बैतडीमा रगतको अभाव हुन नदिन विद्यार्थीहरुको रक्त समूह पहिचान गरिँदै

 पुस २२, २०७६ मंगलबार १३:३१:२२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - दशरथचन्द नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा कक्षा १० देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न थालिएको छ ।

जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतको अभाव हुने भएकाले आवश्यक परेका बेला रगत सहज उपलब्धताका लागि रक्त समूह पहिचान गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । 

जिल्लामा रक्त सञ्चार केन्द्रको व्यवस्था नभएकाले विद्यार्थीहरुको रक्त समूह पहिचान गरी आवश्यक परेको बेला रगतको जोहो गर्न सजिलो होस् भनेर यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । जिल्ला अस्पातलमा समेत अप्रेशन गरेर बच्चा जन्माउने सेवा रहेकाले त्यो बेला रगतको समस्या हटाउन यो अभियान सुरु गरिएको हाे ।

विद्यालयमै गएर विद्यार्थीहरुको रक्त समूह परीक्षण गरी त्यसको तथ्यांक जिल्ला अस्पताल, रेडक्रस र जिल्ला समन्वय समितिमा राखिने जिल्ला अस्पतालका ल्याब असिष्टेन्ट चन्द्र डोबालले बताउनुभयो । सदरमुकाम क्षेत्रका कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा रक्त समूह पहिचान कार्यक्रम जारी रहेको र अहिलेसम्म ३ विद्यालयमा सो कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दशरथचन्द मावि, सुन्दरखालीमा ९३, जगदम्बा मावि रानीबुंगामा ६५ जना र दानेश्वर नागार्जुन मावि रातामाटामा ८७ जना विद्यार्थी रक्त समूह पहिचान गरिएको ल्याब असिष्टेन्ट डोबालले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीहरुको रक्त समूह पहिचानले जिल्ला अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई सजिलो हुने अस्पतालका निमित्त प्रमुख डा. बसन्तराज जोशीले बताउनुभयो । रक्त समूह पहिचानले रगतदान गर्ने बानीको समेत विकास हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया