पर्यटन प्रवर्द्धनका लागि स्याङ्जाकाे वालिङमा ‘क्यानोनिङ’ महोत्सव

 पुस १७, २०७६ बिहिबार १२:३३:१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - पर्यटन प्रवर्द्धनका लागि स्याङ्जाको वालिङमा बिहीबारबाट प्रथम क्यानोनिङ महोत्सव २०७६ सुरु भएको छ । झरना वा छाँगाबाट डाेरीका सहायताले ओर्लने तथा उक्लने साहसिक खेल भएकाले क्यानोनिङलाई ‘छाँगा अवराेहण’ का नामले पनि चिनिन्छ ।

वालिङ नगरपालिका वडा नम्बर-४ मा रहेकाे खाल्टेमा भोलिबाट महोत्सव गरिएकाे हो ।

स्याङ्जा क्यानोनिङ तथा पर्यटन प्रवर्द्धन समिति र सुन्तलाबारी सामुदायिक होमस्टेले संंयुक्त रुपमा पहिलो क्यानोनिङ सुन्तला तथा सांस्कृतिक महोत्सव २०७६ को आयोजना गरेको हो ।

स्थानीय स्तरबाट पर्यटनको विकास गर्ने, स्थानीय उत्पादनलाई बढावा दिँदै रोजगारी सृजना गर्ने साथै प्राकृतिक साैन्दर्यले भरिपूर्ण पहाडी क्षेत्रहरुको पहिचान गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै कृषि र साहसिक खेल क्यानोनिङलाई दिगो पर्यटन उद्योगको रुपमा स्थापित गर्दै भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवको आयोजना गरिएको क्यानोनिङ तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष मोहन खनालले  जानकारी दिनुभयो । ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ छुट्टाछुट्टै झरनामा क्यानोनिङ गर्ने अवसर रहनेछ ।

३५ मिटरको कुलमान घिसिङ झरना र ३० मिटरकै सत्यमेव जयते झरनामा दर्शकलाई क्यानोनिङको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सहभागीले ३ सय रुपैयाँको टिकट किनेपछि बगैँचामै गएर आफैँले सुन्तला टिपेर खान सकिने तथा एक झाेला सुन्तला लैजान समेत सकिने आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड पोखरा, नेपाल भ्रमण वर्ष २०२० सचिवालय गण्डकी प्रदेशले महोत्वसको प्रवर्द्धन गरेको हाे ।

त्यस क्षेत्रमा सुन्तलै सुन्तलाको जंगलभित्र बनेका घरहरुमा विगत केही समयदेखि सुन्तलाबारी सामुदायिक होमस्टेको नाममा घरबास कार्यक्रम समेत सञ्चालित रहेको छ ।


 

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया