बुढीगण्डकी आयोजना : मुआब्जा पुनरावलोकनका लागि सांसदसहितको टोलीले सरकारसँग वार्ता गर्ने

 मंसिर १७, २०७६ मंगलबार १८:८:३५ | किरण लोहनी
unn.prixa.net

गोरखा – बुढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जाबारे जनप्रतिनिधिहरुले सरकारसँग छलफल गर्ने भएका छन् ।

गोरखा र धादिङका संघ र प्रदेश सभाका सांसद, राजनीतिक दलका प्रतिनिधि र पूर्व सांसदहरुले मुआब्जा रकममा पुनरावलोकनका लागि सरकारसँग वार्ता गर्ने भएका हुन् ।

दुवै जिल्लाका प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाहरुको आज बसेको संयुक्त बैठकले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै सरकारी निकायसँग वार्ता गर्ने निर्णय गरेको हो । दुवै जिल्लाका सांसद, राजनीतिक दलका प्रतिनिधि र पूर्व सांसदहरुको भोलि काठमाण्डौमा बैठक बसेर वार्ताको क्रम सुरु हुने आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताउनुभयो । आज भएको बैठकले वार्ताका क्रममा उठाउने एजेण्डाहरु पनि तय गरेको छ ।

हाल भएको मुआब्जासम्बन्धी निर्णय र जग्गाको वर्गीकरणसम्बन्धी निर्णय संशोधन हुनुपर्ने, ५ आनाभन्दा कम जग्गा भएका प्रभावितका लागि विशेष व्यवस्था हुनुपर्ने, मुआब्जा रकम थप्न नसक्ने भए प्रभावितको रोक्का राखिएको जग्गा फुकुवा गरी लालपूर्जा फिर्ता दिनुपर्ने एजेण्डासहित वार्ता हुने दाहालले बताउनुभयो ।

सरकारी निकायबाट यी माग सम्बोधन नभए जग्गा प्राप्ति ऐन २०३४ मा भएको व्यवस्थाअनुसार पुनरावेदन प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको छ । जारी आन्दोलनको समन्वयका लागि आरुघाट क्षेत्रमा गोरखा र धादिङतर्फ १०-१० जना र खहरेमा ४ जनालाई खटाउने पनि बैठकले निर्णय गरेको आरुघाट गाउँपालिका अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

बुढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने आरुघाट बजार र आसपासका बासिन्दाले गाउँपालिकाका कार्यालयमा ताला लगाएका छन् । आयोजनाले सोमबार सार्वजनिक गरेको बजार क्षेत्रको मुआब्जा रकम मा भन्दा निकै कम भएको भन्दै उनीहरुले आरुघाट गाउँपालिकाको कार्यालयमा अनिश्चितकालका लागि भन्दै ताला लगाएका हुन् ।

मंगलबार बिहान कार्यालय समय सुरु हुनासाथ प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाएका हुन् । प्रभावितहरुले आरुघाट गाउँपालिका वडा नम्बर ९ को कार्यालयमा पनि ताला लगाएका छन् ।

बजार क्षेत्रको मुआब्जा रकम कम भएको भन्दै आरुघाटका बासिन्दाले सोमबारदेखि नै बजार बन्द गरेका थिए । मंगलवार पनि बिहानैबाट आरुघाट बजारका पसल, बैङ्क तथा वित्तीय संस्थाको कार्यालय, यातायात र शैक्षिक संस्था बन्द छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया