साग पुरुष क्रिकेट : बंगलादेशले भुटानलाई १० विकेटले हरायाे

 मंसिर २०, २०७६ शुक्रबार ११:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेश यू–२३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ । 

लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो । 

बंगलादेशको जितमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान गरे ।

पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो । भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए । 

भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका मनिक खानले २ विकेट लिए । 

यसैबीच शुक्रबार नै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंका यू २३ सँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । 

शुक्रबारको खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया