छाउगाेठमा महिलाकाे मृत्यु प्रकरण : जेठाजु पक्राउ

 मंसिर १९, २०७६ बिहिबार १८:२२:२४ | इन्द्रसरा खड्का
unn.prixa.net

अछाम – छाउगोठमा एक जना महिलाको ज्यान गएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महिनावारी हुँदा छाउगोठमा बसेकी पार्वती बुढाको ज्यान गएपछि जेठाजु छत्र रावतलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले रावतलाई बिहीबार दिउँसो २ बजे उनकै घरबाट पक्राउ गरिएको बताउनुभयो ।

शाहीले उज्यालोसँग भन्नुभयो, ‘छाउगोठमा कसैलाई राखेको आरोपमा प्रहरीले पक्राउ गरेको यो पहिलो पटक हो । अब छाउगोठमा राख्ने र बस्ने दुवैलाई हामी पक्राउ गर्छौँ ।’ डीएसपी शाहीका अनुसार अछाममा अहिलेसम्म छाउपडी सम्बन्धी कुनै उजुरी परेको छैन । 

‘प्रहरीमा उजुरी आउँदैन । तपाईँ गोठमै बस्नुहुन्छ वा राख्नुहुन्छ भनि हामी घरमा सोध्न जाँदैनौँ, त्यसैले पनि महिला छाउगोठमै मर्छन् । यसैका लागि हामीले सरोकारवालासँग छलफल गरेर नै पक्राउ गरेका हौँ’, शाहीले भन्नुभयो । 

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजस्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ । सो दफाअनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो ।

छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया