एरिका : राजा त्रिभुवनकी गुमनाम प्रेमिका

 पुस १९, २०७६ शनिबार ८:५६:३ | गोपाल गुरागाईं
unn.prixa.net

नेपालका राजा त्रिभुवन र एक युरोपियन महिलाको अपरिभाषित माया, प्रेम र समर्पणका विषयमा सन् १९५८ मा एउटा किताब प्रकाशन भयो With the King on the Cloud । राजा त्रिभुवन मरेको ४ वर्षपछि अंग्रेजीमा छापिएको त्यो किताब पश्चिमी दुनियाँमा हातहातमा बिक्यो । 

सोही वर्ष त्यो किताब अर्को नाममा छापियो Erika and The King । कुरो एउटै तर अलग अलग शीर्षकमा प्रकाशित किताबकी लेखिका थिईन् एरिका ल्यकुट्याग जो ७५ वर्षअघि नेपालको दरबारमा पस्ने पहिलो युरोपियन महिला थिइन् । 

राजा त्रिभुवन र उन्को परिवारसित पाँच महिना नेपाल बसेकी एरिका त्यो किताब प्रकाशित भएपछि सधैका लागि गुमनाम छिन् । एरिका को हुन् ? किन र कसरी भारत पसिन् ? भारतका राजा महाराजाहरुका दरबारहरुमा उनको प्रवेश कसरी सहज भयो ? नेपालमा उनलाई बोलाउने युरोपेली डाक्टर को थिए ? अनि नेहरु र राजा त्रिभुवनबीच उनले सम्बन्ध सेतु भएर किन काम गरिन् ? जस्ता अनेक प्रश्न आज पनि अनुत्तरित छन् । 

भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री मोहन शमशेरका बन्धनबाट मुक्ति पाउने राजा त्रिभुवन र उनको परिवारको आशा बलियो भएको थियो ।

बीपी कोइरालाको आत्मबृतान्तदेखि लिएर रविन्द्र भारतीको रामहरखको नेपाल डायरी नामक किताबमा पनि उनको नाम भेटिन्छ । तर राजा त्रिभुवन र आफ्ना बारेमा एरिका आफैले लेखेको किताब बाहेक उनलाई चिनाउने अरु कुनै सामग्री कतै पनि भेटिंदैन ।  

***************

बृटिश इन्डियाबाट सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालमा राजा त्रिभुवनको शक्तिशाली राजा हुने आकांक्षाले पनि पखेटा हाल्न थाल्यो । त्रिभुवन आशावादी हुने आधार प्रशस्त थिए । ब्रिटीश ईण्डियाका दूतहरुसँग राम्रो सम्बन्धमा बसेका राणाहरुको सम्बन्ध नयाँ भारतका नेताहरुसित जम्न पाएको थिएन । राणा शासन हटाउन संघर्षरत नेपालका बिद्रोहीहरु र भारतका शक्तिशाली नेता नेहरुबीच राम्रो सम्बन्ध छ भन्ने राणाहरुले राम्रैसित बुझेका थिए ।

राजाको छटपट, देशभित्र बढ्दो असन्तोष र भारतमा स्थापित लोकतन्त्रले नेपालको सत्तामा बसेका राणाहरुको बेचैनी राजाको भन्दा पनि धेरै बढेको थियो । राजा आफैँ शासन गर्न चाहन्थे । तर राणाहरु अलिकति पनि सत्ता शेयर गर्न तयार थिएनन् । राजालाई काबुमा राख्नपर्ने राणाहरुको चुनौती दिन दुई गुना र रात चौगुनाले बढ्दै थियो ।

नेपालको राजनीति राजदरबार र सिंहदरबारबीचको संघर्षमा तरंगित भैरहेको बेला एउटी अग्ली, सुन्दरी र निख्खर गोरी बिदेशी महिला नेपालको राजदरबारमा प्रवेश गरिन् ।

भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री मोहन शमशेरका बन्धनबाट मुक्ति पाउने राजा त्रिभुवन र उनको परिवारको आशा बलियो भएको थियो । तर राजाको आशाले धेरै पंखा नहालोस भनेर राजदरबारमाथि मोहन शमशेरको निगरानी, दबदबा र चियोचर्चो पनि बढेको थियो । राजालाई दरबारबाट निकालेर पाल्पा लैजाने, सैनिक बिद्रोह गराउने र भारदारी सभा आयोजन गरी मोहन शमशेरलाई पदच्युत गर्ने कांग्रेस र राजाको योजना गणेशमान सिंह पक्राउ परेपछि बिफल भएको थियो । त्यस घटनापछि राजा त्रिभुवन राणाहरुबाट त्रसित थिए । 

नेपालको राजनीति राजदरबार र सिंहदरबारबीचको संघर्षमा तरंगित भैरहेको बेला एउटी अग्ली, सुन्दरी र निख्खर गोरी बिदेशी महिला नेपालको राजदरबारमा प्रवेश गरिन् । प्रधानमन्त्री मोहन शमशेरका छोरा परराष्ट्र मन्त्री विजय शमशेरको निम्तो र महंगो फिसमा उनी भारतको सिमलाबाट एउटा कुुकुर र एकजना सहयोगी सहित रेल, गाडी र पाल्की चढेर काठमाण्डौ आईपुगेकी थिईन् । उनको कुकुरको नाम थियो पिपचेन र उनका सहयोगीको नाम थियो घोर्की । पिपचेनलाई अघि र घोर्कीलाई पछि लगाएर सन् १९४९ को मार्चमा नेपाल छिरेकी ती महिलाको नाम थियो एरिका ल्युकट्याग । 

उनलाई विजय शमशेरले महिनाको २ हजार रुपैयाँ पारिश्रमिक दिने, खानेबस्ने, गाडी, सुरक्षा र आउजाउको सम्पूर्ण बन्दोवस्त गर्ने गरि तीन महिनाको लागि नेपाल बोलाएका थिए । विजय शमशेरले उनलाई त्रिभुवनकी जेठी श्रीमति कान्ती राज्यलक्ष्मीको मालिस उपचार गर्न भनेर निम्तोमा लेखेका थिए । निम्तो पाउँदा एरिका पटियालाको दरबारमा काम गर्दै थिइन् । भारतका बिभिन्न राजा महाराजाहरुको परिवार र दरबारमा लामो समय काम गरेकी एरिका फिजियो थेरापिष्ट थिइन् । उनको थप दक्षता नाचमा थियो । विभिन्न खालका युरोपेली नाच (खासगरि व्याले नाच) मा उनी पारंगत थिइन् । 

राजदरबारमा दुईटी रानी बाहेक त्रिभुवनका अरु पनि गुप्त रानीहरु थिए । राजालाई राणाहरुले यस्ता धेरै रानीहरु, नाचगान र फेसनमा अल्मल्याएर राखेका थिए ।

त्रिभुवनलाई नाचगान, फेसन, महंगा अत्तर र भर्खर युरोपको बजारमा आएका परिधान र स्टाइलमा विशेष रुची थियो । रुची त राजालाई नाच्नमा पनि थियो, तर त्रिभुवन राम्रोसित नाच्न जान्दैनथे । राजाको नाचप्रतिको रुची र नाच्न नजान्ने कमजोरी मोहन शमशेरलाई थाहा नहुने कुरा भएन ।

राजदरबारमा दुईटी रानी बाहेक त्रिभुवनका अरु पनि गुप्त रानीहरु थिए । राजालाई राणाहरुले यस्ता धेरै रानीहरु, नाचगान र फेसनमा अल्मल्याएर राखेका थिए । राजा त्रिभुवनको सुन्दरी युवतीप्रतिको कडा आकर्षण राणा बाबुछोरा दुबैले बुझेका थिए । त्यसैले, एरिकालाई काठमाण्डौ बोलाउँदा मोहन शमशेरको मनमा सुन्दरी नृत्यांगना एरिकासित राजा रत्तिनेछन् र त्यो समय भारतका नयाँ नेताहरुसित राम्रो सम्बन्ध बनाउन उपयोग गर्न सकिन्छ भन्ने थियो शायद ।

त्रिभुवनकी जेठी महारानीको मालिस उपचार गर्ने भनेर एरिकालाई निम्तो गर्नु संभवतः एउटा बहाना थियो । राजालाई सुन्दरीसित अल्मल्याएर राणाहरुले भारतको नयाँ सत्तासित राम्रो सम्बन्ध बनाउने समय निकाल्न पनि एरिकालाई काठमाण्डौ झिकाएका थिए । एरिकाको नाच्न जान्ने खुवीमा राजा मख्ख पर्लान् र त्रिभुवनको ऐयासी जीवनशैलीमा एरिका लट्ठ पर्लिन् भन्ने मोहन शमशेरका बाबुछोराको अनुमान थियो । बाबुछोराको मनसाय थियो एरिका नामको एक तीरले दुईटा सिकार गर्ने ।

राणाहरुले एरिकालाई बोलाउँदा जे आश गरेका थिए, एरिकाले राणाहरुको त्यो आशा दरबार पसेको दोस्रो दिनदेखि नै पूरा गर्न थालिन् । राजदरबार पसेको पहिलो दिन राजालाई दर्शन गरेर एरिकाले रानीको उपचार गर्न चाहिने सामानको सूची दिईन् । दोस्रो दिन बेलुका उपचार गर्ने कोठामा हावा पसोस् भनेर भेण्टिलेसन खोल्न टुलमा उक्लिदा त्रिभुवन एरिकाका सुडौल पिडुला देखेर लठ्ठ परे । उनले एरिकालाई रानीहरुकै सामु प्रशंसा गर्दै भने “महोदया, तपाईका गोडाहरु अत्यन्तै सुन्दर छन्” ।

एरिकाले नाचका कारण आफ्ना गोडा सुन्दर भएको कुरा गरिन् । त्रिभुवनले एरिकालाई नाच सिकाउन अनुरोध गरे । एरिका राजालाई नाच सिकाउने कि रानीको उपचार गर्ने भनेर केहीबेर अलमलिईन् । के गर्ने र के नगर्ने संसयमा परेकी एरिकाले उपचार गर्न कोठामा आएकी कान्तीराज्य लक्ष्मी र उनकी बहिनी कान्छी महारानीति हेरिन् । रानीहरु मुस्कुराए । एरिकाको संसय हरायो । रानीहरु मुस्कुराउनुको आशय थियो राजालाई नाच सिकाए हुन्छ, रानीको उपचार भोलि सुरु गरे पनि केही बिग्रिदैन । 

उदास राजालाई खुसी पार्न एरिकाले नाचका हरेक चाल सिकाईन् । नाच सिक्दा र सिकाउँदा दुबैकाबीच प्रेमको डोरी बाटियो र गाढा हुँदै गयो ।

राजालाई नचाउन रानीहरुले दिएको यो स्वीकृतिपछि अचानक दुबै रानी र त्रिभुवनका छोरीहरु दरबारका अरु कोठमा अलप भए । घाम अस्ताउने बेला राजा त्रिभुवनलाई एरिकाले नचाउन थालिन् । राजाका हात आफ्ना कम्मरमा राखेर र गोडाका चालमा हिँडाएर एरिकाले त्रिभुवनलाई यसरी नचाईन् कि राजा त्रिभुवन एरिकालाई पहिलो दिनदेखि नै माया गर्न थाले, एरिकाले राजालाई मनैदेखि मन पराउन र एकान्त खोज्न थालिन् ।

राजा र एरिका पहिलो दिन नै यति धेरै नाचे कि उपचार गर्न बेलुकीपख राजदरबार गएकी एरिका राती १२ बजेको तोप पड्केपछि त्रिपुरेश्वरको गेष्ट हाउसमा फर्किन् । त्यो दिनलाई सम्झदै पछि एरिकाले लेखिन् “.... नेपालकी महारानीलाई उपचार गर्ने कामको यो अनौठो सुरुआतप्रति मुक्त हाँसो हास्ने ईच्छा ममा जागृत भयो । तर एक्कासी के कारणले हो कुन्नि, ममा गाढा उदासी छायो ।”

एरिकाले पहिलो दिनदेखि नै राजाको अनुहारमा अचम्मको उदासी देखिन् । उदास राजालाई खुसी पार्न एरिकाले नाचका हरेक चाल सिकाईन् । नाच सिक्दा र सिकाउँदा दुबैकाबीच प्रेमको डोरी बाटियो र गाढा हुँदै गयो । बिस्तारै राजा त्रिभुवनको अनुहारको उदासी एरिकामा सर्‍यो । दरबार पसेको दोस्रो दिनदेखि एरिकामा रोपिएको यो उदासी संभवतः उनले जिन्दगीभर बोकिन् । एरिकालाई यो उपहार राजा त्रिभुवनले दिएका थिए ।  

एरिका हरेक दिन नारायणहिटी राजदरबार जान्थिन्, जस्लाई राजारानीहरु ह्याप्पि कटेज भन्थे । केही समय रानीको उपचार गर्थिन् र अधिकांश समय राजासँग बात मार्थिन्, नाच्थिन् । राजा र एरिका दुबै एकान्त रुचाउँथे, विशेषगरी एरिका राजासित एकान्तमा औधि रमाउँथिन् । दिन बित्दै जाँदा राजाको खुशी एरिकाको आफ्नो खुशी हुन थाल्यो ।

राजाले एरिकालाई आफ्नै परिवारको सदस्य ठान्न थाले । एरिका त्रिभुवनका रानीहरु, छोरीहरु र परिवारका सदस्यसित पनि उत्तिकै घुलमिल भईन् । उनलाई राजा त्रिभुवन महंगा उपहार दिन्थे, त्यसमध्ये राजाले हातमा लगाई दिएको पत्रैपत्र बेरिएको सुनको नरम बाला एरिकालाई बिशेष लाग्थ्यो । त्यो सुनको बाला उनले जिन्दगीभर साथ राखिन् । 

रानीको उपचारका नाममा जस्तो नृत्य गर्न एरिकालाई काठमाण्डौ बोलाएका थिए, त्यो नाच एरिकाले राणाहरुले सोचेभन्दा पनि कुशलतापूर्वक नाचिरहेकी थिईन् ।

एरिकाले राजाका हातबाट मात्र महंगा उपहार पाइनन्, प्रधानमन्त्री मोहन शमशेरले पनि उनलाई उपहार पठाउन थाले । मोहन शमशेर र विजय शमशेरले एरिकालाई पठाउने उपहारको सूचीमा पाकेका आँपका ढक्की, चुरोट तथा अत्तरका बट्टा हुन्थे । राणाहरुको नजरमा एरिका एउटी फरासिली, सुन्दरी, सोझी युरोपेली आईमाई थिईन, जस्ले राजा त्रिभुवनलाई हरेक रात नचाईरहेकी थिईन् । 

मोहन शमशेरका बाबुछोराले रानीको उपचारका नाममा जस्तो नृत्य गर्न एरिकालाई काठमाण्डौ बोलाएका थिए, त्यो नाच एरिकाले राणाहरुले सोचेभन्दा पनि कुशलतापूर्वक नाचिरहेकी थिईन् । राजा त्रिभुवनको लागि चाहिँ एरिका आफूलाई भित्रैबाट माया गर्ने युरोपियन महिला थिईन, जस्ले राजा र बाहिरी दुनियाँबीच सम्पर्क सेतुको काम गरिरहेकी थिईन् ।

त्रिभुवनसितका एकान्त, राजाले देखाउने प्रेम, राजाले गर्न थालेको विश्वास, रानी र राजकुमारीहरुको स्नेहले एरिकालाई बिस्तारै राजदरबारको भित्रिया बनायो । राजा र राणा दुबैको मनमा काठमाण्डौ आएको दिनदेखि नै एरिकाले राज गर्न थालिन्, उनलाई दुबैले बराबरी विश्वास गर्थे । 

तर एरिकाको मनमा राणाप्रति रोष र राजाप्रति माया र विश्वास थियो । राजदरबारमा पसेको दुई साताभित्रै एरिका राजा त्रिभुवनको माया र उदासीमा यति धेरै डुबिन्, राजाको उदासी उनको अनुहारमा सर्न थाल्यो । शक्तिशाली राणाहरुको सामु त्रिभुवन असहाय रहेको थाहा पाउन एरिकाले धेरै समय कुर्नु परेन । राणाहरुको धन र नातागोताको बन्धनले नराम्ररी कसिएका राजाको छटपटीले अन्ततः एरिकाको पनि मन पोल्न थाल्यो ।

राजा राणाहरुको धन र सम्बन्धको बन्धनबाट फुत्कने र राजा नै भएर शक्तिको अभ्यास गर्ने कोशिसमा लागेका थिए । तर कांग्रेस र प्रजा परिषदसित राजाको सम्पर्क र गुप्त भेटघाटले कुनै नतिजा निकाल्न सकेका थिएनन् । रहँदा बस्दा एरिकाले बुझिन् राजाको उदासी आफू राजशक्तिमा फर्किन नसकिने हो कि भन्ने चिन्ताबाट उब्जेको रहेछ । उनलाई लाग्यो राजालाई सहयोग गर्ने यही सबैभन्दा सुनौलो समय हो । 

भारत स्वतन्त्र भएर सत्तामा नेहरु आएपछि सुरजीत सिंह नेपालका लागि भारतीय राजदूत भएर काठमाण्डौ आए । सुरजीत सिंह पञ्जावी थिए र पटियालाका महाराजका प्यारा पनि थिए । उनी डकोटा जहाजका पाईलट पनि थिए ।

राजा र एरिकाकोबीच फैलिदै र गहिरिदै गएको प्रेम एरिकाको आँखामा छचल्किन थालेपछि सुरजीतले एरिकाको अनुरोध पन्छाउन सकेनन् ।

एरिकाले पटियाला दरबारमा लामो समय बिताएकी थिइन् र नेपाल आउनु अघिसम्म पटियालाकी महारानीको उपचारमा संलग्न थिइन् । एरिका र सुरजीत सिंह पटियालामै छँदा एक अर्कासित परिचित थिए । एरिकालाई सुरजीत सिंह परिवारको सदस्यलाईझै माया गर्थे । 

भारतीय राजदूत पाका थिए । उनको नजरमा एरिका एउटी चुलबुले यौवना थिईन् । तर एरिकाले एक दिन सुरजीतलाई आश्चर्यमा पार्दै राजा त्रिभुवन र नेहरुबीच सम्पर्क स्थापित गरि दिन गम्भीर अनुरोध गरिन् । सुरजीत छक्क परे र केही अविश्वास पनि देखाए । राजा र एरिकाकोबीच फैलिदै र गहिरिदै गएको प्रेम एरिकाको आँखामा छचल्किन थालेपछि सुरजीतले एरिकाको अनुरोध पन्छाउन सकेनन् ।

उनले राजालाई भेट्ने वचन दिए । एरिकाले चाहेको पनि त्यही थियो, तर राणाहरुको आँखा छलेर भेटघाट गर्न सजिलो थिएन । एरिकाले पटक पटक दुईजनाबीच भेटको मिति तय गरिन् । सुरजीतले पनि राजालाई भेट्न कोसिस गरे, तर राजासित भेट नहुँदै सुरजीतको कार्यकाल सकिन लागेको थियो । 

सुरजीत डकोटा प्लेन उडाएर पटना फर्किनु अघि १९४९ को जुनमा एरिकाले जसोतसो राजा र सुरजीत सिंहबीच गोप्य भेटघाटको व्यवस्था मिलाइन् । त्यसको केही दिनमा सुरजीत सिंहले काठमाण्डौ छाडे । नेपाल छाड्दा सुरजीत आफैले डकोटा प्लेन उडाएका थिए । डकोटा प्लेनबाट राजदरबारको ३ फन्को लगाएर सुरजीत भारत गएपछि उनको ठाउँमा चन्द्रेश्वर दुबे राजदूत भएर आए ।

सुरजीतसित सुरु भएको एरिकाको सम्वाद चन्द्रेश्वरसित पनि सुरु भयो । एरिका र चन्द्रेश्वरले बुढानिलकण्ठ मन्दिर नजिक जंगलमा लामो छलफल गरेपछि राजा र नेहरुबीच चिठी आदान प्रदान गर्ने कुरा पक्का भयो । तर, कुनै परिणाम निस्किन नपाउँदै एरिकाको काठमाण्डौ बसाईको समय सकियो । 

स्वीटजरल्याण्डको ज्युरिचमा राजाको मृत्यु हुँदा एरिका बेलायतमा थिईन् । तर, एरिकाले राजाको मृत्युको खबर भने रेडियोबाट सुन्न पर्‍यो ।

सन् १९४९ को मार्च पहिलो साता नेपाल छिरेकी एरिका ५ महिनापछि जुलाईमा सिमला फर्किन् । एरिका भारत फर्के पनि भारतीय राजदूत दुबेले राजा त्रिभुवन र नेहरुबीच चिठीपत्र आदान प्रदान सुरु गरे । नेपालबाट फर्के पनि एरिका सिमलाका बसेर सांकेतिक शब्दले भरिएका राजाका चिठी पर्खिन्थिन् र राजालाई आश्वस्त पारेर त्यस्तै चिठी लेखि रहन्थिन् ।

एरिका नेपालबाट फर्केको १५ महिनापछि त्रिभुवनले भारतीय दूतावासमा शरण लिए । एरिकाले राजालाई राणाहरुको बन्धनबाट निकाल्न थालेको प्रयासले अन्ततः सन् १९५० नोभेमबर ६ का दिन मूर्त रुप लियो । राजा सपरिवार भारतीय दूतावासमा पसे । 

***************

तर नेपाल छाडेपछि पनि हरेक दिनजसो राजालाई चिठी लेख्ने एरिकाले राजाले दरबार छाडेको र १९५० को नोभेम्बरदेखि दिल्लीको हैदरावाद हाउसमा शरण लिएको खबर चाहिँ भारतका पत्रपत्रिका पढेर थाहा पाउन पर्‍यो । त्यहाँ उनले पठाएका चिठीको जवाफ पनि त्रिभुवन आफैले दिएनन् । दिल्लीबाट नेपाल फर्केपछि त्रिभुवनले एरिकालाई काठमाण्डौ बोलाए । उनी सन् १९५१ मा नेपाल आइन र केही दिन काठमाण्डौ बसिन् ।

छोरीहरुको विवाहमा उनलाई राजा त्रिभुवनले अर्कोपल्ट कलकत्तामा बोलाए । राजाको निम्तो मान्न एरिका अर्कोपालि कलकत्ता पुगिन् । त्यसपछि राजाले एरिकालाई १९५४ को मार्चमा भेट्ने भनेका थिए, तर एरिकासित भेट नहुँदै मार्च १३ मा राजा त्रिभुवनको निधन भयो । स्वीटजरल्याण्डको ज्युरिचमा राजाको मृत्यु हुँदा एरिका बेलायतमा थिईन् । तर, एरिकाले राजाको मृत्युको खबर भने रेडियोबाट सुन्न पर्‍यो । त्यसपछि उनले राजा र आफ्नो अपरिभाषित र गाढा सम्बन्धको पत्र पत्र केलाएर किताब लेखिन् Erika and The King । 

एरिकालाई धेरैले उनी ब्रिटीश नागरिक होलिन् भनेर अनुमान गर्छन्, तर खोजी पस्दा बास्तविकता अलि अलग भेटिन्छ ।

नेपालीमा यो किताब बि.सं. २०५८ सालमा अनुस्का प्रकाशनमार्फत प्रकाशन भएपछि नेपालमा बल्ल आम मान्छेले एरिकाको विषयमा थाहा पाए । तर एरिका को हुन् र के गर्दैछिन् भन्ने कुरा अहिले पनि रहस्यकै पर्दाले छोपिएको छ । किताबका नेपाली अनुवादक सरोज मिश्रले भनेका छन् .... “मुल लेखिका, उनका हकदार वा पुस्तकका प्रकाशकसँग सम्पर्क कायम गर्ने अथक प्रयास गर्दा पनि सफल हुन सकिएन ।....” अथवा यो किताब प्रकाशन भएपछि गुमनाम भएकी एरिकाबारे अझै धेरै कुराहरु रहस्यमै छन् । 

एरिकालाई धेरैले उनी ब्रिटीश नागरिक होलिन् भनेर अनुमान गर्छन्, तर खोजी पस्दा बास्तविकता अलि अलग भेटिन्छ । खोज्दै जाँदा एरिका जर्मन नागरिक हुन्, उनले जर्मनीको ह्यामवर्गस्थित स्वीडिस मेडिकल ईन्स्टीच्युटमा फिजियोथेरापी पढिन्, सन् १९३९ मा आमासित भारत आई सिमलामा बसिन र सन् १९५४ मा भारतबाट बेलायत गई उतै बस्न थालेकी हुन् भन्ने सम्मको जानकारी पाईन्छ । एरिकाबारे बाँकी कुरा त अझै पनि रहस्यमै छन् र उनी अझै गुमनाम नै छिन् ।

अन्तिम अपडेट: फागुन ११, २०७६

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

1 Comments

  • P

    Jan. 10, 2020, 1:28 a.m.

    Nice historical footnotes.

  •  0 Reply

तपाईको प्रतिक्रिया