‘छोराले विदेशबाट पैसा पठाइदिन्छु भन्छ, तर म आफैं कमाउँछु’

 पुस १३, २०७६ आइतबार १२:१५:३३ | बेदानन्द जाेशी

ललितपुर – धोबीघाटको मुख्य सडकबाट सुन्दरीघाटतिर जाने बाटोको दायाँतिर सानो पसल छ । सानो र साँघुरो पसलमा सामान बेच्न व्यस्त हुनुहुन्छ, ६२ वर्षीया लक्ष्मी जोशी । 

‘खाली बस्यो भने रोगी भइन्छ त्यही भएर बाहिर भित्र गर्ने बाटो हो यो’ ग्राहकलाई चटपट बनाएर दिँदै लक्ष्मीले भन्नुभयो ‘यसले मलाई एक्लो र बुढी पनि हुन दिंदैन ।’
पसलमा चटपटेसँगै अरु सरसामान पनि पाइन्छ । उहाँ दिनभरी त्यही पसलमा बस्नुहुन्छ । 

हँसिलो मुहार । मीठो बोली । तर सधैँ हँसिली मिजासिली देखिने लक्ष्मी जाेशीलाई बेलाबेला आफ्नै जिन्दगी सम्झेर दिक्दार लाग्छ ।  

‘के गर्ने बाबु कर्म नै खोटो भएपछि’ खुइय सुस्केरा हाल्दै उहाँले भन्नुभयो ‘दुई छोरा, दुई छोरी छन् तर साथमा एकजना पनि छैनन् !’

दुइटै छोरीको बिहे भइसक्यो । जेठा छोराबुहारीहरुको बसाई कपनमा छ । सुन्दरीघाट छेउको साँघुरो घरमा ठूलो परिवार नअटेपछि उनीहरु कपनमा गएर भाडामा बस्न थालेका हुन् ।

कान्छा छोरा चाहिँ घर बनाउने सपना बोकेर वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुग्नुभएको छ ।

जेठो छोरा त काठमाण्डौमै भएकाले बेलाबेला भेट भइरहन्छ, तर कान्छो छोरा भने सात समुन्द्र पारी छन् । चार वर्ष भयो घर नआएको । कान्छो छोराको यादले बेलाबेला पिरोल्छ लक्ष्मी जोशीलाई । आफूसँग जग्गाजमिन भए त छोराले विदेशिनु पर्ने थिएन भन्ने लाग्छ उहाँलाई ।

‘जग्गाजमिन भए त खेतीपाती गरे पनि हुन्थ्यो, तर आफूसँग जग्गाजमिन केही पनि नभएपछि विदेश जानुपर्‍याे’, भित्तातिर हेर्दै लक्ष्मीले भन्नुभयो ‘विदेश जाने रहर त कसलाई हुन्छ र, जीवन धान्न कि जमिन चाहियो कि त धन चाहियो नि ।’

छोरो विदेश हिँडेपछि झन् बढी माया 

बिहे गरेको एक वर्षमै छोरा घर छाडेर परदेश गएकोमा लक्ष्मी निकै दुखित हुनुहुन्छ । ‘श्रीमतीलाई आफूभन्दा धेरै माया गथ्र्यो, अहिले कसरी बसेको होला ?’ लक्ष्मी पीर मान्नुहुन्छ ।

आफू नेवार भए पनि कान्छो छोरा राजिबले क्षेत्री केटीसँग प्रेम विवाह गर्नुभयो । बिहेपछि जिम्मेवारी बढ्यो । घरधन्दा चलाउनुपर्ने बाध्यताले राजिबको पाइला वैदेशिक रोजगारीतिर मोड्यो । बिहे गरेको वर्षदिनमै २०७२ सालमा उहाँ कुवेत पुग्नुभएको हो । 

हुन त लक्ष्मी अहिले एक्ली हुनुहुन्न । उहाँसँग उहाँकी कान्छी बुहारी, नातिनी र श्रीमान् पनि हुनुहुन्छ । बुहारी र श्रीमान् दिनभरी काममा जानुहुन्छ । नातिनी स्कुलमा । लक्ष्मी दिनभरी पसलमा एक्लै । 

श्रीमान् र जेठो छोरो धोबीघाटमा एउटै कम्पनीमा काम गर्नुहुन्छ । श्रीमान त साँझ घर फर्किए पनि जेठो छोरा उतैबाट आफ्नो डेरा जान्छन् । 

‘काम गर्ने ठाउँ नजिकै भएकाले जेठो छोरासँग बेलाबेला भेट भैरहन्छ’, सम्झेर फेरि लक्ष्मी जोशीका आँखा रसाए ‘तर सँगै हुँदाको जस्तो आनन्द बेलाबेला भेट हुनुमा कहाँ हुन्छ र ?’

कोही केटा मान्छे पसलमा सामान किन्न आउँदा लक्ष्मीलाई छोराको यादले झस्काउँछ । ठूलो झोला बोकेर छोराले आमा भन्दै नमस्ते गरेजस्तो लाग्छ । चाडबाडमा होस् या मिठो मसिनो खाँदा होस् छोराको यादले पछ्याइरहन्छ लक्ष्मी जोशीलाई ।

‘मीठो खानेकुरा खाँदा पनि छोराको याद आइहाल्छ, उसले झन कति मिठो मान्थ्यो होला भन्ने लाग्छ, खानेकुरा घाँटीमै अड्किन्छ, निल्नै सक्दिनँ’ उहाँ भन्नुहुन्छ, ‘छोरा घरमै भएकोभन्दा विदेशमा हुँदा धेरै नै पिरोल्दो रहेछ यादले ।’

अब छोरो विदेश नजाओस्

लक्ष्मीको कान्छो छोरा राजिब आउँदो जेठमा घर फर्कने तयारीमा हुनुहुन्छ । लक्ष्मी छोरा घर फर्किने दिन पर्खेर बस्नुभएको छ । भित्तेपात्रोका पाना चाँडो–चाँडो फेरिए हुन्थ्यो भन्ने लाग्छ उहाँलाई । 

छोरा घर फर्केपछि फेरि विदेश नजाओस् भन्ने कामना गर्नुहुन्छ । तर नेपालमै रहे पनि छोराले के काम गर्ने हो, छोराको मन के छ, त्यो उहाँलाई थाहा छैन । आमाको मनले त पहिले पनि नजा नै भनेको थियो ।

‘मैले त त्यतिबेला पनि खोलेसिस्नु भए पनि यतै खाउँला छोरा विदेश नजा भनेकी थिएँ’, उहाँले भन्नुभयो, ‘तर छोराले मानेन, विदेशमा केही वर्ष कमाएर घर बनाउँछु र मलाई सुख दिन्छु भनेर गएको छ ।’ 

सबैको परिवारले यति बुझिदिओस् 

परिवारका कोही सदस्य वैदेशिक रोजगारीमा गएको छ भने महंगो मोबाइल लेराउ भन्ने, खर्च बढी गर्ने, देखासेखी गर्ने, विलासी जीवनशैली अपनाउन खोज्ने संस्कृति बढ्दै गइरहेको छ ।

तर लक्ष्मी जोशीलाई भने कहिल्यै त्यसो गर्न आएन । नत्र विदेशबाट छोराले पठाइदिएको पैसाले पुगिहाल्थ्यो, बुहारी र श्रीमान् पनि जागिरे । बुढेसकालमा किराना पसल चलाउनै पर्ने त्यस्तो केही छैन । तर उहाँको मनले कहिल्यै त्यसो गर्न मानेन । 

सकेसम्म अरुसँग माग्न नपरोस् भन्ने लाग्छ, उहाँलाई । आफ्नै आमाबुवा, छोराछोरीको कमाइ भए पनि आश गर्नु हुँदैन भन्ने मान्यता राख्नुहुन्छ । त्यही भएर त उहाँ आफ्नो खर्च आफैं धानिरहनुभएको छ । कसैसँग माग्नुपरेको छैन । नातिनीको पढाइ खर्च पनि आफैं जुटाउनुहुन्छ । उहाँ यसैमा सन्तुष्ट हुनुहुन्छ ।

‘आफूलाई त छोरा विदेशमा छ भनेर यहाँ बसेर फुइँ गर्नै आउँदैन’, उहाँ भन्नुहुन्छ, ‘छोराले मलाई कति पैसा चाहिन्छ म पठाइदिन्छु भन्छ तर म पठाउनु पर्दैन बाबु भन्छु ।’

विदेशमा नेपालीले भोग्नुपर्ने दुःखका समाचार सुनेर लक्ष्मीको ढुकढुकी बढ्छ । कतै आफ्नै छोराले पनि यस्तै दुःख त पाइरहेको छैन भनेर आत्तिनुहुन्छ । कहिलेकाहीँ भिडियो कुराकानी हुने गरे पनि छोराको चिन्ताले सताइरहन्छ ।

‘मन बुझाउन नसकेर बुहारीलाई फेसबुकमा भिडियो कुराकानी गर्न लगाउँछु, एकछिन त चित्त बुझ्छ फेरि मन बिझाइराख्छ’, उहाँ भन्नुहुन्छ, ‘विदेशमा काम गर्न गएकाहरु आफ्नो पीडा देखाउन चाहन्न् नि त ।’

‘बाध्यताले विदेश गएको भन्ने कुरा बुझेर परिवारका मान्छेले धेरै अपेक्षा गर्नु हुँदैन’ उहाँको मनले यही भन्छ । कतिपयका घरमा विदेशमा गएको छोराले श्रीमतीलाई या आमालाई पैसा पठाए भने सासुबुहारीबीच मनमुटाव र झैझगडा हुन्छ । तर लक्ष्मीलाई लाग्छ, छोराले पहिले श्रीमतीकै चित्त बुझाओस् ।

‘छोराले श्रीमतीलाई नै पैसा पठाओस्, बरु हामीले त बुहारीले त्यो पैसाको सदुपयोग गरिरहेकी छ कि दुरुपयोग भनेर नजर लगाउने मात्रै हो, बाटो बिराएमा सम्झाउने हो ।’
 

अन्तिम अपडेट: फागुन ४, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया