बालविवाह रोक्न किशाेरीहरुकाे संघर्ष

 पुस २१, २०७६ सोमबार १४:२९:३९ | इन्द्रसरा खड्का
unn.prixa.net

कलिलो अनुहार, उमेरले भर्खरै १५ मा टेक्दै गरेकी किशोरी । मनमा केही गर्छु भन्ने आँट । तर जन्मिदै बिहेको लागि केटा तयार । हुर्कन नपाउँदै पटक पटक बिहेको कुरा । 

बिहे गर्न परिवारले मिति तय गर्छ, तर उनी सानै उमेरमा विवाह गर्न तयार छैनन् ।  बिहे रोक्न परिवारभित्रै संघर्ष गर्नुपरेको छ । 

अघिल्लो वर्ष माघमा झण्डै उनको बिहे भैसकेको थियो । तर उनी हुनै लागेको आफ्नो बिहे रोक्न सफल भइन् ।

१५ वर्षीया नुरसना खातुन मामाघरमा बस्छिन् । घर भने भारत हो । रौतहटको परोहा नगरपालिका ७ नरकटियामा मामाघरमै जन्मेकी उनलाई सानै हुँदा गाउँकै केटासँग बिहे गरिदिने परिवारले बाचा गरिसकेका रहेछन् ।  

मामाघर नजिकै रहेको अर्को घरमा नुरसनाको बिहे गर्ने हजुरआमाले बचन दिएकी थिइन् । केटाकी आमाले छोरा ठूलो भइसकेको भन्दै छिटो बिहे गर्न दबाब दिन्छिन् । काम गर्दा, विद्यालय जाँदा केटाको परिवारसँग नुरसनाको भेट हुन्छ । भेट हुनेबित्तिकै उनीहरुले बुहारी छिटो घर आउनुपर्‍यो भनेर जिस्क्याउँछन् ।

एक पटक बिहे रोकिसकेकी नुरसनालाई अझै बिहेको कुरा गर्न परिवारले छोडेको छैन । नुरसनालाई पढेर ठुलो मान्छे बन्नु छ । डाक्टर बनेर गरीबहरुको सेवा गर्ने धोको छ । 

अहिले उनी नरकटियाको मरदरसा जामिया सल्फियमा कक्षा ५ मा पढ्छिन् । मदरसामा कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ । ६ कक्षा पढ्न अर्को गाउँमा रहेको विद्यालयमा जानुपर्छ । तर हजुरआमा भने योभन्दा धेरै पढाउने पक्षमा हुनुहुन्न ।

नुरसना मदरसामा जेहेन्दार र इमान्दार विद्यार्थीमध्ये पर्छिन् ।  कक्षामा सबैभन्दा राम्रो नम्बर ल्याएर पास भैरहेकी छिन् । मदरसाका शिक्षकहरुले धेरै पढ्नुपर्छ, तिम्रो पढाइ राम्रो छ भन्दा उनलाई अझै धेरै पढ्न मन लाग्छ ।

तर घरमा पढाइभन्दा घरको काम सिक्न दबाब छ । बिहे गरिसकेपछि शिक्षा भन्दा काम चाहिने भन्दै काम सिक्न सबैभन्दा बढी हजुरआमाले कर गर्नुहुन्छ । 
उनले भनिन्, ‘मेरो पढ्ने रहर छ, तर परिवारले अब नपढाउने भन्छन्, डाक्टर बन्ने मेरो लक्ष्य त्यस्तै रहने भयो ।’

नुरसनाको जस्तै व्यथा छ १८ वर्षीया दुर्गा शर्माको पनि । नुरसनाको गाउँसँगै जोडिएको रौतहटको ईशनाथ नगरपालिका ४ मठियाकी दुर्गाले पनि आफ्नो बिहे आफैं रोकेकी छन् । त्यो पनि दुई पटक । २०७५ साउन ४ गते र दोस्रो २०७६ असार १३ गते तय भएको आफ्नै बिहे रोक्न उनी सफल भएकी हुन् ।

हुर्केेकी छोरीलाई घर राख्न हुँदैन भन्दै उनलाई परिवारले १५ वर्षकै उमेरमा बिहे गराइदिन खोजेका थिए । तर, दुर्गालाई सानै उमेरमा बिहे गर्न मन थिएन । 

कक्षा ६ मा पढ्दै गर्दा परिवारले विद्यालय छुटाइदिए । विद्यालय जान नदिएपछि दुर्गा घरको काम गर्न थालिन् । साँझ बिहान खाना पकाउने, बारीको काम गर्नु उनकोे दैनिकी बन्यो । 

आफ्नो बिहे रोक्न दुर्गालाई पनि नुरसनाको जस्तै परिवारभित्र संघर्ष गर्नुपर्‍यो । 

बिहे रोकिसकेपछि भने दुर्गाका आमाबुवा खुसी छन् । दुर्गालाई अहिले नुरसनाको जस्तो बिहे गर्न दबाब छैन । अहिले उनी फेरि विद्यालय जान थालेकी छन् । दुर्गा गाउँमै रहेको जनता माविमा कक्षा कक्षा ८ मा पढ्छिन् । 

बालविवाह रोक्न संघर्ष

नुरसना र दुर्गाको गाउँमा महिला हिंसा र बालविवाह अन्त्यको लागि अभियान चलिरहेको छ । सामुदायिक छलफल केन्द्रमार्फत हुने यो अभियानमा उनीहरु पनि सहभागी भए । २०७३ सालको चैतदेखि अभियानमा सहभागी भएपछि उनीहरुले बालविवाह, यसको असर र कानुनी प्रावधानबारे थाहा पाए । 

त्यसपछि उनीहरुले घरमा आफूहरुको विवाह गरिदिन लागेकोबारे छलफलमा सहभागीहरुलाई बताए । छलफल केन्द्रका किशोरी, सहजकर्ता उनीहरुकै घरमा पुगेर परिवारलाई सम्झाए ।

सुरुमा सम्झाउन खोज्दा परिवारका मान्छे निकै रिसाए । उनीहरुले वडाध्यक्ष, प्रहरीलाई खबर गरे । किशोरी, प्रहरी र वडाध्यक्षले घरमा गएर सम्झाउँदा अन्ततः अभिभावकहरु कुरा सुन्न तयार भए । 

आफ्नो विवाह रोक्न सफल नुरसना र दुर्गा अहिले आफूजस्तै अरु किशोरीलाई सानैमा बिहे गर्न हुँदैन भन्दै सचेतना जगाउने काम गर्छन् । उनीहरुका अभिभावकहरुलाई पनि आफ्ना छोराछोरीलाई सानैमा बिहे गराउन हुँदैन, पढाउनुपर्छ भन्दै सम्झाउने गर्छन् ।

बल्ल बुझे अभिभावकले

नुरसना र दुर्गाले आफ्नो बिहे रोकेर अरुलाई सम्झाउँन जाँदा अभिभावक खुसी भएका छन् । पहिले बिहे नगर्दा रिसाएका गाउँलेहरु पनि अहिले उनीहरुको उदाहरण दिंदै कुरा प्रशंसा गर्ने गर्छन् ।

मठियाका नाजुक बेगम भन्नुहुन्छ, ‘नुरसना र दुर्गाले गरिरहेको काम प्रशंसनीय छ । उनीहरुको आँटले अरु किशोरीहरुको आत्मबल बढेको छ ।’ उहाँले अझै पनि सानै उमेरमा छोराछोरीकाे बिहे गराइदिने चलन रहेको भन्दै यसका लागि किशोर किशोरीले नै आवाज उठाउनुपर्ने बताउनुभयो ।

अहिले दुर्गाका आमाबुवा पनि दुर्गाले बिहे रोकेकोमा खुसी छन् । ‘१२, १३ वर्षमै छोरीको बिहे गराउँदै आएका हामीलाई के राम्रो के नराम्रो थाहा थिएन । हामीलाई त जवान भइसकेकी छोरीलाई किन घरमा राख्नु भन्ने सोच्थ्यौँ तर, यो राम्रो हैन रहेछ भन्ने बुझ्यौं’ दुर्गाकी आमा अनितादेवीले भन्नुभयो ।’

नुरसनाका मामा शेख हजरत अली पनि भाञ्जीले गरेको काममा खुसी हुनुहन्छ । बालविवाह गर्दा के समस्या हुन्छ भन्ने थाहा नहुँदा बिहे गरिदिन लागको भन्दै उहाँले अब नुरसनाको बिहे २० वर्षपछि मात्र गराइदिने बताउनुभयो । 

१ सय ८७ बालविवाह

रौतहटको इशनाथ र परौहा नगरपालिकामा १ सय ८७ वटा बालविवाह रोकिएका छन् । तीन वर्षको अवधिमा किशोरी र बाल क्लव तथा धार्मिक गुरु लगायतको सक्रियतामा बालविवाह रोकिएको हो ।

परिवारकै सहमतिमा बालविवाह गराइदिने चलन भएकाले अभिभावकरुलाई चेतना जगाउन आवश्यक रहेको अभियानकर्मीहरु बताउँछन् ।

उजुरी पर्दैनन् : डीएसपी कार्की

दिनहुँजसो बालविवाह हुने रौतहटमा उजुरी भने आउने नगरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्की बताउनुहुन्छ ।

पछिल्लो समय काम गरिरहेका केही संस्थाहरुको पहलमा मौखिक उजुरी आए पनि अरु उजुरी नआउने उहाँको भनाई छ ।

बालविवाह रोक्न प्रहरीको टोली स्कुल - स्कुल र घरदैलोमै पुगेर जनचेतना जगाउन थालेको छ ।

अन्तिम अपडेट: जेठ ११, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया