पर्यटक भित्र्याउन प्रदेश ३ सरकारको तयारी, सबै नाकामा डिजिटल बोर्ड

 मंसिर २०, २०७६ शुक्रबार ९:१३:३६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न तयारी अगाडि बढाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरमा विभिन्न समिति बनाएर काम सुरु गर्न लागेको हो । 

संघीय सरकारको पर्यटन मन्त्रालयको कार्यक्रमलाई प्रदेश सरकारले पनि अभियानकै रुपमा अगाडी सारेको छ । भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरको समिति बनाएर काम गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिनुभयो । प्रदेशमा मन्त्री नेपालकै अध्यक्षतामा प्रदेश स्तरीय समिति बनाइएको छ ।

प्रदेशका १३ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको जिल्ला स्तरिय समिति बनाएर पर्यटन वर्ष २०२० को प्रचार प्रसारमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबै समितिले पर्यटक भित्र्याउनका लागि काम गर्नेछन् ।  

इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक 

प्रदेश ३ सरकारले पर्यटन वर्षलाई लक्षित गरेर मकवानपुरको इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक बनाउने लक्ष्य पनि राखेको छ । त्यसको काम तत्काल सुरु गर्ने तयारी गरिएको मन्त्री नेपालले बताउनुभयो ।

पर्यटन स्मारक आउँदो जनवरीमा उद्घाटन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । पर्यटकीय क्षेत्रको पहिचान खुलाउने गरी सरकारले पर्यटन स्मारक बनाउन लागेको हो ।  

प्रदेश ३ छिर्ने सबै नाकामा डिजिटल बोर्ड

प्रदेश ३ सरकारले आफ्नो प्रदेश छिर्ने सबै नाकामा डिजिटल बोर्ड राख्ने भएको छ ।

प्रमुख पर्यटकीय स्थलको पहिचान दिनेगरी प्रदेश छिर्ने हरेक नाकामा डिजिटल बोर्ड राख्न लागिएको मन्त्री नेपालले जानकारी दिनुभयो । यसैगरी भ्रमण वर्षको डकुमेन्ट्री निर्माण भइसकेको पनि उहाँले बताउनुभयो ।

भ्रमण वर्षकै अवसरमा काठमाण्डौ उपत्यकामा साइकल ट्रयाक निर्माण गर्ने तयारी पनि प्रदेश सरकारको छ । प्रदेश सरकारकै आयोजनामा यसअघि साइकल यात्रा आयोजना गरिसकिएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया