मान्छे मात्रै होइन, पाटे बाघ पनि खतरामा !

 मंसिर १९, २०७६ बिहिबार ७:२२:१४ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ बढेसँगै निकुञ्ज आसपासका मानिस खतरामा पर्न थालेका त छन् नै, उता बाघ बढेपछि चोरीशिकारबाट बाघ मारिन सक्ने खतरा पनि बढेको छ । 

बर्दिया निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गमा गुड्ने यातायातका साधनबाट पनि पाटे बाघ खतरामा छन् । दुई वर्षअघि पुसको महिनामा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भयो । 

गएको पुसमा पनि जीपको ठक्करबाट एउटा वयस्क पाटे बाघ गम्भीर घाइते भयो । जीपको ठक्करबाट मेरुदण्ड र एउटा खुट्टा भाँचिएर घाइते बाघलाई निकुञ्जमा राखेर उपचार चलिरहेको छ । 

अनि जसरी बर्दियामा पाटे बाघ बढिरहेका छन्, त्यसैगरी वृद्ध भएका बाघ निकुञ्ज छेउछाउ मानव बस्तीमा आउन थालेपछि घटना पनि बढिरहेका छन् । अघिल्ला ८ वर्ष पहिले पाटे बाघ गणना गर्दा वयस्क रहेका बाघ वृद्ध पनि हुँदै गएका छन् । 

प्राकृतिक वासस्थानमा रहेका पाटे बाघको सरदर आयु १६ वर्ष मात्रै हो । निकुञ्ज भित्रै कालगतिले बाघ पर्नु स्वभाविक हो, तर वृद्ध र अशक्त बाघको चोरीशिकार हुने खतरा अझै बढी छ । क्यामरा ट्रयापिङमा परेका बर्दिया निकुञ्जका पाटे बाघका छालासहित यसअघि सीआईबीको टोलीले चोरीशिकार गर्नेहरुसमेत पक्राउ गरेको छ । 

त्यसैले चोरीशिकार र गाडीको ठक्करबाट पाटे बाघ मारिने खतरा पनि बढेको छ ।   

आक्रोसमा स्थानीयद्धारा जंगली हात्तीलाई विद्युतीय करेण्टको पासो !

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने साविक नेउलापुर १ हाल ठाकुरबाबा नगरपालिका २ बलाती गाँउमा पाँच वर्ष अघि साउन १७ गते स्थानीयको खेतमा जंगली हात्ती धपाउन विद्युतीय पासो थापेका कारण करेन्ट लागेर एउटा वयस्क भाले हात्तीको मृत्यु भयो । झण्डै ७ वर्ष अघि राजापुर क्षेत्रको भिम्मापुरमा पनि स्थानीयले जंगली हात्ती धपाउन खेतमा विद्युत प्रवाह गरेका कारण एउटा जंगली हात्तीको मृत्यु भएको थियो ।  

जंगली हात्ती मरेर फाइदा लिन नभइ करेण्टको झड्काले हात्ती तर्सन्छ र भाग्छ अनि आफूहरुले लगाएको खेतीबाली, घरगोठ र ज्यान बच्न सक्छ कि भनेर भनेरै हो । 

सचेतनाको कमीले गर्दा घरखेत छेउछाउमा विद्युतीय करेन्ट प्रवाह गर्ने गरेका स्थानीय संरक्षणकर्मीको ठम्याइ छ । दिनहुँ जंगली हात्ती लगायतका वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि पीडितले निकुञ्ज प्रशासनमा खबर गर्दा पनि सुनुवाइ नभएका कारण आक्रोशित स्थानीयबाट सचेतनाको कमीले गर्दा विद्युतीय करेण्ट प्रवाह गर्ने क्रम बढेको थियो । 

यस्तै ८ वर्ष अघि पनि जंगली हात्तीले घरगोठ भत्काउन र धानखेतीमा नोक्सानी पुर्याउन थालेपछि जंगली हात्ती धपाउन स्थानीय आफैँले खेतबारीमा लगाएको विद्युतीय पासोमा परेर मध्यवर्ती क्षेत्रमा पर्ने डुम्रेनी र मढेलामा २ जनाको ज्यान गइसकेको छ । 

निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतका अति विकट पहिलेका ४ वटा गाविसमा बसोबास गर्ने समुदायले पनि विगतका वर्षमा परम्परागत रुपमा चोरीशिकार गरी जीवन निर्वाह गरिरहेका थिए । 

निकुञ्जले सचेतना कार्यक्रम लिएर मध्यवर्ती क्षेत्र बनायो र स्थानीयले चोरीशिकार छाडेर आफूहरुसँग रहेका हतियारहरु झण्डै २५५ वटा भरुवा बन्दुक बुझाए । तर अहिले उनीहरुको अन्नबाली सखाप पार्न थालेपछि वन्यजन्तुबाट पीडित बनेका छन् ।

मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न दिगो व्यवस्थापनको खाँचो

सकारात्मक ढंगबाट संरक्षण अभियान अघि बढेसँगै दुर्लभ वन्यजन्तुको संख्या बढेको छ । तर यसको दिगो व्यवस्थापन नहुँदा मानव बस्तीमा पहिलेभन्दा बढी जोखिम थपिएको छ । हालसालै वन्यजन्तुबाट भएका घटना र विगतका वर्षहरुमा वन्यजन्तुहरुबाट भएका यी र यस्तै विभिन्न घटनाले गर्दा अब मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्ने खतराको संकेत देखिन थालेको छ । 

मानव–वन्जन्तु द्धन्द्धका कारण अबका पछिल्ला केही वर्षभित्रै वन्यजन्तु संरक्षणमा निक्कै चुनौती हुने संकेत देखिन थालेको छ । निकुञ्ज भित्रबाट गाउँ पसेका हात्ती, बाघ, गैँडा लगायतका वन्यजन्तु मारिन सक्छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणा गरेपछि निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदाय र झण्डै १० वर्ष अघि स्वःस्फुर्त रुपमा निकुञ्ज आसपासका युवाहरु वन्यजन्तु संरक्षण अभियानमा जुटे पनि जंगली जनावरको आतंक न्यूनीकरण गर्न नसक्नु, वन्यजन्तु बाहिर आउनबाट रोक्न दिगो व्यवस्थापन गर्न नसक्नु र जनधनको क्षति भएमा निकुञ्जले उचित राहत उपलब्ध गराउन नसक्नुले मानव र वन्यजन्तुबीचको द्वन्द्व बिस्तारै बढ्न थालेपछि वन्यजन्तु संरक्षण अभियानमा चुनौती आउन सक्ने संकेत देखिन थालेको हो ।  

९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि चोरीशिकारको निक्कै ठूलो चुनौती पनि थियो । हालको बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बबई उपत्यकामा पहिले ठूलो मानवबस्ती रहेको ठूलोश्री नाम लगायतका गाँउ थिए । 

संरक्षणका हिसाबले निक्कै महत्वपूर्ण स्थान भन्दै त्यहाँको मानव बस्तीलाई झण्डै ४० वर्ष अघि २०३६ सालतिर स्थानान्तरण गरेर सरकारले त्यस ठाउँमा वन्यन्तुको वासस्थान बनाउन सुरु गर्यो । चितवन राष्ट्रिय निकुञ्जबाट धेरै गैँडा ल्याएर बर्दिया निकुञ्जको बबई उपत्यकामा पनि छाडियो ।

बर्दिया निकुञ्जमा पर्ने वन्यजन्तुको बासस्थान रहेको नेपालको एकमात्र उपत्यका बबई उपत्यकामा रहेका एकसिँगे गैँडासँगै पाटे बाघको संख्या पनि दश वर्षे द्धन्द्धका बेला सुरक्षा हुन नसकेर घट्न पुगे ।   

बर्दिया राष्ट्रिय निकुञ्जमा १९ वर्ष अघि ४३ वटा वयस्क पाटे बाघ थिए । बर्दिया निकुञ्जमा सन् २००८ मा गरिएको बाघ गणना अनुसार १८ वटा मात्र वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भयो ।  

बर्दिया निकुञ्ज आसपासका क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न थालेपछि समुदाय पनि संरक्षण अभियानमा जुटे । बाहिरबाट चोरीशिकारका लागि आएकाहरुले प्रलोभनमा पारेर आफ्नै गाउँठाउँका व्यक्ति पनि बाहिरबाट आएकाहरुको लहलहैमा लागेर चोरीशिकारमा गाउँठाउँकै व्यक्तिहरुको संलग्नता हुन थाल्यो । बाघ, गैँडा लगायतका वन्यजन्तुहरु मार्ने क्रम बढ्दै जाने खतरा देखिन थाल्यो । 

वन्यजन्तुको चोरी शिकार बढ्दै जान थालेपछि वन्यजन्तु विनास हुने खतरा देखेर नै बर्दिया निकुञ्ज आसपासका युवाहरु पनि २०६६ साल देखि स्वःस्फुर्त ढंगबाट चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानमा जुटे । 

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, मध्यवर्ती क्षेत्रका स्थानीय समुदाय, अभियानमा जुटेका युवालगायत सबैको पहलबाट संरक्षण अभियानले तीव्र रुप लियो । 

फलस्वरुप सन् २०११ मा गरिएको बाघ गणनामा बर्दिया निकुञ्जमा वयस्क पाटे बाघको संख्या बढेर ३७ पुग्यो । निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनासहित मध्यवर्ती क्षेत्रका स्थानीय समुदाय र चोरी शिकार नियन्त्रण अभियानमा जुटेका युवाहरु सबै संरक्षण अभियानमा जुटेपछि लगत्तै सन् २०१३ मा गरिएको बाघ गणनामा बर्दिया निकुञ्जमा वयस्क पाटे बाघको संख्या बढेर ५० पुग्यो । 

अहिले सन् २०१८ को बाघ गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा वयस्क पाटे बाघको संख्या बढेर ८७ पुगेको छ । बाँके राष्ट्रिय निकुञ्जमा २१ पाटे बाघ रहेका छन् । बाँके–बर्दिया कम्प्लेक्स नाम दिएर अहिले १०८ वटा पाटे बाघ रहेको निकुञ्ज विभागले जनाएको छ ।

विगतका वर्षहरुमा संरक्षण अभियानमा सचेतनाको कमीले गर्दा र स्थानीय समुदायको सहभागिता नहुँदा चोरीशिकारका कारण संरक्षणमा केही चुनौती थियो । 

तर पछिल्ला केही वर्ष यता मध्यवर्ती क्षेत्रका समुदायले गर्दा र निकुञ्ज आसपासका युवाहरुले चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सुरु गरेर युवाहरुले संरक्षणमा विशेष भूमिका निर्वाह गरेका कारण पनि सबैको सहयोगले गर्दा पहिलेका वर्षका तुलनामा चोरीशिकारका घटना नभएको बर्दिया निकुञ्ज प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०७७

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया