सपनाको खलबलिएको 'सपना' : गीत गाउने रहरले रेस्टुरेन्टमा दुर्व्यवहारकाे शिकार

 पुस २४, २०७६ बिहिबार १४:२३:५९ | इन्द्रसरा खड्का
unn.prixa.net

सङ्गीत सिकेर ठूलो कलाकार बन्नु थियो । गाउँमा सङ्गीत सिक्ने अवसर थिएन । राम्रो कलाकार बन्न गलाले मात्रैले पुग्दैन, गलालाई प्रस्तुत गर्ने कला पनि चाहिन्छ ।

कला कसरी बनाउने ? राम्रो कलाकार कसरी बन्ने ? यही हुटहुटीले सपना (नाम परिवर्तन) लाई रोल्पाबाट काठमाण्डौसम्म पुर्‍यायो । 

विद्यालयमा हुने साँस्कृतिक कार्यक्रममा होस् वा स्थानीयस्तरमा हुने मेला महोत्सव, सपना गीत गाइहाल्थिन् । राष्ट्रिय कलाकारसँग दोहोरी गाउँथिन् । उनको कला देख्दा सबैले भन्थे– ‘बहिनी किन गीत गाउँदिनौ ? यति राम्रो गला, कला छ । तपाईँकाे भविष्य छ है यसमा ।’

यस्तो सुन्दा सपना झनै खुशी हुन्थिन् । पहाडको उकाली, ओरालीसँगै गीत गाउँदै हुर्केकी सपनालाई गीत गाउने सानैदेखिको रुचि थियो । उनी लोकदोहोरी जस्तै देउडा गीत पनि उसैगरी गाउँछिन् । 

सबैले राम्रो कलाकार बन्न सक्छौ त भन्छन्, तर कसरी ? यसको लागि के गर्ने ? उनले चिनेको सबैलाई सोध्थिन् । गाउँमा सबैले भन्थे– यसको लागि त शहर जानुपर्छ ।

यही सपनाले डेढ वर्षअघि काठमाण्डौ पसेकी सपना अहिले रेस्टुरेन्टमा काम गर्छिन् । रेस्टुरेन्टमा ग्राहकले गर्ने व्यवहार, साहुको कचकच, समयमै तलब नपाउने पीडा उत्तिकै छ । 

सपनाको काठमाण्डौ यात्रा

सपना सानैदेखि गीत सुन्थिन् । रेडियोमा बजेका गीत सुनेर उनलाई पनि गीत गाउन मन लाग्थ्यो । त्यसै गरीगरी उनले गीत गाउन थालिन् । कक्षा ९ मा पढ्दै गर्दा उनलाई काठमाण्डौ आउन मन लागिसकेको थियो । एसईई दिएर काठमाण्डौ आउने योजना बनाइन् तर सोचे जस्तो सहज थिएन शहर पस्न । 

दिनभर काम गरी साँझ, बिहान छाक टार्न धौधौ पर्ने सपनाका आमाबुवाले पैसा दिएर शहर पठाउने हैसियत थिएन । पारिवारिक अवस्था सपनालाई पनि थाहा थियो । तर सपनाले शहरको सपना देख्न भने छोडिनन् । उनलाई काठमाण्डौ आएर सङ्गीत सिकेर राम्रो कलाकार बन्नु थियो ।

एसईई दिएर काठमाण्डौ पस्ने सपनाको इच्छा त्यत्तिकै सेलायो । उनले गाउँमै रहेको विद्यालयमा उच्च शिक्षा पढिन् । गीत गाउन भने छोडिनन् । सपनाले गाउँमै हुँदा स्थानीय कलाकारसँगै लोकदोहोरी गीत रेकर्ड गराइसकेकी थिइन् ।

सपनालाई अझै स्वर, ताल मिलाउन सिक्नु थियो । कक्षा १२ पढेपछि सपनालाई आफै काम गरेर भए पनि सङ्गीत सिक्ने आँट आयो । 

सपनासँगै पढ्ने गाउँकै साथी काठमाण्डौमा पढ्दै काम गर्थिन् । उनीले साथीसँग आफू पनि काठमाण्डौ आउने कुरा गरिन् । साथीले हुन्छ भनेपछि सपनाले आमाबुवासँग शहर जाने कुरा गरिन् ।

२०७५ साल जेठ १८ गते सपना काठमाण्डौ आइन् । सामाखुशीमा साथीसँगै बस्न थालिन् । गाउँबाट सपनाको पोको बोकेर आएकी सपनालाई  सोचे जस्तो सहज भएन ।

सपनाले आफ्नै भाषामा भनिन्, ‘गाउँका भन्दा शहर निको होला, भन्याकाइ जसो होला सुच्याकी छिया तसो नहुन्या रैछ, अहिल त दिनका १० चुटी सम्जदो छु । (गाउँभन्दा शहरमा राम्रो होला भन्ने सोचेको थिएँ । तर शहरमा यस्तो नहुँदो रहेछ, अहिले म दिनहुँजसो गाउँले जीवन सम्झन्छु ।)’

काठमाण्डौको असहज बसाइ

जेठ १८ गते सपना काठमाण्डौ आइपुगिन् ।  पहिलो, दोस्रो दिन लामो यात्रा आराम गर्दै बित्यो । तेस्रो दिनदेखि उनले सङ्गीत सिक्ने ठाउँ खोज्न थालिन् ।बसुन्धारामा रहेको झरना सङ्गीत कला केन्द्र पुगिन् । 

सङगीत सिक्नको लागि 'दिनको एक घण्टाको दरले मासिक सात हजार रुपैयाँ लाग्छ' भनेपछि सपना झस्किइन् । किनकि उनीसँग त्यति धेरै पैसा थिएन । केही दिन सङ्गीत सिकेपछि उनी कामको खोजीमा लागिन् । 

बल्लबल्ल एउटा फाइनान्समा काम मिल्यो । तर काम गाह्रो । ठाउँ चिन्न नसक्दा समस्या भयो । त्यसपछि उनले त्यो काम पनि छाडिन् । सपनासँगै बस्ने साथी रेस्टुरेन्टमा काम गर्थिन् । उनै साथीले सपनालाई माछापोखरीमा रहेको एक रोधी घरमा काम मिलाइदिइन् । 

काम थियो वेटरको । तर होटेलको सरसफाइदेखि भाँडा माझेर ग्राहकलाई समय दिन पर्थ्याे । बेलुकी ५ बजेदेखि १२ बजेसम्म काम गर्नुपर्दा सपनालाई थकाइ लाग्थ्यो ।

भनेअनुसार काम नगर्दा साहुले जागिरबाट निकाल्ने धम्की दिन्थे । काम गरेको तीन महिना पुग्दा पनि सपनाले तलब पाइनन् । तलब नपाएपछि उनले त्यो काम पनि छोडिन् । 

त्यसपछि उनी ‘पानको पात’ नाम गरेको अर्को रोधी घरमा काम खोज्दै पुगिन् । त्यहाँ ६ हजार तलब दिने कुरा भयो । त्यहाँ पनि काम उस्तै थियो । साहुको व्यवहार पनि उस्तै । ६ महिना काम गरेर सपनाले त्यहाँ पनि छोडिन् । त्यसपछि ‘फेसबुक’ नामको अर्को रोधी घरमा पुगिन् । त्यहाँ मासिक ८ हजार दिने कुरा भयो । त्यहाँ पनि व्यवहार उस्तै थियो । 

त्यसपछि ‘ढुकढुकी’ नामको अर्को रोधी घरमा पुगिन् । त्यहाँ उनलाई महिनाको १२ हजार तलब मिल्यो । त्यसपछि त्यहाँ पनि छोडेर उनी अहिले अर्कै रोधी घरमा काम गर्छिन् ।

गीतभन्दा ग्राहकलाई खुशी पार्नु पर्ने काम

लोकदोहोरीमा गाउन सक्ने भए पनि सपनालाई गीतभन्दा ग्राहकसँग बढी बस्नु पर्थ्याे । सकेजति उनीहरुलाई खुशी पार्नु पर्थ्याे ।  

‘चिसोको दिनमा समेत शरीर ढाक्ने लुगा लगाउन मिल्दैन, मेकअप राम्रोसँग नगरेको भए उतिखेरै बाहिर निकाल्छन् । साहुकै लागि भए पनि ज्याकेट निकालेर राख्नुपर्छ’ सपनाले बाध्यता सुनाइन् ।

चार वटाभन्दा बढी रेस्टुरेन्टमा काम गरेकी सपनाले नियुक्ति पत्र पाएकी छैनन् । सरकारले श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० तोकेको भए पनि अरु धेरैले जस्तै उनले पनि कम तलबमा चित्त बुझाउनु परेको छ ।

त्यो घटना

सपनाले फेसबुक रोधी घरमा काम गर्दा पोखरा घर भएका एक जना ग्राहक आए । उसले सपनासँगै बसेर रक्सी खाने बतायो । सपनालाई मन थिएन । तर साहुले भनेपछि बाध्यताले उसँगै बसेर रक्सी खानु पर्‍यो । 

उसले आफूलेभन्दा बढी सपनालाई रक्सी खुवायो । ‘रक्सीमा के मिसाएको थियो थाहै भएन, एक गिलास खानेबित्तिकै बेहोस भएँ । त्यसपछि के भयो थाहै भएन’ सपनाले भनिन् ।

सपनाको होश आउँदा रातको १२ बज्नै लागेको थियो । केटा निस्किसकेको थियो । उनी बेहोस भएको बेला त्यो केटाले सेल्फी खिचेर सपनाको फेसबुकका साथीहरुलाई पठाइ सकेको रहेछ । 

सपना कोठा पुगिसकेपछि साथीहरुले पठाएको म्यासेज हेर्दा थाहा भयो, उनको अश्लिल फोटो भाइरल भएको रहेछ । यो फोटो सपनाका गाउँले, साथीभाइ सबैले देखे । त्यसपछि सपनालाई हेर्ने सबैको नजर फेरियो । 

‘रेस्टुरेन्टमा काम गर्दै आफन्तहरुको नजरमा गिरेकी म त्यसपछि कसरी बाँच्न सकेँ होला, आफैँ कल्पना गर्नुहोस्’ यति भन्दा सपनाका आँखामा आँसु भरिए ।
यो घटनाले सपना आत्महत्या गर्ने योजनामा पुगिन् । 

‘कति दिन मर्न तयार भएँ तर मर्न सकिनँ । अहिलेसम्म पनि मानसिक तनावमा छु’ सपनाले भनिन्, ‘तर अब सम्हालिँदै आफूजस्तै शोषणमा परेका महिलाको लागि काम गर्न थालेको छु ।’

श्रमिकको लागि लड्दै

मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरीसँग नियुक्ति पत्र हुँदैन । नियुक्ति पत्र नहुँदा तलब नदिए उजुरी गर्ने प्रमाण हुँदैन । कतिपय किशोरीहरु अहिले पनि बिना पारिश्रमिक ‘टिप्स’का आधारमा काम गरिरहेको पाइन्छ । सपना अहिले आफूजस्तै समस्यामा परेका महिलाहरुको आवाज उठाउँछिन् । 

मनोरञ्जन क्षेत्रका रुपमा सञ्चालन भइरहेका क्याफे, बार, रेस्टुरेन्ट, रोधी घरहरुमा काम गर्ने किशोरीसँग भेटघाट गरेर उनीहरुले पाउने तलब, विभेद र दुर्व्यवहार कस्तो छ भन्नेबारे जानकारी राख्छिन् । 

एकातिर आफै रेस्टुरेन्टमा काम गर्नु, अर्कोतर्फ उसैविरुद्ध आवाज उठाउन उनलाई निकै गाह्रो छ । तर समस्या परेका महिलाको उनी अभिभावक बनेकी छिन् । 

अन्तिम अपडेट: जेठ १२, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया