'सरकार यातायात व्यवसायीकाे नियन्त्रणमा भएकाले दुर्घटना बढ्याे'

 पुस ४, २०७६ शुक्रबार १६:४३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले सरकार यातायात व्यवसायीको नियन्त्रणमा भएकाले सवारी दुर्घटना बढेको बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद महिन्द्र राय यादवले सरकारको नियन्त्रणमा यातायात व्यवसायी हुनुपर्नेमा सरकार नै व्यवसायीको नियन्त्रणमा हुँदा सवारी साधनको दुर्घटना बढ्दै गएको बताउनुभएको छ । उहाँले व्यवसायीहरुको प्रभावमा परेर सरकारले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि काम नगरेको बताउनुभएको हो ।

त्यस्तै सांसद गणेशकुमार पहाडीले लामो दूरीमा एउटै चालकले सवारी साधन चलाउँदा दुर्घटना बढेको बताउनुभयो । उहाँले समितिले २०७२ सालमा नै लामो दूरीमा सवारी साधन चलाउन नदिन निर्देशन दिए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताउनुभयो ।

सांसद रगंमती शाहीले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ऐन कानून र बजेट प्रयाप्त भए पनि काम हुन नसक्नुको कारण मन्त्रालयले दिनुपर्ने बताउनु भयो । उहाँले मन्त्रालय र त्यसका निकायहरुमा दक्ष कर्मचारी हुँदा पनि दुर्घटना न्यूनिकरणको नतिजा किन शून्य भएको भन्दै प्रश्न गर्नुभयो ।

सांसद दुर्गा पौडेलले मानविय कारणले दुर्घटना बढी छ भनेर बस्नुभन्दा न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

समितिका सभापति तथा सांसद कल्याणी कुमारी खडकाले समितिले दिएका निर्देशनहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयनमा चासो नदिएको बताउनुभयो । उहाँले सवारी साधन दुर्घटना दिनदिनै बढ्दै जाँदा मन्त्रालयले त्यसको न्यूनिकरणका लागि काम नगरेको बताउनुभयो ।

सांसदहरुले मन्त्रालयले मानवीय र यान्त्रीक कारणले दुर्घटना बढेको भन्दै तथ्याङ्क जम्मा गरेर बस्ने काम मात्रै गरेको बताएका छन् ।

सभापति खडकाले सडकको क्षेत्रमा काम गर्ने सबै निकाय तथा सबै तहका सरकारसँग समन्वय गरी सडक दुर्घटना न्यूनिकरणका लागि काम गर्न मन्त्रालयलाई निर्देशन समेत दिनुभयो । 

नेपालमा सडक दुर्घटना हरेक वर्ष बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गतेसम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया