अबकाे चार वर्षभित्र काठमाण्डाै-निजगढ फास्ट ट्रयाककाे काम पूरा हुन्छ : नेपाली सेना

 मंसिर २३, २०७६ सोमबार १७:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ-निजगढ (काठमाण्डौ-तराई ) द्रुत मार्गको झण्डै २८ दशमलव ९ किलोमिटरको काम शत प्रतिशत सकिएकाे नेपाली सेनाले जनाएको छ ।

सेनाले सोमबार पत्रकार सम्मेलन गरी सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा शत प्रतिशत भएको जनाएको हो । जम्मा ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशतभन्दा कम काम भएको सेनाले जनाएको छ । ७२ दशमलव ५ किलोमिटर लम्बाइको द्रुत मार्गमा ५५ दशमलव ५ किलोमिटर सडक, ६ दशमलव ४१ किलोमिटर सुरुङ र १० दशमलव ५९६ किलोमिटरमा पुल बन्ने नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताउनुभयो ।

द्रुत मार्गमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरी तीन ठाउँमा सुरुङ मार्ग निर्माण गरिनेछ ।

महादेवडाँडामा ३ दशमलव ३५५ किलाेमिटर, धेद्रेमा १ दशमलव ६३० किलाेमिटर र लेनडाँडामा १ दशमलव ४३० किलोमिटर सुरुङ मार्ग निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

द्रुत मार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्ने छ । ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाइ हुनेछ । भौगोलिक अवस्था, कार्य जटिलतालगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यलाई प्राथमिकता दिइएको सेनाले जनाएको छ । सेनाले अबको ४ वर्षभित्रमा द्रुत मार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । २०८१ वैशाखसम्ममा द्रुत मार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम आयोजना गर्ने पनि जनाएको छ । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले भ्रमण वर्षको अवशरमा जंगल सफारी र लामो पदयात्रा गरिने बताउनुभयो ।

त्यसैगरी बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, उच्च तथा समथल भूभागमा साहसिक खेल, संयुक्त राष्ट्र संघिय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार र दोड, एकीकरण पदयात्रा गोरखाको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता गरिने पवक्ता पाण्डेले बताउनुभयो । त्यस्तै प्याराग्लाइडिङ र खेलकुदका माध्यमबाट मित्र राष्ट्रका सेना तथा उनीहरुका आफन्तहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्ययोजना पनि नेपाली सेनाले बनाएको छ ।

सेनाले सैनिक विज्ञान तथा प्रविधि मेलाको आयोजना गर्ने पनि जनाएको छ । पहिलो पटक २०७० सालमा मेलाको आयोजना गरिएको थियो । यस पटकको मेलामा विज्ञान र प्रविधिको क्षेत्रमा दीर्घकालसम्म लागिरहने वातावरण सिर्जना गर्न सैनिक विज्ञान तथा प्रविधि मेलाले सहयोग पुग्ने बताइएको  छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया