ललितपुरका सम्पदाको प्रगति : केभीपीटीले काम सक्यो, भारतले आश मात्रै देखायो

 पुस ११, २०७६ शुक्रबार ८:३०:२७ | मदन पौड्याल
unn.prixa.net

ललितपुर – २०७२ सालकाे भूकम्पले ललितपुरका विश्व सम्पदा क्षेत्रसहित एक सय ४४ वटा सम्पदामा क्षति गरेको थियो । तीमध्ये ३१ वटा पूर्ण, ६८ वटा आंशिक र ४५ वटा सम्पदामा सामान्य क्षति भएको तथ्याङ्क छ ।

भूकम्पले भत्केका तथा चर्केका ती सम्पदाकाे पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, महानगरपालिका, विदेशी तथा दातृ निकाय र स्थानीयबासिन्दाको सहयोगमा पुनर्निर्माणको काम हुँदै आएको छ । पाटन दरबार क्षेत्रमा धेरैजसो सम्पदा केभीपीटीको प्राविधिक सहयोगमा पुनर्निर्माण भएका छन् । ललितपुरमा सबै निकायबाट संरक्षण एवं पुनर्निर्माण भएका सम्पदाको संख्या २३ रहेको छ ।

विश्व सम्पदा तथा संरक्षित क्षेत्र पाटनमा भएको क्षति

हरिशंकर मन्दिर
चारनारायण मन्दिर
उत्तरतर्फको मणीमण्डप
दक्षिणतर्फको मणीमण्डप
योगनरेन्द्र मल्लको शालिक
भिमसेन मन्दिर अगाडीको सिंह स्तम्भ
स्वँठ राधाकृष्ण मन्दिर
मुछेआगम घर ।

त्यस्तै भूकम्पकै कारण च्यासिंदेवल, सुन्दरी चोकको पूर्वी भाग, कृष्ण मन्दिर, बहादुर शाह भवन, कुम्भेश्वर मन्दिर, विसेश्वर मन्दिर, केशवनारायण चोक, देगु तलेजु मन्दिर, ठुलो घण्टा, नरसिंह मन्दिर, भिमसेन मन्दिर, कुम्भेश्वरको पाँलाछी पाटी, पटुको टोलको गणेश मन्दिर, कोतपाटी, विश्वकर्मा मन्दिर, पटुकोटोलको सत्तल गरी १६ वटा सम्पदा आंशिक क्षति भएका थिए । 

भूकम्पले कुम्भेश्वर मन्दिरको सत्तल, गरुढ नारायण मन्दिर, पटुको टोलको राजोपाध्यायको आगम घर, लामपाटी र हिरण्यवर्ण महाविहारको सत्तल गरी ५ वटा सामान्य क्षति भएको तथ्याङ्क छ । 

ललितपुरमा पुनर्निर्माण भएका सम्पदा

भूकम्पपछि ललितपुरमा २३ वटा सम्पदा बनिसकेका छन् । ललितपुरमा काठमाण्डौ भ्याली प्रिजरभेसन ट्रस्टले सम्पदा पुनर्निर्माणको जिम्मेवारी लिएर काम गरेका मध्ये सबैजसोको काम सकेको छ । केभीपीटीले १२ वटा सम्पदाको काम गरेको हो । उसले काम गरेका सम्पदा यस प्रकार छन् :

कृष्ण मन्दिर
विश्वनाथ मन्दिर
उत्तरतर्फको मणीमण्डप
दक्षिणतर्फको मणीमण्डप 
बहादुर शाह भवन
सिंह स्तम्भ
योगनरेन्द्र मल्लको शालिक
तलेजु मन्दिर उत्तर
तलेजु मन्दिर दक्षिण
सुन्दरीचोकको पूर्वी भाग 
चारनारायण मन्दिर
हरिशंकर मन्दिर 

निर्माण सम्पन्न भएका सबै मठ मन्दिरमा परम्परागत शैली अपनाएको केभीपीटीका नेपाल निर्देशक डाक्टर रोहितकुमार रञ्जितकारले बताउनुभयो ।

केभीपीटीले भूकम्पभन्दा अघि नै पाटन दरबार क्षेत्रमा सम्पदा संरक्षणको काम गर्दै आएको छ । पुनर्निर्माणका क्रममा मौलिकतालाई बचाइराख्न चुना, सुर्ती, पुराना काठ र माटोको प्रयोग गरिएको छ । पूरै क्षति भएका काठहरु भने नयाँ बनाइएको डाक्टर रञ्जितकारले बताउनुभयो ।

पुरातत्व विभागबाट संरक्षण र पुनर्निर्माण भएका सम्पदा यसप्रकार छन् :

बुङ्गमतीको मनकामना मन्दिर, खोकनाको रुद्रायणी मन्दिर परिसरको झोँक्ष, पिँलाछेको गणेश मन्दिर, लगनखेलको बटुकभैरव सत्तल, मंगलबजारको गरुढनारायण मन्दिर, पटुकोटोलको गणेश मन्दिर, शंखमुलको आगो ताप्ने पाटी, मंगलबजारको केशवनाराण चोकको पश्चिम भाग र बुङ्गमतीको प्रथमपुर विहार गरी ९ वटा स्मारक पुनर्निर्माण भएका छन् ।

ललितपुर महानगरपालिकाले भने शौगोलको शिव मन्दिर र क्वालखुको नारायण मन्दिर पुनर्निर्माण गरेको छ । अझै पनि कतिपय सम्पदा जीर्ण अवस्थामै छन् । भूकम्पले क्षति गरेका ती सम्पदा पुनर्निर्माण हुन सकेका छैनन् । चालु आर्थिक वर्षमा पुरातत्व विभागले ७ वटा सम्पदाको काम गर्ने लक्ष्य राखेको छ । 

कुम्भेश्वर महादेव
गाःवहाल कृष्ण मन्दिर
सुःवहाल गणेश मन्दिर
कोठेवहाल संरक्षण
उमामहेश्वर मन्दिर
महालक्ष्मी मन्दिर सत्तल
राधाकृष्ण मन्दिर । 

विदेशी तथा दातृ निकायको सहयोगमा पुनर्निर्माण हुँदै गरेका सम्पदाको अवस्था

ललितपुर दरबार क्षेत्रमा रहेको देगुतलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनर्निर्माण हुँदैछ । ललितपुर महानगरपालिकाले उपभोक्ता समितिमार्फत देगु तलेजु मन्दिर पुनर्निर्माण गर्न माग गरेपछि ललितपुर महानगरपालिकाबाट गठित देगु तलेजु मन्दिर उपभोक्ता समितिबाट काम भैरहेको छ ।

भीमसेन मन्दिर पुनर्निर्माणकाे काम भारत सरकारको सहयोगमा स्थानीयबाट भइरहेको छ । तर भारत सरकारकै सहयोगमा बनाउने भनिएका अदालत भवन, रत्नाकर विहार, गोपीचन्द्र विहार, नापीचन्द्र विहार, प्रथम श्री विहारको भने काम अगाडि बढ्न सकेको छैन ।

त्यस्तै ललितपुरको रातो मछिन्द्रनाथको मन्दिर पनि पटकपटक विवाद र ढिलासुस्तीले अहिले सम्म पुनर्निर्माण हुन सकेको छैन । श्रीलङ्का सरकारको सहयोगमा भूकम्पलगत्तै २०७२ साल माघ २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्गमतीबाट सम्पदा पुनर्निर्माणको उद्घाटन गर्नुभएको हो ।

पाटन दरबार परिसरमा ९० प्रतिशत काम सकिंदा पनि रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको काम चार वर्षसम्म पनि सकिएको छैन । विगतमा भएका कमी कमजोरी सच्चाएर हालै नयाँ कार्ययोजना बनाएर काम अगाडि बढेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । उहाँका अनुसार भुइँ तलाको काम सकेर प्रस्तर स्तम्भ राखिएको छ । मन्दिर पुनर्निर्माण गर्दा पुरानै मौलिकता झल्काउन स्थानीयबासिन्दाले आग्रह गर्दै आएका छन् ।

समस्या र चुनौती

पाटन दरबार क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न भइसकेको पाटन दरबार हेरचाह कार्यालयले जनाएको छ । दरबार क्षेत्रका भिमसेन र तलेजु मन्दिर सहित अरु सम्पदाको काम आउँदो दुई वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालय प्रमुख खनालले बताउनुभयो ।

तर ललितपुर महानगरपालिकाले पुरातत्व विभागको अनुमतिबिना नै सम्पदाको काम थालेपछि पुनर्निर्माणको विषय विवादमा परेको छ । संविधानमा सम्पदा संरक्षण तथा ललितकलाको विकास पालिकाको अधिकार क्षेत्रमा तोकिएको छ । तर विभागसँग अनुमति नलिएर भूकम्पले क्षति गरेका मठ मन्दिरको पुनर्निर्माण थालेको भन्दै विभाग र महानगरपालिकाबीच विवाद देखिएको हो ।

सम्पदाको मौलिकता जोगाउने गरी काम भैरहेको महानगरपालिकाको दाबी छ । सरकारको नियमअनुसार टेण्डरबाट सम्पदाको पुनर्निर्माण गर्नुपर्ने भए पनि महागरपालिकाले उपभोक्ता मोडलबाट सम्पदा पुनर्निर्माण गर्ने गरेको छ । मठ, मन्दिर, पाटीपौवा संरक्षण गर्ने उद्देश्य एउटै भए पनि समन्वय नहुँदा बेलाबेला समस्या देखिने गरेको छ । 

सम्पदा पुनर्निर्माणमा आवश्यक सामग्री र काठ तथा कालीगढको पनि अभाव रहेको छ । त्यस्तै ललितपुरका ६० भन्दा बढी सम्पदा भारत सरकारले बनाउने भने पनि निर्णय हुन सकेको छैन । निर्णय प्रकृयामा ढिलासुस्ती हुँदा पुनर्निर्माणमा पनि ढिलाइ भैरहेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयका प्रमुख खनालले बताउनुभयो ।

‘सम्पदा अरु घर तथा भौतिक संरचना बनाए जस्तो सहज छैन’, खनाल भन्नुहुन्छ ,‘स्थानीयको चासो, पुनर्निर्माणका बेला देखिने शैली विवाद, काठको व्यवस्थापन जस्ता चुनौतीको सामना गरी पुनर्निर्माणको काम अगाडि बढाउनुपर्छ, जुन निकै कठिन काम हो ।’ 

अन्तिम अपडेट: चैत १६, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया