पुनर्निर्माणमा प्राधिकरणको चार वर्ष : तथ्याङ्कमा प्रगति

 पुस ११, २०७६ शुक्रबार १२:५०:२८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – भूकम्पपछिको पुनर्निर्माणमा जिम्मेवार निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पूरा भएको छ । २०७२ साल पुस ५ गते भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन जारी भएको थियो ।

सरकारले २०७२ पुस १० गते सुशील ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै पुस १२ गतेदेखि पुनर्निर्माणको काम सुरु भएको हो । भूकम्पबाट सबैभन्दा बढी निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनमा क्षति पुगेको थियो ।

प्राधिकरणले चार वर्षमा गरेका कामको प्रगति 

प्राधिकरणले चार वर्षमा निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनको पुनर्निर्माणमा औसतमा ८३ प्रतिशत प्रगति भएको जनाएको छ । स्थापनाको चौथो वर्षका अवसरमा बिहीबार पत्रकार सम्मेलन गरी प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो । 

भूकम्पबाट तहसनहस भएका संरचनालाई सुरक्षितरुपमा पुनर्निर्माण गर्ने काम भइरहेको प्राधिकरणको भनाइ छ । भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको काम शून्यदेखि सुरु गरेको र अहिलेसम्म सन्तोषजनक उपलब्धि हासिल गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको दाबी छ । 

उहाँले पुनर्निर्माण सम्पन्न भएका र बन्दै गरेका सहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो । निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल सात लाख ८० हजार एक सय ६५ लाभग्राहीमध्ये चार लाख ८२ हजार तीन सय २३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जुन अनुदान सम्झौता गरेका लाभग्राहीको ६२ प्रतिशत हो ।

एक लाख ८९ हजार ४१ वटा घर बन्दैछन्, यो २४ प्रतिशत हो । प्राधिकरणले निजी आवाससम्बन्धी चार लाख गुनासो सुनुवाइ गरेको छ ।

त्यस्तै क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार तीन सय ८० अर्थात् ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १७ सय ८७ विद्यालयको पुनर्निर्माण भइरहेको छ । 

प्राधिकरणका अनुसार ३२ जिल्लाका आठ सय ९१ सम्पदामध्ये तीन सय ८७ वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । एक सय २३ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन् । त्यस्तै ११ सय ९७ वटामध्ये ६ सय ६५ स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सकिएको छ । एक सय ४९ वटा बन्दै गरेको अवस्थामा छन् ।

पूर्ण र आंशिकरुपमा क्षति भएका कुल चार सय १५ सरकारी भवनमध्ये तीन सय ५९ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भैसकेको छ । ४९ वटाको काम चलिरहेको छ । सुरक्षा निकायका एक सय ८३ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३२ वटा बन्दै छन् ।

भूकम्पपछि असुरक्षित ठाउँमा रहेका लाभग्राहीमध्ये चार हजार दुई सय चार लाभग्राहीलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था भएको प्राधिकरणले जनाएको छ । आठ हजार सात सय ४४ भूमिहीन तथा सुकुम्बासीलाई जग्गा खरिद र व्यवस्थापन गरिएको ज्ञवालीले बताउनुभयो ।

४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भइसकेको छ । त्यसमध्ये २२ वटाको काम सुरु भएको छ भने तीन वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा सात सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा चार सय ४३ किलोमिटर सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी तीन सय १९ किलोमिटर सडकको पुनर्निर्माण भइरहेको छ ।

त्यस्तै सात सय ९१ वटा खानेपानी योजनाहरु खानेपानी विभागमार्फत सम्पन्न भएका र ६ सय ७० वटा योजनाहरु कार्यान्वयन भइरहेका प्राधिकरणको तथ्याङ्क छ ।

मुख्य सम्पदा तथा भवनको काम

स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तुपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दी बैठक, साँखुको बज्रयोगिनी पुनर्निर्माण सम्पन्न भइसकेको छ । धरहरा, रानीपोखरी, काष्ठमण्डप, वसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग, दरबार हाई स्कुल जस्ता मुख्य संरचनाहरुको पुनर्निर्माण भइरहेको छ ।

यस्तै गुम्बा पुनर्निर्माणका आवश्यक काम अघि बढाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जङ्गी अड्डा लगायतको काम पनि सकिएको छ ।

३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च

पुनर्निर्माणका काममा सरकार र दातृ निकायबाट दुई खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न तीन खर्ब रुपैयाँ आवश्यक छ, जसमा यस आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमहरुको कार्यान्वयनका लागि ३४ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

विशेषगरी वित्तीय स्रोतको व्यवस्थापन, सहरी क्षेत्रमा रहेको निजी आवास पुनर्निर्माण, विपन्न वर्गमा परेका लाभग्राहीहरुको आवास पुनर्निर्माणमा गलत विवरण दिने व्यक्तिहरुबाट रकम फिर्ता गर्नुपर्ने कार्यहरु मुख्य चुनौतीका रुपमा देखा परेकाे प्राधिकरणले उल्लेख गरेको छ ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै गर्दा केही पक्षमा महत्वपूर्ण उपलब्धि हासिल भएकाे भन्दै ज्ञवालीले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो । यो 'मोडेल' विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत अनुकरणीय हुन सक्ने उहाँको विश्वास छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया