‘पैसा माग्नकै लागि दाता सम्मेलन गर्दैनौँ, उपलब्धि देखाउँछौँ’

 पुस १३, २०७६ आइतबार ८:४९:३१ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने अनुसन्धानका सम्भावित विषय तथा एजेण्डाबारे छलफल सुरु भएको छ ।

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति पनि बनेको छ । १० सदस्यीय समितिमा विभिन्न विकास साझेदारहरुमध्येबाट पाँच जना, नागरिक समाज, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, तथा गैरसरकारी संस्थाबाट पाँच जना छन् ।

सन् २०२० को नोभेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भए पनि प्राधिकरणले मिति भने तोकेको छैन । तर सम्मेलन अर्को वर्ष पुसभित्रै गर्ने भनिएको छ । अर्को वर्ष पुसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पाँच वर्षे अवधि सकिनेछ । तर पुनर्निर्माण तथा पुनर्स्थापनाका काम नसकिएको अवस्थामा प्राधिकरणको एक वर्ष अवधि थप गर्न सक्ने ऐनमा उल्लेख छ ।

चार वर्षको खर्च र वित्तीय चुनौती

भूकम्पपछिको पुनर्निर्माणमा अहिलेसम्म तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार खर्च भएको रकममध्ये सरकार र दातृ निकायले दुई खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थाले ४२ अर्ब रुपैयाँ पुनर्निर्माणको क्षेत्रमा खर्च गरेका छन् ।

पुनर्निर्माणका बाँकी काम सक्न अझै तीन खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ । यो रकमका लागि नेपाल सरकार र दातृ निकायकै भर पर्नुपर्ने अवस्था छ । स्रोत सुनिश्चित गर्न नसके पुनर्निर्माणका बाँकी काममा पैसा नपुग्ने अवस्था देखिन्छ ।

विश्व बैंकसँग थप २० अर्ब रुपैयाँका लागि सम्झौता हुँदैछ भने अरु दातृ निकायसँग छलफलकै क्रममा रहेको प्राधिकरणले जनाएको छ । तै पनि रकम आइहाल्ने अवस्था नभएकाले पुनर्निर्माणका बाँकी काम सक्न प्राधिकरणलाई रकम अपुग हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन किन त ?

सरकारले भूकम्पलगत्तै २०७२ असार १० मा अन्तर्राष्ट्रिय दाता सम्मेलन गरेको थियो । त्यसबेला चार खर्ब ४० अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आयो ।

सम्मेलनमा सरकारले ६ खर्ब ७० अर्ब रुपैयाँ आवश्यक रहेको तत्कालीन आँकलन प्रस्तुत गरेको थियो । दाताबाट प्रतिबद्धताअनुसार रकम भने आएन ।

तर फेरि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेपछि पुनर्निर्माणमा आवश्यक वित्तीय स्रोत जुटाउन हो कि ? भन्ने शंका गरिएको छ । तर प्राधिकरणले आउँदो वर्ष हुने अन्तर्राष्ट्रिय दाता सम्मेलन पैसा माग्नका लागि नहुने जनाएको छ । 

उपलब्धिको आदानप्रदान हुन्छ : प्राधिकरण

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अबकाे दाता सम्म्लन पैसा माग्नकै लागि नभइ उपलब्धिहरु देखाउने सम्मेलनका रुपमा हुने बताउनुभयो ।

उहाँले प्राधिकरणको चार वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा अन्तर्राष्ट्रिय जगतले नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग गरेको उल्लेख गर्नुभयो । ‘हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भयौँ’, उहाँले भन्नुभयो, ‘अब पैसा माग्नकै लागि दाता सम्मेलन गर्दैनौँ, बरु उपलब्धि देखाउँछौ ।’

उहाँका अनुसार सम्मेलनमा पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी ज्ञान, सिकाइ र उपलब्धिको आदानप्रदान हुनेछ । पुनर्निर्माणका बाँकी काम सम्पन्न गरी प्राप्त उपलब्धि र अनुभव दातृ निकाय तथा अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने प्राधिकरणको उद्देश्य छ ।

भूकम्पको सबै घटना तथा भएका कामको अभिलेखीकरण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने र अनुभवलाई अन्तर्राष्ट्रिय समुदायमा बाँड्ने योजना रहेको ज्ञवालीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया