अन्नपूर्ण आधार शिविरमा हराएका ३ नेपालीसहित ४ काेरियाली पर्यटककाे उद्धारमा समस्या

 माघ ५, २०७६ आइतबार ८:२८:५८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिमपहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् ।

त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान) पोखराका सचिव जीवनराम सापकोटाले बताउनु भयाे ।

कोरियाली पर्यटकहरु काठमाण्डाैकाे 'ट्रिप नेपाल माउन्टेन गाइड' नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस क्याम्पतर्फ गएका थिए ।

बाक्लो हिउँको कारण उद्धारमा समस्या भएको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनु भयो । पोखराबाट प्रहरी, गाइडहरु पुगे पनि पाँचदेखि सात फिटसम्म हिउँ जमेको कारण उद्धारमा समस्या भएको हो । 

अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे आधार शिविरमा रोकिएकाहरुलाई अन्नपूर्ण गाँउपालिका ११ काे छोम्रोङ्गमा झारिएको अध्यक्ष भुजेलले बताउनु भयाे । ‘एबीसीबाट ४० भन्दा बढी, एमबीसीबाट ३५/४० जना र देउरालीबाट २५/३० जनाको हाराहारीमा पर्यटक छोम्रोङ्गमा झरिसकेका छन्’, उहाँले भन्नु भयो । 

छोम्रोङ्गमा झरेकाहरु केहीलाई हेलिकाेप्टरबाट शनिबार नै पोखरा ल्याइएको भुजेलले बताउनु भयो । ‘केही भने जीपबाट पोखरा आएका छन्’, उहाँले भन्नु भयो । अझै केही दिन शिविरमै राख्दा समस्या होला भनेर छोम्रोङ्गमा झारिएको उहाँको भनाइ छ । एक्यापले पहिरो गएपछि देउरालीभन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ ।

शनिबार पोखरामा नेपालसहित सात देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टरमार्फत ल्याइएको छ भने अन्य झण्डै डेढ सयलाई हेलिकोप्टरमार्फत नजिकैको सुरक्षित ठाउँमा अवतरण गराइएको जनाइएको छ ।

कोरियाली २७, चिनियाँ १६, नेपालका १०, डेनमार्कका २, सिङ्गापुरका ५, अस्ट्रेलियाका १, भारतका २ र ट्युनेसियाका १ जनालाई विभिन्न हेलिकोप्टरमार्फत पोखरा ल्याइएको टानले जनाएको छ । 

तस्बिर : सुमन गुरुङ

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया