ट्राफिक उज्यालो अभियान : ‘पैसा तिरेर सिक्नुपर्ने कुरा हामीले निःशुल्क सिकाइरहेका छौं’

 पुस ६, २०७६ आइतबार १२:१८:८ | भीमप्रसाद ढकाल
unn.prixa.net

अहिले ट्राफिक प्रहरीले मुख्य तीन जिम्मेवारीलाई सेरोफेरोमा राखेको छ । सचेतना अभियान चलाउने, नियमलाई कार्यान्वयन गर्ने र अरु निकायसँग समन्वय गर्ने काम प्रहरीको जिम्मेवारीमा समेटिएको छ ।  

'ट्राफिक उज्यालो अभियान' समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गतकै कार्यक्रम हो । हामीले यसअघि पनि यस्ता सचेतना कार्यक्रम सञ्चालन गरेका थियौँ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ ।  

विशेषतः हामीले कार्यक्रमका सहभागीहरुलाई कक्षामा राख्छौँ । ट्राफिक नियम के के हुन् ? सडक अनुशासन भनेको के हो ? कसरी पालना गर्ने ? चालकले पालना गर्ने अनुशासनको विषय के के हुन् ? चालकको आचारसंहितामा के के पर्छ ? यी लगायतका महत्वपूर्ण विषयहरुमा ज्ञान दिने गर्छौँ । ताकि यी कुरा सिकेपछि भोलि गएर दुर्घटना नहोस्, नियम उल्लङ्घन नहोस् । 

सबैले त होइन तर जतिलाई सचेतना कक्षा दिएका छौँ, धेरैले नियम पालना गर्नुभएको छ । कतिपय व्यक्तिले पालना नगरेको यदाकदा सुनिन्छ । तर उहाँहरुले पनि पालना गर्नुहुन्छ भन्ने आशा  छ । पालना गर्नु भएन भने त्यो विषय कानुनको  दायरामा आउनेछ । त्यसैले पनि यो अभियानलाई सकारात्मक रुपमा लिनु जरुरी छ । 

वास्तवमा 'कोचिङ' गएर पैसा तिरेर सिक्नुपर्ने कुरा हामीले निःशुल्क सिकाइरहेका छौँ । उहाँहरुले आफू सिक्दै आफन्त, साथीभाइ, छर–छिमेकीलाई पनि सिकाउनुहुन्छ भन्ने उद्देश्यले 'ट्राफिक उज्यालो अभियान' सुरु गरिएको हो । मलाई लाग्छ यसको उपलब्धि राम्रो हुनेछ । यो अभियानपछि नियम उल्लङ्घनका घटनामा कमी आउनुका साथै दुर्घटनाको दर घट्ने अपेक्षा गरेका छाैँ । 

अभियानको लक्ष्य

तीन महिने अभियानमा एक लाख जना मानिसलाई सहभागी गराउने लक्ष्य राखेका छौँ ।  उपत्यकामा खटिएका ४० युनिटलार्ई प्रत्येक युनिटले कति सङ्ख्यालाई सचेत गराउने, कतिलाई कक्षा लिने भनेर निर्देशन दिएका छौँ । त्यही किसिमको संयन्त्र बनाएका छौँ । जसअनुसार हरेक युनिटले प्रति हप्ता दुई सय जनालाई कक्षा लिनेछ । जसअनुसार हप्तामा आठ हजार जनाले कक्षा लिनेछन् । यस्तै महिनामा ३२ देखि ३३ हजारले कक्षा लिनेछन्  र तीन महिनामा एक लाख जना कक्षामा सहभागी हुन्छन् भन्ने अपेक्षा लिएका छौँ । 

महत्वका साथ झण्डै ३० हजार भाडाका सवारी चालकलाई सचेतना कक्षा दिँदैछाैँ । निजी गाडी चलाउने झण्डै १५ हजारलाई कक्षा दिनेछौँ । साथै सिंहदरबारमा हुने चालक र आफैँ गाडी चलाउनेहरुका लागि कक्षा गर्दै आएका छौँ ।  अब थप पाँच हजार सरकारी गाडी चलाउने चालकहरुलाई यसपालि कक्षा दिनेछौँ ।

जथाभाबी बाटो काट्ने, जेब्राक्रश र आकाशेपुलको प्रयोग नगर्ने पैदलयात्रुलाई सडक अनुशासनको विषयमा जानकारी दिनेछौँ ।  जसमा २० हजार पैदलयात्रीलाई सहभागी गराउने लक्ष्य छ । 

यसैगरी स्कुल र कलेजका विद्यार्थीहरुलाई पनि सामेल गर्नेछौँ । उहाँहरुले आफ्नो परिवारलाई लेन मिच्नु हुँदैन, जथाभावी बाटो काट्नु हुँदैन, आकाशेपुल प्रयोग गर्नुपर्छ, आफूले चलाउने साधनको ख्याल राख्नुपर्छ भन्ने कुराहरु सिकाउन सक्नुहुन्छ । यसले अभियानलाई थप प्रभावकारी बनाउन सक्छ ।

सडक अनुशासनको पालना, हाम्रो चाहना

यहाँ ट्राफिक नियमबारे जानकारी नभएर होइन, थाहा भएर पनि मिच्ने प्रवृत्ति बढी छ । ट्राफिकलाई छल्ने, नियम नमान्ने अनि नियम नमानेपछि आफू ठूलो हुन्छु कि भन्ने भावना बोकेका मान्छेहरु यदाकदा भेटिन्छन् । यस्ता व्यक्तिहरुलाई हामी अनुरोध गर्छाैँ । ट्राफिक नियमको बारेमा यथेष्ट जानकारी राख्नुहोस् । जानकारी राखेपछि पालना पनि गर्नुहोस् । पालना गर्नुहुन्न भने हामी कारबाहीको दायरामा ल्याउँछौं । अथवा कारबहीको लागि यातायात व्यवस्था विभागमा पनि पठाउन सक्छौँ । हाम्रो पहिलो अनुरोध भनेको ट्राफिक नियमको बारेमा खोज्नुहोस्, पढ्नुहोस्, जान्नुहोस् र पालना गर्नुहोस् । 

कार्यक्रमका सहभागीहरुलाई सचेतना गराउँदा हामीले दुईदेखि तीन वटा विधिको प्रयोग गर्नेछौँ । पहिलो, पैदल यात्रीहरुलाई उपत्यकाको मुख्य–मुख्य चोकमा रोकेर कम्तीमा १० मिनेट घुम्ती टोलीले प्रशिक्षण दिन्छ । उहाँहरुलाई जम्मा गरेर ट्राफिक नियम यस्तो हो, सडक अनुशासन यस्तो हो,  यी–यी कुरामा ध्यान दिनुहोला भनेर अनुरोधात्मक किसिमको कक्षा लिन्छौँ । 

दोस्रो, जो मोटरसाइकल चालक हुनुहुन्छ, उहाँहरुलाई मोटरसाइकल चलाउँदा के–के कुरामा ध्यान दिनुपर्छ ? सुरक्षितरुपमा मोटरसाइकल कसरी चलाउने ? भनेर उपयुक्त स्थानमा रोक्न लगाइ एकैछिन कक्षा दिनेछौं ।

भाडा र निजी गाडी चालकलाई पनि त्यसैगरी कम्तीमा एक घण्टाको कक्षा दिनेछौं । अडियो, भिडियोका साथै पम्प्लेट, पर्चा वितरण जस्ता माध्यमहरुबाट ट्राफिक व्यवस्थापनको विषयमा छर्लङ्गै पार्नेगरी कक्षा लिनेछौं । यसै हिसाबले हामीले 'कोर्स' डिजाइन गरेका छौँ । 

हाम्रो प्रयासमा तपाईंको साथ

यो कार्यक्रमबाट छुट्नेहरुको लागि हामी विशेष अनुरोध गर्न चाहन्छाैँ । अहिले हामी विकासको युगमा छौँ । हामी अरु धेरै विषयमा ध्यान त दिन्छौँ तर ट्राफिक नियम पालनाको विषयलाई बेवास्ता गर्छाैँ । यो विषयलाई सबैले ध्यान दिनु जरुरी छ  । प्रत्येक घरका सदस्यहरुले खोजेरै ट्राफिक नियम र सुरक्षित यात्राको बारेमा जानकारी लिनुपर्छ । साथै नियमको पालना पनि गर्नुपर्छ । 

अर्काे महत्वपूर्ण अनुरोध, नागरिकहरुले आफूले कहीँ कतै ट्राफिक नियम नमानेको, तीव्र गतिमा हाँकेको, गाडीले ओभर लोड, सामान वा मान्छे बोकेको, जाँडरक्सी पिएर असुरक्षित तरिकाले चलाएको, थोत्रा र पुराना गाडी चलाएको देखेमा तुरुन्त ट्राफिक प्रहरीलाई १०३ वा प्रहरीलाई १०० मा कल गरेर जानकारी दिनुहोस् ।

प्रहरी सूचनाको खोजीमा छ । तपाईँको एक कलले नियम पालना नगरेकाहरु कारबाहीमा पर्न सक्छन् । जसले भावी दुर्घटना टार्न सक्छ । समाज र प्रहरी मिलेर काम गरेपछि हाम्रो 'समुदाय–प्रहरी साझेदारी' कार्यक्रम सफल हुन सक्छ ।    

(ट्राफिक प्रहरी प्रमुख, एसएसपी भीमप्रसाद ढकालसँग कार्यक्रम सडक र सवारीमा गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत १२, २०८०

भीमप्रसाद ढकाल

प्रहरी वरिष्ठ उपरीक्षक ढकाल महानगरीय ट्राफिक महाशाखाका प्रमुख हुनुहुन्छ ।

1 Comments

  • शिव घिमिरे

    Dec. 26, 2019, 1:41 p.m.

    अति नै राम्रो काम। ट्राफिक नियम बाटामा हिड्ने तथा गाडीमा यात्रा गर्ने सर्वसाधारण जनताले समेत जान्नु पर्छ। यस्ता कार्यक्रमका साथसाथै, यात्रुहरुका लागी गडीमा नै ट्राफिक नियमहरु TV तथा रेडियोबाट बुझाउँदा कसो होला? गाडीमा यात्रा गर्दा हिन्दि गीतमा रम्नु भन्दा यात्रुले ट्राफिक नियम सिक्दै यात्र गर्ने कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया