा ठूलो समाजका अन्य मानिसले हेर्ने दृष्टिकोण परिवतर्न भएको छ ।

‘कमाइको पैसाले सबै गर्न नसकेपछि आफैंले कमाउन थालेपछि गाउँघरका मान्छेले गर्ने व्यहार पनि फरक पर्ने उद्यमी महिलाको अनुभव छ । कल्पना अनुभव साट्दै भावी अयोजना सुनाउनुहुन्छ, ‘यही उद्योगलाई अझ व्यवस्थित गर्ने हो, राम्ररी काम गर्ने हो, यही कमाउने हो । ’

अन्तिम अपडेट: जेठ २०, २०७७

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया